
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र पाकिस्तानबीचको संघर्षको अन्त्य दुई देशबीचको सहमतिमा भएको बताए।
- उनले अमेरिकी भूमिका र दबाबको नभएको र द्वन्द्वको सुरुवात पाकिस्तानी सेनाले गरेको बताएका छन्।
- जयशंकरले संघर्ष विरामका लागि पाकिस्तानले लडाइँ रोक्न चाहेको जानकारी दिएको बताए।
८ जेठ, काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले भारत र पाकिस्तानबीच हालैको संघर्षको अन्त्य दुई देशबीच आपसी सहमतिमा भएको पुनः दोहोर्याएका छन्।
जयशंकरले यो प्रक्रिया अन्तर्राष्ट्रिय मध्यस्थता खासगरी अमेरिकाको भूमिका र दबाबमा आधारित नभएको बताएका हुन् ।
नेदरल्यान्ड्सको सञ्चार माध्यम एनओएससँगको अन्तर्वार्ताका क्रममा उनले भने, ‘दुई देश द्वन्द्वमा मुछिएका बेला संसारभरिका मुलुकहरूले फोन गरेर चिन्ता व्यक्त गर्नु सामान्य कुरा हो । तर, गोलीबारी र सैन्य कारबाही रोक्ने विषयमा भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ता भएको थियो।’
भारतका विदेशमन्त्री जयशंकर मंगलबार र बुधबार डेनमार्क भ्रमणमा थिए । यसै क्रममा उनले नेदरल्यान्ड्सको एनओएसलाई अन्तर्वार्ता दिँदै भारत-पाकिस्तान संघर्ष विराममा अमेरिकी भूमिका र दाबीको खण्डन प्रयास गरेका हुन् ।
उनका अनुसार संघर्ष विरामका लागि वार्ताको सुरुवात १० मेमा पाकिस्तानी सेनाले गरेको थियो ।
भारत र पाकिस्तानबीचको हालको द्वन्द्वबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक दुवै पक्षबीचको ‘युद्धविराम’ मा आफ्नो भूमिका रहेको दाबी गर्दै आएका छन् ।
तर, जयशंकरले भने, ‘हामीले अमेरिका मात्र होइन, हामीसँग कुराकानी गर्ने सबै पक्षलाई एउटा कुरा स्पष्ट रूपमा यदि पाकिस्तानले लडाइँ रोक्न चाहन्छ भने, उनीहरूले हामीलाई भन्नुपर्छ भनेका थियौं । उनका जनरलले हाम्रा जनरललाई फोन गरेर यो कुरा भन्नुपर्छ पनि भनेका थियौं र भएको पनि त्यही हो ।’
उनले अगाडि थपे, ‘यही सन्देश पाकिस्तानी सेनाले पठाएको थियो र उनीहरू गोलाबारी रोक्न तयार रहेको बताएपछि हामीले त्यसअनुसार प्रतिक्रिया जनायौं।’
प्रतिक्रिया 4