
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका धेरै स्वास्थ्य संस्थामा अत्यावश्यक निःशुल्क औषधि उपलब्ध छैनन्, जसले सेवाग्राहीहरूलाई प्रभावित बनाएको छ।
- औषधि आपूर्ति श्रृङ्खलामा समस्या, समन्वयको अभाव र बजेट व्यवस्थापनमा कमजोरीले निःशुल्क औषधि वितरणलाई प्रभावित बनाएको छ।
- सरकारले तोकेको आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि र सामग्रीको अभावले स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा समस्या आएको छ।
१ जेठ, काठमाडौं । नेपालका सयौं स्वास्थ्य संस्थामा अत्यावश्यक निःशुल्क औषधिको मौज्दात शून्य रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार २०८१ असोज ३० सम्मको तथ्यांक ९८ प्रकारका जीवनरक्षक औषधि सयौं स्वास्थ्य संस्थामा उपलब्ध नभएको पाइएको छ ।
प्रतिवेदनमा सिटामोल ३३०, अल्बेन्डाजोल ६७२, जीवनजल ७१८, मेट्रोनिडाजोल ६६६, आइरन चक्की ५७१ स्वास्थ्य संस्थामा औषधि नभएको उल्लेख छ ।
यो अवस्था स्वास्थ्य नीति २०७६ सबै तहका स्वास्थ्य संस्थाबाट तोकिए बमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत ९८ प्रकारका औषधि र १८ प्रकारका सर्जिकल सामग्री निःशुल्क उपलब्ध गराउने जनस्वास्थ्य सेवा नियमावलीमा उल्लेख गरेको छ ।
तर, अत्यावश्यक औषधि नियमित आपूर्ति हुन नसक्दा सेवाग्राहीहरू प्रभावित भएका छन् ।
देशभरि फैलिएका ७,५९९ स्वास्थ्य संस्थाहरू (जिल्ला अस्पताल ६३, आधारभूत स्वास्थ्य केन्द्र १,९३७, हेल्थ पोस्ट ३,७५), सामुदायिक स्वास्थ्य केन्द्र ८६२, नगर अस्पताल १३८, प्राथमिक स्वास्थ्य केन्द्र १६९, प्रादेशिक अस्पताल २१, र शहरी स्वास्थ्य केन्द्र ६५९० मार्फत निःशुल्क औषधि वितरण गर्ने व्यवस्था छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले औषधि आपूर्ति श्रृङ्खलामा गम्भीर समस्या रहेको औंल्याएका छन् ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव, खरिद प्रक्रियामा ढिलाइ र बजेट व्यवस्थापनमा कमजोरी प्रमुख कारणहरू रहेको उल्लेख छ ।
खरिद प्रक्रिया पारदर्शी नहुँदा अनियमितता बढेको र धेरै ठाउँमा औषधिको म्याद गुज्रिएकाले निःशुल्क औषधि वितरण प्रभावकारी हुन नसकेको छैन ।
आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले बाँड्दै आएको निःशुल्क औषधिको तथ्यांक स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूले नराख्नुले राज्यको बजेट दुरुपयोग भइरहेको आशंका उब्जाएको छ ।
प्रतिक्रिया 4