+

यी ९ लक्षण, जसले बताइरहेको हुन्छ हामी बुढो हुँदैछौँ

२०८१ फागुन  ५ गते १६:१७ २०८१ फागुन ५ गते १६:१७
यी ९ लक्षण, जसले बताइरहेको हुन्छ हामी बुढो हुँदैछौँ

‘मलाई जैविकरुपमा यस्तो कुनै चीजको बारेमा जानकारी छैन, जुन ढल्दै गरेको उमेरका लागि राम्रो हुनसक्छ ।’ स्पेनकोे ‘नेसनल फर अंकोलोजिकल इन्भेटिगेसन’ का डाक्टर म्यानुअल सेरानोको यो वाक्य धेरै निराश बनाउने खालको छ।

उनी ‘साइन्स अफ एजिङ’ पुस्तक लेख्ने मध्येका एक हुन् । यस पुस्तकमा शोधकर्ताहरूले बढ्दो उमेरसँगै शरीरभित्र हुने मुख्य प्रक्रियाका बारेमा उल्लेख गरेका छन्।

सेरानोले बीबीसीलाई बताएका छन्–यो त्यस्तो प्रक्रिया हो, जुन निश्चितरुपमा हुन्छन् नै । यी हरेक व्यक्तिमा कम या ज्यादा देखिन सक्छन् । कम या ज्यादा हुनुमा हाम्रो जीवनशैली र जेनेटिक कारण जिम्मेवार हुन्छन् । तर यो निरन्तर भइरहन्छ।

स्तनधारी जीवमा बढ्दो उमेरसँगै यी ९ लक्षण देखिन थाल्छन् । यी लक्षणले मान्छेलाई पनि आभास गराइरहेको हुन्छ कि, ऊ बुढो हुन लागिरहेको छ।

१.डीएनएको क्षति

हाम्रो डीएनएमा एक प्रकारको ‘जेनेटिक कोड’ हुन्छ, जनु कोषहरूको बीचमा प्रसारित हुन्छ । उमेर बढ्दै जाँदा यी ‘जेनेटिक कोड’को संरचनामा गडबडी हुन सुरु हुन्छ । बिस्तारै–बिस्तारै यो कोषमा जम्मा हुन सुरु हुन्छ । यो प्रक्रियालाई अनुवांशिक अस्थिरताको रुपमा बुझिन्छ।

यो तब सान्दर्भिक हुन्छ, जब डीएनए स्टेमले कोषहरूलाई प्रभावित गर्छ । अनुवांशिक अस्थिरताले स्टेम कोषहरूको भूमिकालाई खतरा पुर्‍याउन सक्छ । यदि यो अस्थिरता थप बढ्दै गयो भने यो क्यान्सरको रुपमा परिणत हुन पनि सक्छ।

२.क्रोमोजोमहरू कमजोर हुन्छ

प्रत्येक डीएनको संरचना टोपीजस्तै हुन्छ, जसले हाम्रा क्रोमोजोमहरूलाई सुरक्षित राखिरहेको हुन्छ । यसलाई सजिलो गरी बुझ्दा– हामीले लगाउने जुत्ताको तुनाको टुप्पोमा प्लास्टिकको क्लिप राखिएको हुन्छ नि त्यस्तै।

यसलाई ‘टेलोमर्स’ भनिन्छ । हाम्रो जति उमेर बढ्दै जान्छ, टोपीरुपी यो संरचना नष्ट हुँदै जान्छ । यसो हुँदा हाम्रो क्रोमोजोमहरूको रक्षाकबच खुकुलो हुँदै जान्छ । यसले गर्दा विभिन्न समस्या उत्पन्न हुनसक्छन्।

टेलोमर्सको संरचनामा गडबडी आउँदा कुनैपनि रोग लाग्ने जोखिम बढ्ने शोधकर्ताहरूले बताएका छन् । यस्तो अवस्थामा फोक्सोसम्बन्धी समस्या र एनिमिया हुने जोखिम बढेर जान्छ। यी दुवै समस्या रोगप्रतिरोधी क्षमतासँग जोडिएका गम्भीर समस्या हुन्।

३.कोषहरूको व्यवहार प्रभावित हुन्छ

हाम्रो शरीरमा ‘डीएनए एक्प्रेसन’ भन्ने विशेष प्रकारको प्रक्रिया हुन्छ । यसमा कुनै एक कोषमा रहेका हजारौँ–हजार जीनहरूले त्यो कोषलाई के गर्ने भन्ने तय गर्छन् । उदाहरणका लागि, त्यो कोषले छालाको कोषका रुपमा काम गर्ने कि मस्तिष्कको कोषका रुपमा काम गर्ने भन्ने कुरा ‘डीएनए एक्प्रेसन’ प्रक्रियामा निर्धारण हुन्छ ।

तर समय र जीवनशैलीले यो निर्देशनलाई बदल्न सक्छन् । यस्तो अवस्थामा कोषहरूले आफ्नो व्यवहार परिवर्तन गर्न सक्छन् ।

