+

माटोको भाँडामा राखेको पानी खाँदा के हुन्छ ?

२०८२ वैशाख  १२ गते १८:५९ २०८२ वैशाख १२ गते १८:५९
Shares
माटोको भाँडामा राखेको पानी खाँदा के हुन्छ ?

माटोको भाँडोमा पानी खाने चलन नयाँ होइन । परापुर्वकाल देखि नै माटोको भाँडोको प्रयोग हुन्थ्यो । त्यो बाहेक कुनै अर्को विकल्प पनि थिएन ।

समय बित्दै गयो । आधुनिक विकल्पहरू जस्तै काँच, प्लास्टिक, तामा, आल्मुनियम, स्टेनलेस स्टील र सेरामिकका भाँडाहरू सहज उपलब्ध हुन थाले । अनि, माटोका भाँडाको प्रयोग गर्ने चलन हराउँदै गयो ।

यद्यपि, अहिले थुप्रै विकल्पका बाबजुद पनि माटोका भाँडोको प्रयोग पुनः लोकप्रिय हुँदैछ । बजारमा हाल माटोका घैँटो, गाग्रीदेखि माटोको फिल्टरसम्म उपलब्ध छन् । यो पुनरागमनको कारण भनेको माटोको भाँडोको प्राकृतिक गुण र स्वास्थ्यका लागि फाइदाबारे जागरुकता बढ्नु हो ।

माटाको भाँडोमा त्यस्तो के हुन्छ ?

माटोका भाँडोको पानी खानु स्वस्थकर मानिन्छ । किनकी, माटो आफैँ पनि एकप्रकारको प्राकृतिक फिल्टर हो । माटोमा भएको खनिजमा पानी मिसिएपछि त्यहाँ भएको फोहोरलाई छान्ने काम गर्छ ।

माटोको भाँडामा खनिजहरू पहिल्यै हुन्छन्, तर पानी राखेपछि ती खनिजहरू पानीमा मिसिन्छन् । माटोमा प्राकृतिक रूपमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस जस्ता खनिजहरू हुन्छन् ।

जब पानीलाई घैँटोमा राखिन्छ, माटोको छिद्रपूर्ण सतहमार्फत यी खनिजहरू पानीमा घुल्छन् । यो प्रक्रिया पानीलाई थप पोषक बनाउँछ । अर्को, यसको गुण के हो भने यसले पानीको तापक्रमलाई ठन्डा पारेर राख्छ ।

१. पाचनमा सहयोग

माटोको भाँडोको पानीले शरीरको जठराग्नि (पाचन शक्ति) लाई बलियो बनाउँछ । माटोको क्षारीय गुणले पेटको अम्लतालाई सन्तुलनमा राख्छ, जसले अपच, ग्यास, र कब्जियत जस्ता समस्याहरूलाई कम गर्छ । आयुर्वेदमा पानीलाई सही तापक्रम र गुणस्तरमा पिउन सुझाव दिइन्छ र माटोको भाँडोले पानीलाई प्राकृतिक रूपमा चिसो र शुद्ध राख्छ ।

माटोमा पाइने अल्काइनले शरीरको पिएच लेभललाई नियन्त्रण गर्छ । यसो हुनेबित्तिकै पेटमा भएको अम्ललाई हटाउँछ । पाचनरस सन्तुलनमा ल्याई पाचनमा मद्दत गर्छ ।  अपच, ग्यास र अम्लपित्तजस्ता समस्याहरूलाई कम गर्छ ।

२. पर्यावरणमैत्री

माटोको भाँडो शुद्ध प्राकृतिक माटोबाट बनेको हुन्छ । अहिले प्लास्टिकको व्यापक प्रयोगले प्रदूषण ठूलो समस्या बन्दै गरेको बेलामा माटोको गाग्री एक पर्यावरणमैत्री विकल्प हुनसक्छ । प्लास्टिकका भाँडाहरूले वातावरणमा माइक्रोप्लास्टिक र हानिकारक रसायनहरू छोड्छन् तर माटोको गाग्रीले यस्तो समस्या निम्त्याउँदैन ।

