
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्ष २०८१/८२ मा निर्माण क्षेत्र २.२१ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ।
- सिमेन्ट उद्योगले माग र लागत घटाउने प्रयासले नोक्सानी कम गरेको छ।
- भूकम्पपछिको पुनर्निर्माण र सडक निर्माणले सिमेन्टको माग बढाएको छ।
५ जेठ, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा २.२ प्रतिशत ऋणात्मक रहेको निर्माण क्षेत्र यो वर्ष सोही हाराहारीमा धनात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यो आर्थिक वर्ष २०८१/८२ मा यो क्षेत्र २.२१ प्रतिशतले विस्तार हुनेछ । यसले निर्माण क्षेत्र केही सल्बलाउन खोजेको संकेत गरिरहेको छ । त्यस्तै सेयर बजारमा सूचीकृत रहेका चार सिमेन्ट उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणले पनि सकारात्मक संकेत देखाएको छ ।
सूचीकृत चार कम्पनी सर्वोत्तम, शिवम्, घोराही र सोनापुरको कुल बिक्री आम्दानी बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार उद्योगले कुल १७ अर्ब ४९ करोडको सिमेन्ट बिक्री गरेका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बिक्री आम्दानी १४ अर्ब ८२ करोड रुपैयाँ थियो । बिक्री आम्दानी बढेपछि नाफामा पनि सुधार आएको छ ।
सूचीकृत ४ कम्पनीमध्ये दुईले नोक्सानी घटाएका छन् भने बाँकी दुईले नाफा बढाएका छन् । समग्रमा गत वर्ष ऋणात्मक रहेको ४ सिमेन्ट उद्योगको कुल नाफा यो पटक धनात्मक भएको छ ।
२०७२ सालको भूकम्पपछि संरचना पुनर्निर्माणका लागि ठूलो परिमाणमा निर्माण सामग्रीको जरुरत पर्यो । त्यही माग पूर्ति गर्नका लागि सिमेन्ट उद्योग थपिए, सञ्चालन भइरहेकाले पनि आफ्नो क्षमता बढाए ।
करिब ६ वर्षसम्म राम्रो बिजनेस गरेका सिमेन्ट उद्योग २०७९ पछि समस्यामा परे । भूकम्पको पुनर्निर्माण सकिएपछि ह्वात्तै माग घट्यो, तर क्षमता विस्तार भएकाले उत्पादन बढी भयो ।
उत्पादनलाई निश्चित समयभित्र बिक्री गर्नुपर्ने बाध्यता थियो, मूल्य घटाएरै बजार पठाए । चालु वर्षको पहिलो त्रैमाससम्म पनि आफूहरुले लागतभन्दा सस्तो मूल्यमा सिमेन्ट बेच्न बाध्य भएको सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारु बताउँछन् ।
‘उत्पादन भइसकेको सिमेन्ट निश्चित अवधिभित्र बेच्नैपर्ने बाध्यता हुन्छ, त्यसकारण लागतभन्दा पनि सस्तोमा हामी बेच्न बाध्य भयौं’ उनले भने । यसले उपभोक्तालाई सिमेन्टको मूल्यमा राहत त पुग्यो तर उद्योगहरु नोक्सानीमा गए ।
त्यति मात्रै होइन, एकल अंकमा हुँदा लिएको बैंकको ब्याजदर उद्योगीले करिब दोब्बरसम्म तिर्न बाध्य भए । एकातिर बैंकको ब्याजदर नै चर्को पर्नु, अर्कोतिर उत्पादन बिक्री नै ठप्प हुनुले पोहोरसम्म अवस्था निकै नाजुक रहेको उद्योगी बताउँछन् ।
‘चालु वर्षको पहिलो त्रैमाससम्म नै अवस्था नाजुक रह्यो, अहिले ब्याज घट्दा राहत मिलेको छ, बिक्री परिमाण बढाउन अझै चुनौतिपूर्ण छ’ अध्यक्ष मारुले भने ।
मुलुकभर करिब ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये ७० प्रतिशत उद्योग अझै पनि ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको उद्योगी बताउँछन् । विद्युत् कटौती, कोइलाको अभाव, उत्पादनको माग पक्ष कमजोर हुनु नै अहिलेको प्रमुख चुनौती रहेको उद्योगीको भनाइ छ ।
सिमेन्टमा अहिले पनि उच्च प्रतिस्पर्धा छ, उत्पादनको लागतमा न्यून मार्जिन राखेर बेच्नुपर्ने अवस्था रहेको सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् ।
यद्यपि पोहोरको तुलनामा अहिले सिमेन्टको बिक्री केही बढेको न्यौपाने बताउँछन् । ‘पोहोर झनै कठिन अवस्था थियो, अहिले केही सुध्रिएको जस्तो देखिन्छ’ उनले भने ‘तर अहिलेको बिक्री पनि थोरै नै हो ।’
यतिबेला निर्माणको सिजन पनि रहेकाले सिमेन्टको बिक्री बढेको न्यौपाने बताउँछन् । अब सडकमा ढलानलाई प्राथमिकता दिएर राज्यले नै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्ने उद्योगी बताउँछन् । ‘सडक निर्माणका क्रममा ढलानलाई प्राथमिकता दिने हो भने यहींको उत्पादन खपत हुन्छ, टिकाउ पनि हुन्छ’ मारुले भने ‘सिमेन्ट उद्योग पनि सर्भाइभ हुन्छन् ।’
पछिल्लो समय विभिन्न ब्राण्डका सिमेन्ट भारत निर्यात हुने गरेको छ । तर भारतले सिमेन्टको गुणस्तर प्रमाणपत्र (बीआईएस) नवीकरण नगर्दा केही ब्राण्डको निर्यात रोकिएको छ । दुई–दुई वर्षमा बीआईएस नवीकरण गर्नुपर्ने व्यवस्था छ । केही सिमेन्टको बीआईएस म्याद जुलाई महिनामा सकिँदैछ ।
स्वदेशी सिमेन्ट निर्यातमा राज्यले ८ प्रतिशतसम्मको अनुदान दिने घोषणा गरेको छ । यो अनुदान घोषणापछि उद्योगीले सरकारको प्रशंसा गरे, सिमेन्ट निर्यातका लागि पहल गरे ।
तर निर्यात भइसकेपछि अहिले सरकारबाट पाउनुपर्ने अनुदान रकम नपाएको संघले जनाएको छ । ‘अनुदान दिने भनिए पनि अहिलेसम्म पाएका छैनौं’ अध्यक्ष मारुले भने ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १ अर्ब ५५ करोड रुपैयाँ बराबरको पोर्टेबल सिमेन्ट निर्यात भएको छ । पोहोरको तुलनामा सिमेन्ट निर्यात बढेको छ । पोहोर यसै अवधिमा १ अर्ब ४९ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । सिमेन्ट निर्यात बढे पनि क्लिंकरको निर्यात घटेको छ । पोहोर १ अर्ब ४७ करोडको क्लिंकर निर्यात भएकोमा चालु आवको ९ महिनामा ६४ करोडको मात्रै निर्यात भएको छ ।
सिमेन्ट उद्योगलाई प्रोत्साहन दिनका लागि सडकमा कालोपत्र गर्नुको साटो ढलान गर्नुपर्ने र राज्यका भौतिक संरचना निर्माणमा स्वदेशी सिमेन्टलाई अनिवार्य गर्नुपर्ने उद्योगी बताउँछन् । ढलान गरिएको सडक धेरै वर्ष टिक्ने र त्यसले स्वदेशी उद्योगलाई पनि राहत पुग्ने मारुको भनाइ छ ।
‘विकासे सिजन’ भएकाले चैत, वैशाख, जेठ र असारमा सिमेन्टसहित निर्माण सामग्रीको बिक्री केही बढी हुने गर्दछ । समयमै पूँजीगत खर्च बढाउँदै गएमा सिमेन्टसहित निर्माण सामग्रीको बिक्री पनि बढ्ने बुझाइ उद्योगीको छ ।
तर चालु आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा पूँजीगत खर्च भने जम्मा ३४ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । अर्कोतर्फ निर्माण व्यवसायीले आयोजनाको समयमै भुक्तानी हुन नसकेको गुनासो गर्दै आएका छन् । जसको सिधा प्रभाव उद्योगसम्म पर्दै आएको छ ।
प्रतिक्रिया 4