+
+
Shares

माओवादीको मधेश संसदीय दलमा विवादः नेता फेर्न प्रचण्डलाई बहुमत सदस्यको दबाब

माओवादी केन्द्रको मधेश प्रदेशका बहुमत सदस्यले दलको नेता फेर्न चाहेको धेरै भए पनि पार्टी नेतृत्वले सहमति नदिँदा विवाद चर्कंदै गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलको नेताको विषयमा आन्तरिक विवाद बढिरहेको छ।
  • केही सांसदहरूले दलको नेताबाट भरतप्रसाद साहलाई हटाउन माग गरेका छन् र नयाँ नेताको चयन गर्न चाहन्छन्।
  • प्रचण्ड नेतृत्वको बैठकले अझै समाधान खोज्न सकेको छैन र आगामी बैठक १२ जेठमा बस्ने तय भएको छ।

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेता फेर्ने विवाद बढ्दै गएको छ ।

मधेश प्रदेशमा बैठक बसेर विवाद समाधान हुन नसकेपछि मंगलबार माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै संसदीय दलको बैठक बस्यो । तर, सो बैठकले पनि समाधान दिन सकेन ।

मंगलबार प्रचण्डसहित पार्टीका उपमहासचिव वर्षमान पुन र मातृका यादवको उपस्थिति दुई घण्टाभन्दा बढी चलेको बैठकमा केही सांसदले पदबाट राजीनामा समेत दिने चेतावनी दिएका छन् ।

सचिवालय स्रोतका अनुसार वर्तमानमा संसदीय दलका नेता भरतप्रसाद साह प्रति तीव्र असन्तुष्टि छ । उनलाई पदबाट हटाउनुपर्ने बहुमत सांसदहरूको माग गरेका छन् ।

माओवादीको मधेश प्रदेशमा ९ सांसद छन् । उनलाई दलको नेताबाट हटाउन लामो समयदेखि सांसदहरू आन्तरिक संघर्षमा छन् । १० महिनाअघि पनि ६ सांसदले हस्ताक्षरसहितको दलका उपनेता युवराज भट्टराईलाई बुझाएका थिए ।

माओवादी संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।

दलका नेता साहमाथि अर्थमन्त्री र गृहमन्त्री हुँदा आर्थिक अनियमितता गरेकोे, गत चैत अन्तिम साता मधेश प्रदेश सभा बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले गम्भीर आरोपहरू लगाएका थिए ।

एक सांसदका अनुसार प्रचण्डनिवासमा मंगलबार भएको बैठकमा सांसद सुनिता यादवले दलका नेताबाट साहलाई बर्खास्त नगरे आफूले राजीनामा दिने बताएकी थिइन् ।

‘साह जस्तो पात्रको नेतृत्वमा म अब बस्न सक्दिनँ । बरु अध्यक्षजीले मलाई राजीनामा दिन निर्देशन गर्नुस् । म राजीनामा दिन तयार छु’ उनले भनेकी थिइन् ।

अन्य सांसदहरूले पनि साहको नेतृत्व प्रति असन्तुष्टि पोखेका थिए । बैठकमा पार्टीका उपमहासचिव मातृकाप्रसाद यादव प्रति पनि असन्तुष्टि व्यक्त गरेको सहभागी एक सांसदले जानकारी दिए ।

‘यादवकै साथ पाएर साह अहिलेसम्म दलको नेतामा टिकिरहेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए । ‘साहलाई नै दलको नेता टिकाइरहनु भन्दा कुनै सांसदलाई राजिनामा गर्न लगाउनुस् । र त्यस क्षेत्रबाट तपाई उपचुनाव लडेर जितेर हाम्रो दलका नेता बन्नुस्,’ यादवलाई लक्षित गर्दै सांसद रहबर अन्सारीले आक्रोश पोखेको अर्का सांसदले जानकारी दिए ।

बैठकमा सबै ९ सांसद उपस्थित थिए । प्रदेश सांसद शारदा पहाडी मात्र दलका नेता साहको पक्षमा देखिएका ती सांसदले बताए । अन्य ६ सांसद विपक्षमा छन् भने दलका उपनेता भट्टराई तटस्थ छन् ।

सुनिता यादव, रहबर अंशारी, रजि हैदर, फकिरा महतो र माला कर्ण दलको नेताबाट साहलाई हटाउनुपर्ने पक्षमा छन् । उनीहरूले दलको नेताबाट साहलाई हटाएर मतदान प्रक्रियाबाटै अर्को नेता चयन गर्न वा अध्यक्ष प्रचण्डले तय गर्न आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्ड भने अहिले पनि साहलाई नै दलको नेतामा निरन्तरता दिने मनस्थितिमा रहेको एक सांसदले बताए । मंगलबारको बैठक निष्कर्षविहीन भएको ती सांसदले बताए ।

गत माघमै बस्ने भनिएको यो बैठक मधेशकेन्द्रित जनतासँग माओवादी जनजागरण अभियान सकिएपछि बसेको हो । अब १२ जेठमा बैठक बस्ने सहमति भएको एक सांसदले जानकारी दिए ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?