 
																			२९ पुस, गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ ।
कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ ।
क्लबका अध्यक्ष भोलामान गुरुङले उनले ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे सङ्क्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए ।
उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिवल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलोलगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ ।
मेलाका अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजयीले रु एक लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
त्यस्तै खुल्ला महिला भलिबलतर्फ प्रथम हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुल्ला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले रु एक लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ७० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
मेलामा गुरुङ भाषा गीतको सामूूहिक नृत्यमा प्रथम हुनेले रु ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।
प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले रु ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सभायुला युवा परिवारले सञ्चालन गर्ने ठेलो प्रतियोगिताको प्रमुख आतिथ्यता ठेलो प्रतियोगिताका पूर्वविजेता केशबहादुर गुरुङले गर्ने जनाइएको छ ।
पोखराबाट करिब ४० किमीको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका–१ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ चार सय ५० घरधुरी रहेका छन् । ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटल दर्ता भई सञ्चालनमा रहेका छन् ।
त्यसैगरी, ३६ वटा घरबास सञ्चालनमा छन् । पर्यटकीययाममा एक हजार पाँच सयदेखि दुुई हजार जनासम्म पर्यटक सिक्लेसमा घुम्न आउने गरेको मादी गाउँपालिका–१ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।
सिक्लेसमा करिब नौ सय वर्षअघि देखि नै बसोबास सुरु भएको अनुमान गरिने बताउँदै उहाँले दुुई सय वर्षअघि देखि यहाँ माघे सङ्क्रान्तिका अवसरमा ठेलो हान्ने प्रचलन रहेका कारण त्यसैबेलादेखि सिक्लेस माघे सङ्क्रान्ति मेला सुरु भएको अनुमान गरिने जानकारी दिए ।
पछिल्लो समय सिक्लेस जाने बाटोलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तेस्रो खण्डको काम सुरु हुन लागेको उनले जानकारी दिए ।
काहुँखोला सिक्लेस सडकमा अहिले तस्रो खण्डको कालोपत्र गर्ने काम सुरु गर्न लागिएको उनले बताए । गाउँ तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसी क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।
स्थानीयको सेवाका लागि चाँडो काम गर्न प्रविधिमैत्री काम थालिएको बताउँदै उनले कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधा समेत दिइएको बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4