
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशले पर्यटकका लागि विद्युतीय सवारीसाधन (टुरिस्ट ईभी) को मापदण्ड तोकेको छ, जसमा सफारी, मध्यम र ठूलो वर्गका ईभीहरू समावेश छन् ।
- मापदण्ड अनुसार, सफारी ईभीहरूमा न्यूनतम सिट संख्या, ब्याट्री क्षमता, ग्राउन्ड क्लियरेन्स र रेंज जस्ता आवश्यकताहरू निर्धारण गरिएको छ, र सुरक्षा र सुविधा सुविधाहरू अनिवार्य छन् ।
- टुरिस्ट ईभी पिकअपका लागि १ टनभन्दा बढी पेलोड, सुरक्षा जाली, र पर्यटकको आराम र सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
१ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले पयर्टक विद्युतीय सवारी साधन (टुरिस्ट ईभी) का लागि पहिलो पटक मापदण्ड तोकेको छ ।
प्रदेशले आफ्नो प्रदेशमा दर्ता भएर सञ्चालन हुने ईभीका लागि ३ वटा वर्गमा मापदण्ड तोकेको हो । बागमतीले सफारी ईभी, मध्यम स्तरका टुरिस्ट ईभी र ठूला टुरिस्ट इभीका लागि मापदण्ड ल्याएको हो । यस्तै टुरिस्ट ईभी पिकअपका लागि पनि प्रदेश सरकारले मापदण्ड ल्याएको छ ।
सिटी, जिप र जंगल सफारीलाई छुट्टाछुट्टै मापदण्ड
सरकारले ल्याएको मापदण्डमा ईभी सफारी अन्तर्गत सिटी सफारी, जिप सफारी र जंगल सफारीको मापदण्ड तोकिएको छ । सफारी अन्तगर्त सिटी सफारी र जिप सफारीमा ५ देखि १४ सिट तथा जंगल सफारीमा कम्तीमा १४ सिट अनिवार्य गरिएको छ ।
यस्तै सिटी सफारीमा प्रयोग हुने ईभीको ब्याट्री कम्तीमा २० किलोवाट, जिप सफारीको ३० किलोवाट र जंगल सफारीको ४० किलोवाट अनिवार्य गरिएको छ ।
यस्तै ग्राउन्ड क्लियरेन्स सिटी सफारीको १६५ एमएम तथा जिप सफारी र जंगल सफारीको १८५ एमएम तोकिएको छ । यस्तै सफारीमा प्रयोग हुने ईभीको रेन्ज १ सय ५० देखि २ सय किलोमिटरसम्म अनिवार्य गरिएको छ भने हरेक ईभीमा कम्तीमा २ वटा एयरब्याग मापदण्डमा तोकिएको छ ।
सफारीमा प्रयोग हुने ईभीमा ईभीएस अनिवार्य गरिएको छ भने अटोमेटिक फिचर पनि अनिवार्य तोकिएको छ । पार्किङ सेन्सर, हाई स्पिड अलर्ट, पार्किङ भ्यु क्यामरा जस्ता अटोमेटिक ईभी फिचर हुनुपर्ने छ ।
मझौला टुरिस्ट ईभी : ५० किलोवाट भन्दा माथिको ब्याट्री
यस्तै मझौला टुरिस्ट ईभीमा बढीमा २५ सिट तोकिएको छ । हरेक गाडी ट्रान्समिसन अटोमेटिक तोकिएको छ । मझौला टुरिस्ट ईभीमा ५० किलोवाटभन्दा बढीको ब्याट्री, ८० किलोवाटको मोटरपावर तोकिएको छ । यस्तै १९० एमएमको ग्राउन्ड क्लियरेन्स तोकिएको छ ।
पार्किङ सेन्सर, हाइ स्पिड अलर्ट, पार्किङ भ्यु क्यामराजस्ता अटोमेटिक इभी फिचर हुनुपर्ने छ । यस्तै एसी र साउन्ड सिस्टमविना मझौला टुरिस्ट गाडी चलाउन नपाइने मापदण्ड आएको हो ।
ठूला टुरिस्ट ईभीमा २ सय एमएम ग्राउन्ड क्लियरेन्स
यस्तै ठूला टुरिस्ट ईभीमा पनि बागमती प्रदेश सरकारले मापदण्ड तोकेको छ । २६ सिट वा त्यसभन्दा बढी सिट क्षमता भएका ईभीलाई ठूला पर्यटकीय विद्युतीय सवारीमा राखिएको छ ।
यसका लागि कम्तीमा ९० किलोवाटको मोटरपावर भएको ईभी हुनुपर्ने छ भने ब्याट्रीको क्षमता ६० किलोवाट वा त्यसभन्दा बढी हुनुपर्ने उल्लेख छ । यस्तै २ सय एमएमको ग्राउन्ड क्लियरेन्स हुनुपर्ने छ ।
त्यस्तै डबल एयरब्याग अनिवार्य गरिएको छ । एबीएस अनिवार्य तोकिएको छ भने पार्किङ सेन्सर, हाइ स्पिड अलर्ट, पार्किङ भ्यु क्यामराजस्ता अटोमेटिक ईभी फिचर हुनुपर्ने छ । यस्तै एसी र साउन्ड सिस्टमविना ठूला टुरिस्ट गाडी चलाउन नपाइने मापदण्ड आएको हो ।
टुरिस्ट ईभी पिकअपमा के–के छ मापदण्ड ?
बागमती प्रदेश सरकारले तोकेको टुरिस्ट ईभी मापदण्डमा पिकअपका लागि १ टनभन्दा बढी पेलोड अनिवार्य गरिएको छ ।
यस्तै पर्यटकलाई जंगल सफारी पिकअपको पछिल्लो खुला भागमा पर्यटक बस्ने आरामदायी सिटको व्यवस्था गर्नुपर्ने व्यवस्था तोकेको छ । पर्यटकलाई जंगली जनावरको आक्रमणबाट बचाउन फलामको सुरक्षित जाली (३० एमएमभन्दा बढीको ) लगाउनु पर्ने छ । चालक पछाडिको सिटको दुवैतर्फको झ्यालमा दुई लाइनमा (३० एमएमभन्दा बढी स्क्वायर/गोलो) फलामको बार जडान गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै पर्यटकलाई सुरक्षाका उपकरण (टर्चलाइट आदि) उपलब्ध गराउनुपर्ने छ तर जंगली जनावरलाई हानि नोक्सानी गर्ने कुनै पनि उपकरण, धारिला वस्तु उपलब्ध गराउन नपाइने उल्लेख छ ।
प्रतिक्रिया 4