४.कोषहरूको नवीकरण हुने क्षमता हराउँछ

हाम्रा शरीरका कोषहरू नष्ट भएर गइरहेका हुन्छन् । त्यसलाई पूर्ति गर्नका लागि कोषहरूमा नवीकरण हुने क्षमता हुन्छ । उमेर बढ्दै जाँदा कोषमा नवीकरण हुने क्षमता बिस्तारै–बिस्तारै कम हुँदै जान्छ।

यो अवस्थामा कोषहरूले बिकार तथा विषाक्त प्रोटिन जम्मा गर्न लाग्छन् । यो कुनै समय अल्जाइमरको कारण बन्न जान्छ । यसकै कारण पार्किन्सन र मोतियाविन्दु हुने जोखिम पनि बढ्छ।

५.कोषहरूले ‘मेटाबोलिक’ नियन्त्रणलाई गुमाउँछन्

बढ्दो उमेरसँगै कोषहरूले बोसोजन्य र चिनीजन्य तत्व सोस्ने क्षमता गुमाउँदै जान्छन् । यसले गर्दा मधुमेहको समस्या हुन्छ। बुढेसकालमा जसलाई मधुमेह देखिन्छ, त्यो कोषहरूले चिनीजन्य तत्व सोस्ने क्षमता गुमाएकै कारण हुन्छ।

उमेर बढ्दै जाँदा हामीले खाएका सबै पोषकतत्व शरीरले ग्रहण गर्न सक्दैन, यसको कारण कोषहरूले मेटाबोलिक नियन्त्रण गुमाउनु नै हो।

६.माइटोकोन्ड्रियाले काम गर्न छोड्छ

माइटोकोन्ड्रियाले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ । तर समयक्रमसँगै यसले आफ्नो क्षमता गुमाउँदै जान्छ । यो कमजोर हुँदै जाँदा डीएनएमा पनि नकारात्मक असर पर्दै जान्छ।

शरीरमा माइटोकोन्ड्रिया पुनर्स्थापित गर्न सकिन्छ भन्ने कुरा वैज्ञानिकहरूले पुष्टि गरेको विज्ञान पत्रिका नेचरमा प्रकाशित एक अध्ययनमा दावी गरिएको छ। वैज्ञानिकहरूले माइटोकोन्ड्रिया पुनर्स्थापित गरी मुसाहरूमा बुढ्यौलीपनसँगै देखिएको चाउरीपना हटाएको दावी त्यसमा छ।

७. ‘घाइते कोष’ जम्मा हुन्छन्

कुनै कोष धेरै चोटग्रस्त भयो भने यो विभाजन भई नयाँ कोष बन्ने प्रक्रिया रोकिन्छ तर कोष मरेको हुँदैन। उमेर बढ्दै जाँदा यस खालका कोषहरू जम्मा हुँदै जान्छन्। यसरी जम्मा हुने कोषले वरपरका कोषहरूलाई संक्रमित बनाउन सक्छन् । यसले शरीर सुन्निने समस्या निम्त्याउँन सक्छ।

८.स्टेम कोषले क्षमता गुमाउँदै जान्छ

उमेर बढ्दै जाँदा स्टेम कोषहरू थाक्न थाल्छन्। कोषहरूको पुनर्उत्पान क्षमतामा कमी आउँदै जान्छ । हालैको एक अध्ययनले बताएको छकि–स्टेम कोषहरूलाई पुनर्जीवित गराउँदा शरीरमा बुढ्यौलीका लक्षण छिट्टै देखिँदैन।

९.कोषहरूले सञ्चार बन्द गर्छन्

प्रायगरी कोषहरू एक–अर्कामा सम्पर्कमै रहन्छन् । तर जब उमेर बढ्दै जान्छ, यिनीहरूको आपसी सम्पर्क घट्न थाल्छ । कोषहरूबीच आपसी सम्पर्क नहुदा शरीर सुन्निने समस्या देखा पर्न सक्छ।

कोषहरूबीच एक–आपसमा सम्पर्क टुट्दा शरीरमा रहेका रोगजन्य कोष तथा हानिकारक कोषविरुद्ध कोषहरू सक्रिय हुन सक्दैनन् । यसले गर्दा रोगहरूको जोखिम बढ्छ ।

डा.सेरानोको निष्कर्ष छ–यो प्रकिया हामीले रोकेर राकिँदैन तर स्वस्थ जीवनशैली अपनाउँदा जरुर यसलाई कम गर्न सकिन्छ ।

‘आजको समयमा वृद्धवृद्धाहरू धेरै धनी र स्वस्थ छन्’ सेरानो भन्छन्, ‘हामीले गर्नसक्ने सबैभन्दा राम्रो चीज यो होकि, हामी हाम्रो जिन्दगी खुलेर बाँचौँ ।’

जैविक लक्षण बुढौली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय