२९ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका इजिप्टियन स्टार फरवार्ड मोहम्मद सालाहले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि उनी २०२४-२५ सिजनपछिसमेत क्लबमै रहने भएका छन्।
यस सिजन सालाहले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले अहिलेसम्म ४५ खेलमा ३२ गोल गरेका छन्, जसमा २७ गोल प्रिमियर लिगमा छन्। उनी लिगका शीर्ष गोलकर्तासमेत बनेका छन्। साथै, उनले २२ असिस्टमार्फत टिममेटलाई पनि सहयोग गरेका छन्।
यो सम्झौतासँगै सालाहले एनफिल्डमा बिताएको आठ वर्ष लामो यात्रा अझ लम्ब्याउनेछन् र प्रशिक्षक आर्ने स्लटको टिमसँग ठूला उपाधिहरू जित्ने लक्ष्यमा अघि बढ्नेछन्। यस सिजनको प्रिमियर लिगको उपाधि लिभरपुलले जित्ने सम्भावना धेरै बलियो भइसकेको छ ।
लिभरपुल एफसीसँगको अन्तर्वार्तामा सालाहले भने, ‘म निकै उत्साहित छु। अहिले हाम्रो टिम धेरै राम्रो छ। पहिले पनि राम्रो टिम थियो। मैले सम्झौता यसैले गरेँ किनभने हामीसँग उपाधि जित्ने राम्रो मौका छ।’
उनले थपे, ‘यहाँ बिताएका वर्षहरू मेरो करिअरका उत्कृष्ट वर्ष हुन्। आठ वर्ष भयो, आशा छ १० वर्ष पुरा हुन्छ। जीवन र फुटबल दुवै मज्जा लिइरहेको छु।’
फ्यानलाई सन्देश दिँदै सालाहले भने, ‘म यहाँ रहन पाउँदा धेरै खुसी छु। हामीसँग ठूलो ट्रफी जित्ने सम्भावना छ। तपाईंहरूको समर्थन जारी राख्नुस्, हामी सबै प्रयास गर्नेछौं र भविष्यमा अझ धेरै उपाधि जित्नेछौं।’
प्रतिक्रिया 4