+

यस्ता छन् सीपीआर उपचार विधिका पाँच चरण

२०८१ फागुन  ४ गते १८:०३ २०८१ फागुन ४ गते १८:०३
यस्ता छन् सीपीआर उपचार विधिका पाँच चरण

आकस्मिक स्वास्थ्य समस्या जुनसुकै बेला, जोसुकैलाई आइपर्न सक्छ। त्यस्तो संवेदनशील परिस्थितिमा स्वास्थ्य सम्बन्धी सामान्य सीप र विधिले जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

आकस्मिक स्वास्थ्य समस्या आइपर्दा जान्नैपर्ने विधिहरूमध्ये कार्डियो पल्मोनरी रिसुसिटेशन (सीपीआर) महत्वपूर्ण र जीवनदायी उपचार विधि हो। हृदयघात भई अचेत हुँदा वा अन्य दुर्घटनाका कारण रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेर मृत्युको मुखमा पुगेको बिरामीलाई तत्कालै मुटुमा थिचेर रक्तसञ्चार प्रवाह गराउने र मुखद्वारा अक्सिजन पठाएर

श्वासप्रश्वास प्रणाली जीवित गराउने विधि हो, सीपीआर । घटना भएलगत्तै वा घटना भएको कम्तीमा ६ देखि ८ मिनेटभित्र यो विधि अपनाउनुपर्छ। बिरामीको श्वास–प्रश्वास प्रणाली जीवित गराउन कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म निरन्तर सीपीआर दिनु आवश्यक हुन्छ।

सीपीआर विधि सिक्नाले आकस्मिक रूपमा बिरामी परेर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन सकिन्छ। हृदयघात हुँदा, सडक दुर्घटना तथा भीरबाट खस्दा, खानेकुरा अड्किंदा, निसास्सिँदा, विषादी सेवन, धुवाँको कारण हुने घटना, करेन्ट लागेर हुने दुर्घटना, पानीमा डुबेर हुने घटना, अत्यधिक जङ्गली महको सेवन, लागूऔषध तथा मदिरा सेवन आदिका कारण श्वास–प्रश्वासमा समस्या भई बेहोश भएका बिरामीलाई सीपीआर दिनुपर्ने हुनसक्छ।

सीपीआर विधिलाई पाँच चरणमा सम्पन्न गर्न सकिन्छ।

पहिलो चरण

सर्वप्रथम कुनै पनि घाइते, बिरामी वा तत्काल बेहोश अवस्थामा रहेका व्यक्तिलाई घटनास्थलमै अन्य केही कुराको पर्बाह नगरी वरपर भएका व्यक्तिलाई समेत सहयोगका लागि आग्रह गर्नुपर्छ। र, उद्धार गरी नजिकैको सुरक्षित स्थानमा लैजानुपर्छ।

दोस्रो चरण

घाइते वा अचेत बिरामीलाई उत्तानो पारी घाँटीमा आड दिंदै नजिकै सुरक्षित स्थानमा ल्याउनुपर्छ।घाइते वा बिरामीलाई उद्धार गर्दा टाउकोतिर एक जनाले, ज्यानमा एक जनाले र खुट्टातिर अर्को व्यक्तिले समातेर कडा सतहमा जस्तैः भुईं तथा सडकमा उत्तानो पारेर सुताउनुपर्छ।

सीपीआर दिने क्रममा मुटु थिच्नुपर्ने हुँदा बिरामीलाई नरम डस्ना वा सोफामाथि राख्दा यो प्रक्रिया प्रभावकारी हुँदैन।

तेस्रो चरण

त्यसरी उद्धार गरी ल्याइएको व्यक्ति वा घाइते साँच्चै अचेत हो भनी प्रष्ट हुनका लागि दुवै कुममा आफ्ना दुई हात राखी घचघच पार्दै उसको नाम लिनुपर्छ। अथवा ‘दाइ सुन्नुस् त’ ‘दिदी हेर्नुस् त’ जस्ता वाक्य बोल्दै रुद्रघण्टीको छेउको गहिरो भागमा नाडी (चाल) महसुस गर्नुपर्छ।

सो धड्कन/चाल मार्फत अचेत व्यक्तिले श्वास फेरे/नफेरेको याद गर्नुपर्छ। कथंकदाचित यो प्रक्रिया गर्दासम्म सो बिरामीको होश आयो भने केहीबेर देब्रे कोल्टे राखिदिएर तुरुन्तै नजिकको अस्पताल लैजाने तयारी गर्नुपर्छ। तर, सो बिरामी/घाइते अचेत नै हो भनी प्रष्ट भएमा सीपीआर दिने तयारी गर्नुपर्छ।

सीपीआरको मुख्य उद्देश्य भनेको दिमाग, मुटु र मिर्गौलामा रक्तसञ्चार, खासगरी दिमाग (मस्तिष्क) मा रगत र त्यससँगै अक्सिजन प्रवाह निरन्तर राखी दिमागका रक्तकोषिका मर्न नदिनु नै हो।

त्यसका लागि घाइते वा अचेत भएको ६ देखि ८ मिनेट भित्र सीपीआर सुरु गर्न सक्दा मात्र घाइतेलाई बचाउने सम्भावना प्रबल रहन्छ। तसर्थ सीपीआरको प्रत्येक चरण यथासक्य चुस्त ढंगले सावधानीपूर्वक गर्नुपर्छ।

चौथो चरण

अचेत व्यक्तिको बायाँपट्टि घुँडा धसेर बस्नुपर्छ। दुवै हातको कुहिना र पाखुरा सिधा पारेर अर्थात् कुहिना नबंग्याई छातीको बीच भाग (दुवै स्तनको मुन्टाको बीच) र शरीरको मध्यरेखा जोडिने (टाई आकारको पातलो हड्डीको पुच्छर) भागमा एक हातमाथि अर्को हात खप्ट्याएर दुवै हातको औंला एक अर्कामा छिराई (माछी काँडे आकारमा) शरीरको बल समेत लाग्ने गरी हत्केलाको डिलले एक–दुई गन्दै ३० पटक थिच्नुपर्छ।

एकपटक थिचेर छाती माथि आउन्जेल अर्को पटक थिच्ने प्रक्रिया निरन्तर जारी राख्नुपर्छ। एक मिनेटमा करिब १०० देखि १२० पटक पर्ने गरी १८ देखि २० सेकेन्डभित्र ३० पटक थिच्नुपर्छ। थिच्दा यसको गहिराइ कम्तीमा २ इन्च (५ सेमी) गहिरो हुनुपर्छ। यसरी निरन्तर आफ्नो शरीरको तागत लगाएर थिच्ने क्रममा हात छातीमा नै रहनुपर्छ।

दुवै हातले छातीमा थिच्दा हुने गहिराइ अनुसार नै सीपीआरको प्रभावकारिता हुने हुँदा हाम्रो शरीरको तागतले भ्याएसम्म प्रभावकारी सीपीआर निरन्तर दिनुपर्छ। आफू थाकेको अवस्थामा अर्को व्यक्तिलाई बोलाई तुरुन्तै जुन अवस्थामा छोडेको हो त्यही चरणबाट निरन्तरता दिनुपर्छ।

यसरी छातीमा थिच्ने क्रममा बिरामी वा घाइतेको करङका हड्डी भाँचिन पनि सक्छ। तर भाँचिएको हड्डी पुनः जोडिने हुँदा बिरामी बचाउन हड्डी भाँचिने चिन्ता लिनुहुँदैन।भाँचिएको हड्डी पुनः जोडिन्छ तर सीपीआर दिन ढिलो गरिए अमूल्य जीवन बचाउन सकिंदैन। तसर्थ, सावधानीपूर्वक घाइतेको जीवन रक्षा गर्ने उद्देश्यका साथ सीपीआर दिनुपर्छ।

