स्वास्थ्य समस्या कुनै पनि उमेरमा जुनसुकै बेला हुनसक्छ । चाहे त्यो सामान्य होस् वा जटिल । तर जति पनि समस्या आउँछ, त्यसले साँझ र रातमा बढी पिरोल्छ ।
रातमै बढी पिरोलेको जस्तो लाग्ने यो भ्रम मात्र हो कि, वास्तवमै यस्तो हुन्छ ?
आफ्नो स्वास्थ्य दिनमा भन्दा रातमा बढी बिग्रिएको अनुभव गर्नु भ्रम होइन । वास्तवमै यस्तो समस्या हुन्छ । वास्तवमा शरीरको जैविक घडीले धेरै प्रक्रियालाई नियमन गर्छ । अर्थात् रातमा नै हर्मोन रिलिज हुने तापमान नियन्त्रण र प्रतिरक्षा प्रतिक्रिया बढी हुने संयन्त्रले काम गर्छ ।
यी सबैको तालमेल बिग्रिंदा राति स्वास्थ्य बिग्रिन सक्छ । प्रायजसो ज्वरो, दम र ग्यास्ट्रिकको समस्या भएमा बढी रातमा च्याप्छ ।
रातमा शरीरलाई आराम चाहिन्छ । त्यसैले रातमा आराम गरिरहेको बेला पाचन र रक्तसञ्चार जस्ता शरीरका केही कार्य सुस्त हुन्छन् । जसकारण श्वासप्रश्वासमा समस्या र जोर्नीमा समस्या भए बढी रातमा दुखाइको अनुभव हुनसक्छ ।
शरीरमा कोर्टिसोल स्तरमा परिवर्तन हुने हुँदा कतिपयलाई राति दमको समस्या पनि बढ्छ । यसबाहेक राति सुत्दा एसिड रिफ्लक्स र नाकसम्बन्धी समस्या बढ्छ । किनभने सुत्दा गुरुत्वाकर्षणले प्रवाहले म्युकस (खकार, र्याल र पेटको एसिड घाँटीसम्म आउनसक्छ ।
प्रतिरक्षा प्रणाली पनि राति सक्रिय हुन्छ । जसले केही प्रोटिनको उत्पादनमा वृद्धि हुन्छ । यसले शरीरको संक्रमणसँग लड्ने क्षमता बढाउँछ । तर कहिलेकाहीं यही प्रक्रियाले शरीरको अंग सुन्निने र ज्वरो आउने हुनसक्छ ।
राति सुत्ने समयमा शरीरको मेटाबोलिजम सुस्त हुन्छ । जसले गर्दा शरीरको प्रतिरक्षा प्रणाली सुस्त हुन्छ । जसकारण रगतको प्रवाह बढाएर स्वास्थ्य समस्या भएको ठाउँमा बढी मस्तिष्कको ध्यान केन्द्रित हुन्छन् । सुत्ने बेला शरीरको तापक्रम सामान्यतया बढ्छ । जसले ज्वरो, रुघाखोकी र दमलाई थप गम्भीर बनाउँछ ।
खोकी, दमजस्ता समस्या राति बढ्नुको अर्को कारण हो, घाँटीमा थुक वा र्याल जम्मा हुनु । जसले स्वासप्रश्वासमा अवरोध ल्याउँछ । राति कोर्टिसोल हर्मोनको स्तर घट्छ । जसले गर्दा शरीरका अंगहरु सुन्निने र दुखाइ बढ्न सक्छ । अर्को भनेको दिनभर अरु काममा व्यस्त हुने तर राति एक्लो हुँदा मन स्थिर रहने हुँदा बढी ध्यान लक्षणमा केन्द्रित हुन थालेपछि बढी दुखाइ महसुस हुन्छ ।
समस्या भएमा कसरी चनाखो रहने ?
– निद्राको समयमा आरामदायक वातावरण बनाउनुपर्छ ।
– दम भएमा झ्याल खोलेर हावाको गतिलाई पास हुन दिनुपर्छ ।
– चिकित्सकको सल्लाहअनुसार औषधि लिनुपर्छ ।
– राति समस्या चर्किएमा विशेष ध्यान दिनुपर्छ ।
– ज्वरो, रुघाखोकी भएमा चिल्लो, पिरो खानेकुरा नखाने, यसले राति थप समस्या ल्याउँछ ।
– सुत्नुभन्दा एक घण्टा अघि हल्का खानेकुरा मात्र खानुपर्छ ।
– ग्यास्ट्रिक भएमा खाने बित्तिकै ओछयानमा नपल्टिने, सिरानी अग्लो बनाएर सुत्ने, क्याफिनयुक्त खानेकुरा तथा मदिरा सेवन गर्नुहुँदैन ।
– रातको समयमा मात्र बढी स्वास्थ्य समस्याले च्याप्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4