+
+
Shares

युवा संघ महाधिवेशनमा नेताहरूको एक स्वरः एमालेमाथि हमला भइरहेको छ

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीदेखि महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेतसम्मले भने, ‘एमाले र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, जनताबाट एमालेलाई अलग्याउने प्रयास भइरहेको छ ।’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ जेठ ९ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
  • नेकपा एमालेका नेताहरूले सामाजिक सञ्चालबाट भइरहेको प्रहार र राजावादी समूहप्रति आक्रोश व्यक्त गरे।
  • युवा संघको महाधिवेशनले एमाले र नेतृत्वमाथि भइरहेको आक्रमणको सामना गर्न नयाँ परिभाषासहित अघि बढ्ने संकल्प गर्यो।

९ जेठ, पोखरा । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतसम्मले सन्देश छोडे, ‘एमाले र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, जनताबाट एमालेलाई अलग्याउने प्रयास भइरहेको छ ।’

राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा ओली सहितका नेताले अहिले एमालेमाथि आक्रमण गर्ने, बद्नाम गराउने काम भइरहेको बताएका हुन् ।

एकातिर युवा संघको अधिवेशनमा नेतृत्वका निम्ति देखिएका आकांक्षीहरूप्रति ओली कसरी प्रस्तुत हुन्छन् भन्ने चासो उपस्थित एमाले नेता कार्यकर्तातिर थियो भने अर्कोतिर एमालेको आगामी नीति र सरकारको आयुबारे पनि नेता कार्यकर्तामा जिज्ञासा थियो । पछिल्लो समय एमालेप्रति हमला बढ्दै गएको नेताहरूले बताउँदा ओली कसरी प्रस्तुत हुन्छन् र नेता–कार्यकर्तालाई के सन्देश देलान् भन्ने जिज्ञासा देखिएको थियो ।

युवा संघको उद्घाटन सत्रमा बोल्ने प्रधानमन्त्री ओलीसहित अधिकांश नेता रक्षात्मक रूपमा प्रस्तुत भए भने राजावादी समूह र नेकपा माओवादी केन्द्र तथा अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रामक सुनिए । सत्ता साझेदार दलप्रति अन्य नेताहरू मौन रहे भने प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवा सभापति हुने दाबी गरे ।

माओवादी अध्यक्ष प्रचण्डसहित १/२ जना मान्छेहरूले सरकार ढल्यो ढल्यो भनिरहेकोतिर इंगित गर्दै ओलीले १० महिनादेखि बिहानै बेलुकै कराइराखेको जिकीर गरे । ‘सरकार ढल्ने होइन, अब १४ महिनापछि मैले राजीनामा गर्छु । त्यसपछि नेपाली कांग्रेसका शेरबहादुर देउवाले नेतृत्व गर्नुहुन्छ,’ ओलीले जोड दिएर भने, ‘यो स्पष्ट छ, हाम्रो सहमति भएको छ, देउवाजीले नेतृत्व गर्नुहुन्छ । हामी सरकारमै सहभागी हुन्छौं र चुनाव गराउँछौं ।’

सबैजसो नेताहरूले युवाको महाधिवेशनमा सर्वसम्मतिको रटान लगाए भने एमालेको रक्षाका निम्ति तयार रहन आह्वानसमेत गरे । पछिल्लो समय सामाजिक सञ्चालबाट एमालेप्रति हमला भइरहेको र नेतृत्वप्रति बद्नाम गराउने काम भइरहेको अधिकांश नेताहरूको चिन्ता थियो ।

एमालेमाथि चौतर्फी प्रहार भइरहेकाले प्रतिरक्षाका निम्ति तम्तयार रहन युवाहरूलाई निर्देशन दिएका ओली राजावादी समूहप्रति बढी केन्द्रित रहे । आगामी १५ गते राजावादीहरूले राजतन्त्र फर्काउने उद्घोषसहित प्रधानमन्त्रीले देश छोडेर भाग्न हेलिकप्टर सुविधा दिने भनेर ३ दिनअघि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ओलीले ब्यंग्यसहित जवाफ दिए ।

१५ गते देशमा राजालाई ल्याएर सिंहासनमा राख्ने होइन, घरमै सिंहासन बनाएर राख्न ओलीले आग्रह गरे । ‘देशको राजसिंहासनको कल्पना, कस्तो दिमाग होला भन्या ? नेपाली जनताले राजतन्त्र उल्ट्याएर कहाँ फालिसक्यो । संविधान अर्को बनिसक्यो । संविधान छ, संसद छ, राष्ट्रपति छ, न्यायालय छ, व्यवस्था छ लोकतान्त्रिक र हामी छौं,’ ओलीले भने, ‘हामी छँदै छौं यस देशमा फेरि राजतन्त्र ल्याउँछौं भन्छन् । त्यो सपना देखिरहेका छन् । १५ गते ल्याउने अरे । कस्ता सपना देख्छन् उनीहरू ।’

