यौन चाहना हुनु र यसकै लत बस्नु दुई फरक कुरा हुन् । यौन सम्पर्क राख्ने बानी हुनु उच्च कामवासनाको संकेत हुनसक्छ । जसमा चाहेको बेलामा शारीरिक सम्पर्क नभए पनि त्यो चाहनालाई नियन्त्रण गर्न सकिन्छ । आफूमाथि सो चाहना हाबी हुँदैन ।
तर यौनको लत नै छ भने त्यसले कुनै पनि दृष्टिकोणले फाइदा गर्दैन । यो लतले यौन जीवन खराब पार्ने मात्र होइन, नकारात्मक रुपले प्रभावित पनि पार्न सक्छ । लतले यतिसम्म गराउन सक्छ कि भनेको समयमा यौन सम्बन्ध राख्न नपाए व्यक्तिले स्वनियन्त्रण गुमाउन सक्छ ।
यौन लत कसरी हुन्छ ?
यौन लतलाई विज्ञहरुले हाइपर सेक्सुयालिटीको नाम दिएका छन् । पछिल्लो समय यसलाई हाइपर सेक्सुयालिटी डिसअर्डर, सेक्सुअल बिहेबियर डिसअर्डर र यौन लत पनि भन्ने गरिन्छ ।
यो एक अवस्था हो जसले व्यक्तिलाई यौन विचार र व्यवहारले अत्यधिक व्यस्त बनाउँछ । कहिले त यति व्यस्त हुन सक्छन् कि यो अवस्थाले उनीहरूको दैनिक कार्यलाई पनि असर गर्न सक्छ । उनीहरुमा बिस्तारै कुनै पनि नकारात्मक परिणामको वास्ता नगरी यौन क्रियाकलापमा संलग्न हुनेसम्मका हुन्छन् ।
यसो भनिरहँदा उच्च कामवासनालाई यौन लतसँग दाँज्न मिल्दैन । किनकि व्यक्तिमा केही क्षणका लागि उच्च कामवासना दिमागमा रहे पनि कुनै परिस्थितिले नमिल्दा त्यसलाई सहज रुपमा लिन सक्छन् । जहाँसम्म यौन लतको कुरा छ, कतिपय अवस्थामा त व्यक्तिको दैनिक जीवनमा बाधा पुर्याउँछ । जसले व्यक्तिगत सम्बन्धलाई असर गर्छ ।
यस अवस्थाबाट पीडित व्यक्तिले आफ्नो यौन इच्छा पूरा गर्न धेरै समय र स्रोत खर्चिन सक्छन् । वास्तवमा यौन एक यस्तो विषय हो, जसमा हामी सार्वजनिक रुपमा खुलेर बोल्न हिच्किचाउँछौं । यसरी हिच्किचाउँदा आज विश्वमा धुम्रपान, मदिरा र जुवा जस्तै यौनको लतले पनि गम्भीर रुप लिन सक्छ ।
विश्व स्वास्थ्य संगठनले यस समस्यालाई मनोरोगमा राखेको छ । बलात्कार, यौन शोषणको बढ्दो केस र कम उमेरका बालबालिका पनि यसको सिकार हुनु ठूलो चिन्ताको विषय हो । यौन लतले दिमागको सोच्ने क्षमतालाई नराम्रोसँग प्रभावित गर्छ । जसले सही र गलत छुट्याउन नसक्ने मनोसमस्या हो । जसको उपचार जरुरी छ ।
यो कति साझा समस्या ?
यो समस्या कतिको साझा छ भनेर भन्न मुस्किल छ । एकातर्फ यस्ता व्यक्ति गुपचुप रहने, अर्कोतर्फ समुदायमा यस्ता व्यक्ति कति छन् भनेर यससम्बन्धी व्यापक अध्ययन भएका छैनन् । यद्यपि, तुलनात्मक रुपमा पुरुषमा यो समस्या बढी देखिन्छ ।
यौन लत हुने कारण
यौनको लत हुनुमा कुनै एक मुख्य कारण छैन, न त कुनै ठूलो अनुसन्धान नै भएको छ । केही मनोवैज्ञानिक समस्या यौन लतका लागि जिम्मेवार मानिन्छ ।
– मस्तिष्कमा केही रसायन जस्तै सेरोटोनिन, नोरएपिनेफ्रिन र डोपामिनले मुडलाई नियन्त्रित रहन्छ । त्यसको मात्रा उच्च वा अति न्यून भएमा स्वनियन्त्रण गर्न सक्दैन ।
– मस्तिष्कको अगाडिका भागमा गडबडीका कारण आफूलाई नियन्त्रण गर्न नसक्ने ।
– आफ्नो ऊर्जालाई सिर्जनशील कुरामा लैजान नसक्नु ।
– सामाजिक रुपमा एक्लोपन महसुस हुनु ।
यौन लत लागेकाहरूमा केही असामान्य व्यवहारहरू देखिन्छन् ।
– यौनजन्य भिडियो हेरेर वा हस्तमैथुन गरेर बढीजसो समय बिताउनु ।
– एकोहरो भएर बसिरहनु ।
– यौनका लागि आफ्नो साथीलाई धोका दिनु ।
– यौनका लागि जे गर्न पनि तयार हुनु ।
– दुईभन्दा बढी यौन साथी बनाउनु ।
– यौनकर्मीकहाँ गइरहनु ।
– साइबर यौन क्रियामा लिप्त हुनु ।
उपचार
यौन लतको उपचारका लागि परामर्श, केही औषधिको प्रयोग र संज्ञात्मक व्यवहार थेरापी जस्ता चिकित्सा उपचारले निको पार्न सकिन्छ ।
उपचार मात्र होइन, जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक
– ध्यान जस्ता गतिविधिले आफ्नो आवेग नियन्त्रण गर्न मद्दत गर्छ । शारीरिक गतिविधि तनाव कम गर्ने एक राम्रो तरिका हो ।
– विश्वसनीय साथी र परिवारका सदस्यसँग आफ्नो समस्या पोख्ने गर्दा पनि मन हल्का हुन्छ । उनीहरुले समस्याको समाधान बताउन सक्छन् ।
– आफ्नो लागि समयतालिका बनाउने, जसमा थेरापी, व्यायाम र अन्य स्वस्थ गतिविधिका लागि समय छुट्याउने गर्न सकिन्छ ।
– आफूलाई व्यस्त राख्न प्रयास गर्ने ।
– यौनजन्य विषयवस्तु समेटिएका भिडियो नहेर्ने ।
प्रतिक्रिया 4