पाँचौं चरण

३० पटक मुटुमा थिचिसकेपछि तुरुन्तै अचेत बिरामीको निधारको तल आफ्नो देब्रे हातले थिच्नुपर्छ। बिरामीको चिउँडो केही उचाली देब्रे हातले नाकको प्वाल थुनेर घाइतेको मुखमा आफ्नो मुख टपक्क जोडी सीपीआर दिने व्यक्तिले दुई पटक लामो श्वास दिनुपर्छ। घाइते व्यक्तिलाई मुख जोडेर छोडेको श्वासको अक्सिजनको मात्रा (१६ प्रतिशत) नै पनि उक्त अवस्थाका लागि पर्याप्त हुनसक्छ।

यसरी अक्सिजन दिने क्रममा घाइतेको मुखमा रगत या अन्य फोहोर वस्तु भए तुरुन्तै सफा पारेर एक हातलाई ढुङ्ग्रो आकारमा मुखमा जोडेर पनि श्वास दिन सकिन्छ। अथवा, केही नसकिए छाती थिच्ने काम भए पनि निरन्तर गरिरहनुपर्छ।

एक वर्ष मुनिका शिशुको हकमा, कुनै पनि आकस्मिक स्वास्थ्य समस्याका कारण अचेत भएमा दुई औंलाले सोही अनुसार आधा घण्टादेखि ४५ मिनेटसम्म (एम्बुलेन्स नआइपुग्दासम्म) छातीको बीच भागमा १५ पटक थिच्ने र दुई पटक श्वास दिने गर्नुपर्छ। एकदेखि १२ वर्ष मुनिका बच्चाको लागि दिइने सीपीआर माथि उल्लेख गरिए बमोजिम दुवै हातले ३० पटक थिच्ने र दुई पटक श्वास दिने गर्नुपर्छ।

यसरी कम्तीमा आधा घण्टासम्म दिइने सीपीआरले घाइते वा अचेत बिरामीलाई तत्कालै जीवनदान दिन सकिन्छ। कुनै पनि आकस्मिक स्वास्थ्य समस्या वा घटना भई घाइते वा अचेत भएका बिरामीलाई उद्धार गरी अस्पताल लैजाने बेलासम्म निकै ढिलो भइसक्ने हुनाले सीपीआर विधि घटनास्थलमै अविलम्ब सुरु गरिहाल्नुपर्छ। त्यसको लागि घाइते बिरामी अचेत अवस्थामा पुगेको हो वा होइन भनी निर्क्योल गरेर घटनास्थलमा पुगेका जोसुकै उद्धारकर्ता वा व्यक्तिले सीपीआर सुरु गर्न सक्छन्।

जीवनदायी सीपीआर विधिलाई बाल कक्षादेखि नै पाठ्यक्रममा समावेश गरी गाउँघर, टोल–छिमेक, समुदाय सबैतिरका नागरिकलाई तालिम दिनु आवश्यक छ।कार्यालय, विमानस्थल, व्यापारिक मल, विद्यालय, शिक्षण संस्था, धार्मिकस्थल जस्ता नागरिकको बाक्लो आवतजावत हुने स्थानमा प्रभावकारी सीपीआर सम्बन्धी जानकारी र आर्टिफिसियल एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) मेसिन अनिवार्य व्यवस्था गर्नुपर्छ।

सीपीआर विधि सम्बन्धी तालिमका श्रव्यदृश्य सामग्रीहरू इन्टरनेट र युट्युबमा सजिलै प्राप्त हुने भएकोले प्रभावकारी सीपीआर दिने तरिका सबैले जानिराख्नु अपरिहार्य छ।

(स्वास्थ्य बीमा बोर्डमा कार्यरत डा. क्षेत्री आकस्मिक स्वास्थ्य सचेतना अभियानमा सक्रिय छन्।)

मुटु राेग सीपीआर
लेखक
डा. राम थापा क्षेत्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय