३५ वर्ष उमेर पार भएपछि सन्तान जन्माउनु पनि सामान्य भइसकेको छ । तर उमेर बढेसँगै प्रजनन् क्षमतामा असर पर्छ । र, महिलाको सन्तान उत्पादनका लागि आवश्यक डिम्बको गुणस्तरमा कमी आउँछ ।
साथै, उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह र गर्भपातको सम्भावना पनि बढ्ने हुन्छ । यस्तोमा स्वास्थ्यलाई थोरै हेरविचार गर्ने हो भने गर्भावस्था सम्बन्धी आउने जटिलता कम गर्न सकिन्छ । र, सुरक्षित तरिकाले सन्तान जन्माउन सकिन्छ ।
के गर्ने ?
जीवनशैली परिवर्तन
३५ उमेर पार भए पछि सन्तान योजना बनाउनुपुर्व स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ । कसरी अपनाउने त ?
नियमित व्यायाम गर्ने, खाना कम सागसब्जी तथा फलफूल बढी खाने, पर्याप्त पानी खाने, तनाव कम लिने, राति छिटो सुत्ने र बिहान छिटो उठ्ने गर्नुपर्छ । यसले पनि गर्भधारणको सम्भावनालाई बढाउँछ ।
धूम्रपान र मदिरा भने पटक्कै सेवन गर्न हुँदैन । यसले प्रजनन् क्षमतामा नकारात्मक असर पार्छ ।
मधुमेह र उच्च रक्तचाप
गर्भधारण गर्नुभन्दा अगाडि नै महिलाले मधुमेह र उच्च रक्तचाप छ कि भनेर जाँच गर्ने गर्नुपर्छ । उमेर बढ्दै गएपछि स्वतः दीर्घरोग थाईराइड, मधुमेह र उच्च रक्तचापको जोखिम बढ्ने सम्भावना हुन्छ ।
किनकि यी दुई दीर्घरोगको स्तर बढेमा यस्तोमा गर्भ रहन र रहे पनि शिशुलाई जोखिम हुनसक्छ । स्तरको असन्तुलन देखिएमा औषधिले नियन्त्रण गर्न लगाएर मात्र योजना बनाउनु उचित हुन्छ ।
प्रजनन् क्षमता परीक्षण गराउने
यो उमेरमा सन्तान योजना बनाउने हो भने पहिला प्रजनन् क्षमता परीक्षण गराउनुपर्छ । यसले महिला विशेषकाे डिम्ब के कस्तो अवस्थामा छ पत्ता लाग्छ । किनकी, गर्भ रहन र स्वस्थ बच्चा रहन डिम्बको संख्या र गुणस्तरले प्रमुख भूमिका खेल्छ ।
त्यसका लागि महिलाले एएमएच (एन्टीमुलेरियन हर्माेन) र एफएसएच (फाेलिकुलर स्टिमुलेटिङ हर्मोन) परीक्षण गराउनुपर्छ । त्यस्तै, पुरुषले वीर्यको परीक्षण गराउनु पर्छ । यसले पुरुषको वीर्यको अवस्था पत्ता लाग्छ । यी परीक्षणले प्राकृतिक गर्भधारण कतिको सम्भव छ भन्ने कुरा पत्ता लाग्छ ।
डिम्ब भण्डारण र भ्रुण संरक्षण
यदि कुनै महिला भविष्यमा गर्भावस्थाको योजना बनाउन चाहन्छिन् तर अहिले नै बच्चा जन्माउने योजना छैन भने उनले डिम्ब भण्डारण वा भ्रूण संरक्षणको विकल्प रोज्न सक्छिन्। नेपालमा यी सुविधामा छ ।
यद्यपि, यो प्रक्रियाबाट डिम्बलाई भण्डारण गरि तयार पारिएको भ्रूणका लागि कृत्रिम गर्भधारण प्रविधि (एआरटी) नै अपनाउनु पर्ने हुन्छ। क्यान्सरको उपचार वा अन्य गम्भीर चिकित्सा समस्याका कारण प्रजनन क्षमता गुमाउने जोखिममा रहेका महिलाहरूका लागि पनि यो प्रविधि लाभदायक छ।
हर्मोनल र चिकित्सा उपचार
यदि प्राकृतिक तरिकाले गर्भ बसिरहेको छैन भने प्रजनन समस्या छ कि भनेर परीक्षण गराउनुपर्छ । यदि डिम्बाशयमा समस्या, डिम्बमा पलाउने सिस्ट, पाठेघरमा मासु पलाएमा र एन्डोमेट्रिओसिस जस्ता अवस्थाहरू देखिए पनि पनि गर्भधारणमा समस्या गर्नसक्छ । जसका लागि चिकित्सकको सिफारिसमा हर्मोनल वा चिकित्सीय उपचारबाट समाधान गर्न सकिन्छ ।
प्रजनन विशेषज्ञसँग परामर्श गर्ने
६ देखि १२ महिनासम्म प्रयास गर्दा पनि गर्भ नरहेमा प्रजनन विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ। विशेषज्ञहरूले चिकित्सा इतिहास, हर्मोनल सन्तुलन र जीवनशैलीका कारकहरूलाई ध्यानमा राखेर व्यक्तिगत उपचार योजना बनाउँछन्।
३५ वर्षपछि बच्चाको योजना बनाउनका लागि, सही जानकारी हुनु र सही कदम चाल्नु महत्त्वपूर्ण छ। जीवनशैली परिवर्तन, समयमै प्रजनन् परीक्षण, र डाक्टरको सल्लाहले यो प्रक्रियालाई सजिलो बनाउन सकिन्छ।
कृत्रिम गर्भधारण प्रविधि (एआरटी)
यदि प्राकृतिक तरिकाबाट एक वर्षसम्म पनि सन्तान जन्माउन समस्या भइरहेको छ भने वैकल्पिक प्रविधि अपनाउनु पर्ने हुनसक्छ । एआरटी अन्तर्गत इन्भिट्रो फर्टिलाइजेसन (आईभीएफ) एवं इन्ट्रायूटेराइन इन्सेमिनेसन (आईयुआई) जस्तो प्रविधिले गर्भधारणको सम्भावना बढाउँछ।
आईभीएफमा डिम्बशय र शुक्राणुलाई प्रयोगशालामा निषेचन गरी भ्रुण तयार गरी गर्भाशयमा राखिन्छ ।
फोलिक एसिड खाने
कसैले गर्भावस्थाको योजना बनाइरहेका छन् भने गर्भ रहनुभन्दा तीन महिनाअघिबाट यसको सेवन सुरु गर्नुपर्छ । पाँच मिलिग्राम फोलिक एसिड दैनिक एक पटक खानापछि खान सकिन्छ । १२ हप्तासम्म यसलाई नियमित रूपमा खानुपर्छ ।
कुनै गर्भवती महिलाले फोलिक एसिड खान छुटाएमा त्यही समयबाट खान पनि सक्छन् । यो भिटामिनलाई चिकित्सकको सल्लाहअनुसार खानु राम्रो हुन्छ ।
फोलेट तथा फोलिक एसिड भिटामिन बी ९ का प्रकार हो । जुन बच्चाको मस्तिष्क र मेरुदण्ड विकासका लागि चाहिन्छ । त्यसैले, गर्भावस्थाको योजना बनाइरहेका र गर्भवती महिलालाई फोलिक एसिड खाने सल्लाह दिइन्छ ।
 
                    










 २०८१ चैत  २० गते १७:४९
                        २०८१ चैत  २० गते १७:४९                     
                             
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                                         
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                             
                                        
प्रतिक्रिया 4