+

लायन्स कप अन्तर्राष्ट्रिय भलिबलमा भारत र इरानको टोली

२०८२ वैशाख  १७ गते १०:२५ २०८२ वैशाख १७ गते १०:२५
लायन्स कप अन्तर्राष्ट्रिय भलिबलमा भारत र इरानको टोली

१६ वैशाख, पोखरा । पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा भारत र इरानको टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । यही वैशाख १८ गतेबाट हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भारत र इरानका गरी दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने अर्यालले जानकारी दिए ।्

यस्तै नेपालबाट तीन विभागीय टोली र गण्डकी प्रदेश गरी चार टिमको सहभागिता रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइने आयोजकले जनाएको छ । लिग चरणको पछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल प्रवेश गर्नेछन् ।

फाइनल खेल बैशाख २२ गते हुनेछ । मंगलबार सम्म भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए ।

प्रतियोगिताका खेल हेर्नका लागि पहिलो, दोस्रो र तेस्रो दिनसम्म ३ सय, चौथो दिन अर्थात् सेमिफाइनल खेल हेर्न ४ सय र फाइनल खेलमा ५ सय टिकट दर तोकिएको छ ।

इन्डोर हलमा ३ हजार जनाले एकसाथ खेल हेर्न सकिने र इन्डोर हल व्यवस्थापन कार्य भइरहेको अर्यालले बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनका लागि आवश्यक प्रकाशको प्रबन्ध मिलाउने काम गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको अर्यालले उल्लेख गरे ।

प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

लायन्स कप पुरुष भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय