काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको आठ महिनापछि पुनः सञ्चालनमा आएको छ । पुराना कर्मचारीको बाँकी पारिश्रमिक किस्ताबन्दीमा दिने सर्तसहित अस्पतालको सेवा सञ्चालनमा आएको हो ।
अस्पतालमा लामो समयदेखि काम गरेका एक वरिष्ठ चिकित्सकका अनुसार अस्पताल व्यवस्थापकले तीन महिनाभित्र २५ प्रतिशत र आठ महिनाभित्र सबै रकम भुक्तानी गर्ने सम्झौता भएको छ ।
अस्पताल व्यवस्थापकले पारिश्रमिक नदिएपछि कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले संघर्ष समिति नै बनाएका थिए । समितिले सात दिनभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्न र आफूहरुको तलबबाट काटिएको (टीडीएस) जम्मा गर्न अस्पताल प्रशासनलाई १७ माघ २०८० मा लिखित रुपमा आग्रह गरेको थियो ।
तर अस्पतताल प्रशासनले समस्याको समाधान नगरेपछि कर्मचारीले संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, ललिपुरमा उजुरी दर्ता गरेको थियो । प्रशासनले उजुरी उपर आवश्यक कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर, श्रम तथा रोजगार कार्यालय टेकुलाई पत्रचार गरेपनि समस्या समाधान भएन । त्यसपछि उनीहरुले काम नै रोकेसँगै आठ महिनादेखि अस्पतालको सेवा पूर्ण रुपमा ठप्प भएको थियो ।
त्यसपछि कर्मचारीले अस्पताल बिक्री वितरणमा रोक लगाएका थिए । श्रम तथा रोजगार कार्यालयमा अस्पताल व्यवस्थापक र कर्मचारीबीच भएको छलफलपछि अस्पतालको सेवा सञ्चालनमा आएको हो ।
‘अस्पताल बिक्री वितरणमा रोक लागेपछि अन्तिममा छलफलको वातावरण तयार भयो । बिक्री गर्न रोक नलगाएको भए अस्पताल व्यवस्थापक अर्को लगानीकर्ता भित्र्याएर भागिसक्थे,’ ती चिकित्सकले भने ।
उच्च स्रोतका अनुसार पुराना कर्मचारीको पारिश्रमिक करिब पाँच करोड रुपैयाँ दिन बाँकी छ । हाल ओपीडी सेवा मात्रै सञ्चालमा आएको छ भने अन्य इन्डोर, अप्रेसन सेवा भने ठप्प नै छ । अस्पताल प्रशासनले बिस्तारै नयाँ टिमको बिस्तार गर्न थालेको छ ।
‘अहिले एक–दुई जना चिकित्सकलाई राखेर ओपीडी सेवा सुरू गरिएको छ,’ अर्का एक चिकित्सकले भने ।
अहिले डा. ऋषिकेश नारायण श्रेष्ठले मेडिकल डाइरेक्टरको जिम्मेवारी समालेका छन् । ‘अहिले पुरानै व्यवस्थापनले अस्पताल सञ्चालन गरेको छ । तर लगानीकर्ता श्याम महर्जनले अहिले बोर्डमा आएका छन्,’ उच्च स्रोतले भन्यो, ‘महर्जनको जोडबलमा अहिले अस्पतालको सेवा सञ्चालनमा आएको हो ।’
टकरावले बन्द हुने अवस्थामा पुग्यो
२०६९ सालमा डा. पुकारचन्द्र श्रेष्ठको अगुवाइमा निदान अस्पताल स्थापना भएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहेका कारण श्रेष्ठ सार्वजनिक रुपमा भने निदान अस्पताल सञ्चालकका रुपमा खुलेर आएनन् ।
व्यवस्थापनको जिम्मेवारी भतिज अभिषेक श्रेष्ठ (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा) लाई दिएका थिए । ५-५ लाख रुपैयाँ लगानी गरेर १५ जना चिकित्सकले लगानी हालेसँगै अस्पतालबाट सेवा सुरू भयो ।