नेपालमा पर्यावरणीय जागरूकता बढ्दैछ । मानिसहरू प्लास्टिकका हानिकारक प्रभावबारे सचेत छन् र दिगो विकल्पहरू खोजिरहेका छन् । माटोको भाँडाले यो आवश्यकतालाई पूरा गर्छ । आयातीत प्लास्टिकका सामग्रीको प्रयोग बढ्दै गइरहेको अवस्था छ । माटोको भाँडाको उपभोग बढेमा दिगो र परम्परागत शिल्पलाई पनि प्रोत्साहन मिल्छ ।

३. रसायनमुक्त

माटोको घैँटो वा गाग्रीमा कुनै हानिकारक रसायनहरू मिसिएको हुँदैन । प्लास्टिकका कन्टेनरहरूले तातो वा लामो समयसम्म प्रयोग गर्न उपयोगी बनाउनका लागि रसायनहरू पानीमा मिसाउन सक्छन्, तर माटोको गाग्रीमा यस्तो जोखिम हुँदैन ।

४. प्राकृतिक स्वाद र गुणस्तर

माटोको भाँडामा राखिएको पानीको स्वाद अन्य भाँडाको तुलनामा ताजा र प्राकृतिक हुन्छ । माटोको गाग्रीले पानीलाई प्राकृतिक रूपमा चिसो राख्छ, जुन तातो मौसममा विशेष रूपमा उपयोगी हुन्छ । माटोको घैँटोमा रहेका छिद्रपूर्ण सतहबाट थोरै पानी बाहिर निस्केर वाष्पीकरण हुँदा ताप हराउँछ ।

जसले भित्रको पानीलाई प्राकृतिक रूपमा चिसो बनाउँछ । गर्मी मौसममा यसको प्रयोग निकै उपयोगी हुन्छ । पहिलेका मान्छेले दही, मोही र पानी चिसो बनाइराख्न माटोको भाँडा प्रयोग गर्थे ।

६. प्राकृतिक खनिजको लाभ

माटोको भाँडामा राखिएको पानीमा माटोबाट क्याल्सियम, म्याग्नेसियम र अन्य खनिजहरू मिसिन्छन् । आयुर्वेदमा यी खनिजहरूलाई शरीरको धातुहरू (जस्तै हड्डी, मांसपेशी र रक्त) को पोषणका लागि आवश्यक मानिन्छ । यस्तो पानीले शरीरलाई पोषण प्रदान गर्छ र रोग प्रतिरोधी क्षमता बढाउँछ।

७.प्राणशक्तिको वृद्धि

आयुर्वेदमा माटोको भाँडोमा राखिएको पानीले प्रकृतिको ऊर्जा (प्राणशक्ति) ग्रहण गर्छ भनिएको छ । जसले शरीर र मनलाई शान्त र स्फूर्त बनाउँछ । यो पानी पिउँदा मानसिक तनाव कम हुन्छ र शरीरमा ताजापन आउँछ।

८. स्वास्थ्यमा विभिन्न फाइदा

माटोको भाँडोमा राखिएको पानी प्राकृतिक रूपमा चिसो र क्षारयुक्त हुन्छ, जसले विशेषगरी पित्त दोषलाई शान्त गर्छ । यसले पेट पोल्ने अम्लपित्त र गर्मीजन्य समस्याहरूलाई कम गर्छ । साथै, यो पानीले वात र कफ दोषलाई पनि सन्तुलनमा राख्न मद्दत गर्छ।

माटोको भाँडा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

-माटोको भाँडोले सामान्य फोहोर छान्न सक्छ, तर भारी धातुहरू (जस्तै आर्सेनिक) वा अन्य रसायनहरू भने हटाउन सक्दैन। पानीको शुद्धिकरणका लागि भने थप फिल्टर प्रयोग गर्नुपर्छ।

-माटाको भाँडाको छिद्रपूर्ण सतहमा ब्याक्टेरिया वा फङ्गस जम्मा हुन सक्छ । यसलाई तातो पानी, बेकिङ सोडा वा भिनेगरले नियमित सफा गर्नुपर्छ ।

-माटाको भाँडो सजिलै फुट्न सक्छ, त्यसैले यसलाई सुरक्षित ठाउँमा राख्नुपर्छ ।

-ठूलो परिवारका लागि पर्याप्त भण्डारण क्षमता नहुन सक्छ ।

माटोको भाँडा
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय