+
+
Shares

यस्तो विमानस्थल, जहाँ ३० वर्षमा एउटा पनि ब्यागेज हराएको छैन

एजेन्सी एजेन्सी
२०८२ जेठ ७ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्साई अन्तर्राष्ट्रिय विमानस्थलले ३० वर्षदेखि यात्रुका ब्यागेज हराउने घटना रोक्न सफल भएको छ।
  • विमानस्थलले यात्रुहरूको सामान व्यवस्थापनमा अत्यन्तै कुशल प्रणाली अपनाएको र आठपटक \'सर्वश्रेष्ठ ब्यागेज डेलिभरी\' पुरस्कार जितेको छ।
  • अन्तर्राष्ट्रिय स्तरमा यसको सफलता जापानी आतिथ्य संस्कृतिको परिणाम हो, तर विमानस्थलको भास्ने खतरा छ।

यात्रुका ब्यागेज तथा सामान हराउनु कतिपय विमानस्थलहरूको लागि सामान्य कुरा हुन्छ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पनि यात्रुहरुका ब्यागेज हराउने वा ब्यागेज फोडेर सामान लुटिएका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

नेपालमा मात्र होइन, संयुक्त राज्य अमेरिकाको परिवहन तथ्यांक ब्यूरोका अनुसार, त्यहाँका घरेलु उडानहरूले हरेक वर्ष यात्रुहरुका करिब ३० लाख झोला हराउँछन्।

वास्तवमा करोडौं ब्यागेज सम्भाल्नुपर्ने अवस्थामा केही थान ब्यागेज वा सामान सामान हराउनु स्वाभाविक जस्तो देखिन सक्छ । तर, जापानको एक व्यस्त विमानस्थलले आफ्नो तीन दशक लामो सेवा अवधिमा एकपटक पनि यात्रुको सामान हराउन नदिएको दाबी गरेको छ।

कान्साई अन्तर्राष्ट्रिय विमानस्थलले हरेक वर्ष लाखौं यात्रुहरूलाई स्वागत गर्छ, तर यस विमानस्थलले यस्तो प्रणाली विकास गरेको छ जसले यात्रुको सामान कहिल्यै हराउन दिँदैन।

ओसाका सहरलाई सेवा दिने कान्साई अन्तर्राष्ट्रिय विमानस्थल सन् १९९४ को सेप्टेम्बरबाट सञ्चालनमा आएका हो । यो विमानस्थलले अत्यधिक भीड भएको ओसाका अन्तर्राष्ट्रिय विमानस्थलको भार कम गर्न मद्दत पुर्‍यायो । त्यसयता यो विमानस्थलले हरेक वर्ष लाखौं यात्रुहरूलाई सेवा दिंदै आएको छ।

यहाँको कर्मचारी टोली यात्रुहरूको सामान व्यवस्थापनमा अत्यन्तै कुशल मानिन्छ। उनीहरू आफ्नो काममा यति जिम्मेवार छन् कि अहिलेसम्म एकपटक पनि यात्रुको ब्यागेज हराएको छैन ।

जापानको सातौं अति व्यस्त विमानस्थलका रूपमा चिनिने कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक वर्ष २ देखि ३ करोड यात्रु आउजाउ गर्छन्। तर, यसको अद्भुत रेकर्ड धेरै यात्रु संख्याका कारण भने होइन ।

यसको रहस्य गज्जब तरिकाले व्यवस्थापन गरिएको एक प्रणालीमा छ, जसमा यात्रुका झोलाहरू यसरी राखिन्छन् कि न त तिनीहरू बिग्रिन्छन्, न त गन्न गाह्रो हुन्छ। अनि गन्ने काम एकपटक होइन, धेरैपटक गरिन्छ।

निक्केई एसियाले कान्साई विमानस्थलको यात्रुका ब्यागेज व्यवस्थापन प्रक्रिया अध्ययन गर्दा देखाएको छ कि त्यहाँका कर्मचारीहरूले जहिले पनि आगमनमा आएका ब्यागेजको संख्या प्रस्थानमा चेक-इन गरिएको संख्याबाट मिल्छ कि मिल्दैन भनेर सावधानीपूर्वक जाँच गर्छन्। यदि केही झोला भेटिएन भने तुरुन्तै विमानको कार्गो होल्ड वा स्क्रिनिङ कोठामा खोज्ने काम सुरु हुन्छ।

यो प्रणालीको उद्देश्य केवल कुनै पनि झोला हराउन नदिनु मात्रै होइन, विमान ओर्लिएको १५ मिनेटभित्र सबै ब्यागेज यात्रुहरूसम्म पुर्‍याउनु पनि हो।

३० वर्षको अवधिमा एकपटक पनि यात्रुको सामान हराउन नदिएको कीर्तिमानमाथि, कान्साई अन्तर्राष्ट्रिय विमानस्थलले ‘सर्वश्रेष्ठ ब्यागेज डेलिभरी’को अन्तर्राष्ट्रिय पुरस्कार आठपटक जितिसकेको छ। यहाँका कर्मचारीहरू यात्रुलाई खुसी बनाउने र उनीहरूलाई फेरि फर्केर आउन प्रेरित गर्ने उत्कृष्ट सेवा दिनुमा गर्व गर्छन्।

उनी भन्छन् – हामी प्रत्येक दिन केही न केही सिक्ने र सुधार गर्ने प्रयासमा लागिरहेका छौं, ताकि यात्रुहरू सन्तुष्ट र खुसी होऊन्। मलाई लाग्छ यो जापानी आतिथ्य संस्कृतिको आत्मा हो ।

दुर्भाग्यवश, कान्साई अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो अद्वितीय कीर्तिमान अझ धेरै समयसम्म कायम राख्न नसक्ने सम्भावना छ, किनभने यो केही दशकपछि अस्तित्वमै नहुन सक्छ।

ओसाका खाडी क्षेत्रमा बनाइएका दुई कृत्रिम टापुहरूमा निर्माण गरिएको यो विमानस्थल सञ्चालनमा आएको समयदेखि नै क्रमशः बिस्तारै भासिँदै गएको छ र भासिने दर उच्च छ ।

यो विमानस्थ्ललाई पानीबाट जोगाउनका लागि वरिपरि समुद्री पर्खाल बनाइएको भए तापपनि यदि यो भासिने क्रम रोकिएन भने सन् २०५६ सम्ममा यो प्रयोगहीन हुने बताइएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?