+
+
Shares

४० वर्षपछि लुः हिति पुनर्निर्माण गर्दै कामपा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १८:४५

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४० वर्षपछि लुः हिती पुनर्निर्माण गर्ने भएको छ ।

लुः हितिलाई कोहितिमा आउने पानीको स्रोतसँग जोडेर पुनरुत्थान गर्न लागेको महानगर उपप्रमुख सुनिता डंगोलले बताइन् ।

अनुगमन समिति संयोजक समेत रहेकी डंगोलले सहर विकास हुँदै गर्दा क्षति भएको जल प्रणाली (ब्लु ल्यान्डस्केप) जोगाउने योजना महानगरको प्राथमिकतामा रहेको बताइन् ।

२० नम्बर वडाको भीमसेन स्थानमा रहेको लुः हितिको अवस्था र तबो भिन्द्या त्वाः गुथि निर्माण कार्य अनुगमन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘नदी, पोखरी, तलाउ, धारा लगायत पानीजन्य प्रणाली (ब्लु ल्यान्डस्केप) र बगैँचा, पार्क, खुला हरियाली स्थानजस्ता ग्रिन ल्यान्डस्केपले सहरलाई जीवन्त बनाएका हुन्छन् । पुर्खाले यी दुवै पक्षको सुरक्षा र पुस्तान्तरणका लागि समुदाय स्तरमा संयन्त्र बनाएका हुन्थे । शासन प्रशासन सुधार हुने क्रममा यस्ता सम्पत्ति संरक्षणको काममा सामयिक सुधार भएन । यसकारण सहर बढेसँगै यस्ता सम्पत्तिमा क्षति हुँदै गयो,’ उनले भनिन्, ‘संस्कृति, सम्पदा र स्थानीय रहनसहनका अभिन्न यी अंग छुटेपछि सहरबाट हराउँदै गएको जीवन्त रस पुनरुत्थान गरिरहेका हौं । लुः हितिलाई कोहितिसँग पानीको स्रोतमा जोडेर गरिने पुनरुत्थानले ४० वर्षअघि गुमेको हितिको अस्तित्व फर्किने छ ।’

सहरी संरचना निर्माण गर्दा महानगरले पर्यावरणीय चक्र (इकोलोजिकल) अवस्था नवीकरण र सामाजिक, सांस्कृतिक पक्षको सम्बन्ध जोगाउँदै जाने उनको भनाइ छ ।

महानगर गौरव योजना ‘सबैको चाहना, ढुंगेधारा हिति र पोखरी पुनस्र्थापना’ अन्तर्गत हितिभित्र जमेको पानीलाई निकासा दिन १२ इन्चको पाइपबाट १ सय २७ मिटर लामो निकास प्रणाली निर्माण गरिसकिएको छ ।

परोपकार अनाथालयतर्फबाट बनाइएको यो प्रणालीमा निकास जोडेपछि हितिमा जमेको पानी बाहिर निकाल्न सकिन्छ । अनुगमन क्रममा पानी निकास प्रणाली र नदी प्रणालीसँगको सम्बन्धबीचको संरचनागत अवस्था हेरिएको थियो ।

हिति पुनरुत्थानका लागि करिब आधा किलोमिटर दुरीमा रहेको कोहितिमा आउने पानीको स्रोतसँग ५० मिलिमिटरको पाइप जोडिने छ । यसपछि हितिभित्रका संरचना र सुन्दरता पुनस्र्थापनाको काम हुनेछ ।

यी सबै काम करिब ७५ लाख रुपैयाँमा पुरातात्विक हिति संरक्षण उपभोक्ता समितिले सम्पन्न गर्ने गरी सम्झौता भएको सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले जानकारी दिइन् ।

काम सम्पन्न गर्नुपर्ने अवधि ३० मंसिर २०८२ भित्र हो । यसका लागि सम्पदा तथा पर्यटन विभाग र उपभोक्ता समितिबीच २५ माघ २०८१ मा सम्झौता भएको थियो ।

लुः हिति १६औं शताब्दीमा निर्माण भएको संरचना हो । ३४.९ फिट लम्बाइ र ३२ फिट चौडाइ भएको हितिको पूर्वमा गोरेटो बाटो, पश्चिममा परोपकार अनाथालय, उत्तरमा भवनहरू र दक्षिणमा विष्णुमतीतर्फ जाने पक्की सडक छ । हितिबाट पानीको निकास नभएकाले अहिले यो हितिजस्तो नभई आधा पानी भएको पोखरीजस्तो देखिएको छ । पानीमा कमलका फूल फक्रिएका छन् । वरिपरि झार र आफैं पलाएका रैथाने फूल फुलेका छन् । यसको मौलिक स्वरूप फर्काउन महानगरपालिकाले काम थालेको हो ।

करिब ३ आना जमिनमा निर्माण भइरहेको भिन्द्या त्वाः गुथि ४ तले भवन हो । प्रदेश सरकारको सहयोगमा तीन तला ढलानको काम भएको थियो । ढलान बाहेक पर्खाल बनाउने, प्लास्टर तथा रङ लगाउने र एक तला थप गर्ने कामका लागि महानगरको सम्पदा तथा पर्यटन विभागले सहयोग गरेको हो । यसको लागत करिब ६८ लाख रुपैयाँ छ ।

‘यस्ता सामुदायिक संरचना सरकारका निकायबाट सहयोग लिएर निर्माण हुन्छन् । निर्माण भएपछि समुदायका लागि भन्दा व्यावसायिक प्रयोजनमा ल्याउने गरिएको देखिएको छ । यसो गरिनु हुँदैन,’ अनुगमनपछि वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘यस्ता भवन सामुदायिक क्रियाकलापबाट आपसी सम्बन्ध बढाउने प्रयोजनमा ल्याउनुपर्छ ।’

भवन निर्माण गर्न १७ असोज २०८१ मा आधृत कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । निर्माण कार्य २६ जेठ २०८२ मा सम्पन्न गरिसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?