वरिष्ठ चिकित्सक निदानमा जोडिएपछि केही वर्षमै राम्रो आम्दानी गर्न थाल्यो । त्यसपछि टकराव सुरू हुन थाल्यो । काका (पुकार) र भतिज (अभिषेक) बीच अस्पताल सञ्चालनको विषयलाई लिएर खटपट सुरू हुन थाल्यो । पुकार आफ्ना कारण अस्पताल चलेको दाबी गर्थे भने अभिषेक सबभन्दा ठूलो लगानीकर्ता थिए ।
काका-भतिजको टकराव कतिसम्म हुन थाल्यो भने उनीहरुले चिकित्सक र कर्मचारीलाई समेत आफ्नो र अर्को समूहमा राखेर व्यवहार गर्न थालेको एक वरिष्ठ चिकित्सक बताउँछन् । त्यसक्रममा डा. पुकारचन्द्रले भतिज अभिषेकलाई जिम्मेवारीबाट हटाएर वीपेन्द्र प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएका थिए ।
त्यही बेला अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले असोज २०७६ मा निदान अस्पतालका सीईओ वीपेन्द्रसहित ५ जनालाई पक्राउ गर्यो ।
नक्कली भान्जा खडा गरेर गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोप गरेको निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझायो, त्यसका आधारमा दायर मुद्दामा जिल्ला अदालत, ललितपुरले २७ कात्तिक २०७६ मा सबैलाई पुर्पक्षका लागि थुनामा पठायो ।
डा. पुकारचन्द्रविरुद्ध मुद्दा मामिला त भएन, तर यो प्रकरणले उनको छवि धुलिसात बनायो । अस्पतालको पनि बदनाम भयो । क्रमशः बिरामीको चाप घट्न थालेपछि अस्पताल पनि ओरालो लाग्न थाल्यो । मिर्गौला प्रकरणले निदानलाई ओरालो लगाउन ठूलो भूमिका खेलेको त्यहाँ काम गरेका वरिष्ठ चिकित्सक बताउँछन् । त्यसपछि कर्मचारीको पारिश्रमिक दिन समस्या हुन थाल्यो ।
त्यसपछि अस्पतालका सञ्चालक अभिषेकले २०७८ मा थप लगानी भित्र्याएर अस्पताललाई चलाउन खोजे । भेन्चर क्यापिटल ‘डोल्मा इम्प्याक्ट फन्ड’ ले २० करोड रुपैयाँसम्म अस्पतालमा संस्थागत लगानी गर्ने भयो ।
सञ्चालक अभिषेकले सबै चिकित्सकलाई राखेर अस्पतालको क्षमता विस्तार लगायतका योजना समेत सुनाएका थिए । सहमति अनुसार केही लगानी पनि आयो ।
सेवा विस्तारपछि अस्पताल फेरि लयमा आउन थाल्यो । अस्पतालको मुख्य भवन वरपर रहेको ४२ आना जग्गा पनि किन्यो । तर पारिश्रमिकको समस्या समाधान हुन सकेन ।
‘वर्षौंदेखि काम गरेका कर्मचारीको तलबलाई नदिई जग्गामा लगानी गरे । कर्मचारीलाई पैसा दिन्छु भनेर पटक-पटक झुक्याउने काम पनि भएपछि धेरै कर्मचारी आजित भएर छोडे’, ती चिकित्सक भन्छन् ।
तर धेरै रकम दिनुपर्ने चिकित्सकलाई अस्पताल सञ्चालकले पारिश्रमिक बराबर सेयर दिने भनेर थामथुम पार्ने प्रयास गरे । तर पारिश्रमिककै कारण एकपछि अर्का डाक्टर आउन छाडे । पछि सुरक्षाकर्मीलाई समेत पैसा दिन नसकेपछि अस्पताल बन्द भयो । त्यसको मुख्य कारण भने अस्पतालका लगानीकर्ताको टकराव भएको वरिष्ठ चिकित्सक बताउँछन् ।
अहिले अस्पताल प्रशासनले नयाँ लगनीकर्ताको खोजी गरिरहेको छ । ‘अस्पतालको ढोका खुलेपछि नयाँ लगानीकर्ता ल्याउन सजिलो हुने भएकाले ओपीडी सेवा मात्रै भए पनि सञ्चालन गरेका हुन्,’ ती चिकित्सक भन्छन् ।
प्रतिक्रिया 4