ओलीले राजा ल्याउने भनेर नेतृत्व गरिरहेका कास्कीकी जगमान गुरुङप्रति पनि लक्ष्य गर्दै जवाफ दिए । जगमानले ज्ञानेन्द्रको कुण्डली हेरेर राजातन्त्र ल्याउने आन्दोलन सुरु भएकोप्रति इंगित गर्दै आफ्नो पनि कुण्डली हेर्न आग्रह गरे ।

‘मैले पनि गुरुजी गुरुजी भनेका प्रज्ञा प्रतिष्ठानका उपकुलपति बनाएका गुरुङजी ज्योतिष हेर्नुहुन्थ्यो । ज्ञानेन्द्रको कुण्डली हुर्नुभयो रे उहाँले, राजा भइहाल्ने देख्नुभयो रे,’ उनले भने, ‘उहाँलाई मेरो पनि कुण्डली पठाइदिन्छु, मेरो पनि कुण्डली हेर्नुस् अनि थाहा हुन्छ । एउटाको कुण्डली हेरेर हुन्छ ।’

ओलीले राजावादीहरूको आवाजलाई भदौको भ्यागुटाको ट्वाँरट्वाँरको संज्ञा दिए । भदौ सकिएसँगै त्यो आवाज पनि सकिने ओलीको भनाइ थियो ।

उद्घाटन भाषणको लामो समय राजावादी समूहप्रति आक्रोसित सुनिएका ओलीले पोखराबाटै राप्रपा अध्यक्षलाई पनि जवाफ दिए । प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर सुविधा दिने बताएका लिङ्देनलाई उत्ताउलो केटाको संज्ञा दिए ।

‘केके सपना देख्न थाले यिनीहरूले, केके सपना देख्न थाले । हेलिकप्टरको सुविधा दिने कसले बोल्या हो मैले त्यति याद गरिनँ तर एउटा उत्ताउलै मान्छे कसैले बोल्याछ,’ ओलीले भने । ओलीले यस्तो प्रयास रोक्ने अग्रभागमा एमाले रहने भन्दै युवालाई पनि तयार रहन आग्रह गरे ।

‘सबैभन्दा यही पार्टीमाथि घेरेर प्रहार भइरहेको छ, भइरहेको छ । यसलाई हामी पराजित गर्ने छौं । साथीहरू यसका निम्ति आआफ्ना ठाउँमा स्पष्ट र तयारी अवस्थामा रहन उनले आग्रह छ। त्यस्ता प्रयासलाई नियन्त्रणमा लिन प्रयास गरौं,’ ओलीले युवाहरूलाई निर्देशन दिए ।

आज सबैभन्दा ठूलो एमालेमाथि आन्तरिक र बाह्य सबै खालका शक्तिहरूको, विरोधीहरूको तीव्र आक्रमण भइरहेको र चर्को हमला भएको ओलीले दोहोर्‍याइ रहे । एमालेलाई अनेक झट्टा आरोप लगाउने, एमालेले असाधारण काम गरिरहेकाले नेतृत्वमाथि केन्द्रित गरेर प्रहार र आरोप लगाउने काम भइरहेको उनको भनाइ थियो । अनेक झुटा आरोपहरूमार्फत जनताबाट अलग्याउने काम भइरहेको ओलीको सन्देश थियो ।

माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै बिहान–बेलुका बर्बराइरहेको ओलीको टिप्पणी थियो । युवाको महाधिवेशनमा सर्वसम्मत गर्न ओलीले जोड दिएर दोहोर्‍याइरहेका थिए ।

महासचिव शंकर पोखरेलले पनि अहिलेको समयमा सबैभन्दा बढी एमालेमाथि आक्रमण भइरहेको नै जोड दिए । उनले राजावादीहरूले जनतालाई दिग्भ्रमित गर्ने काम गरिरहेको जिकीर गरे । एमालेमाथि प्रहार गरेर कमजोर बनाउने र राजावादीहरूलाई उचाल्ने काम इरहेको उनको भनाइ थियो ।

‘आज राजावादीहरू जनताको सम्प्रभूता खोस्न षडयन्त्र गरिरहेका छन्, हामीले भन्नुपर्दछ, यो किमार्थ सम्भव छैन । राजावादी आन्दोलन भनेको जनताविरोधी आन्दोलन हो,’ महासचिव पोखरेलको जोड थियो ।

एमालेमाथि वर्तमान सरकारमाथि, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विविध कोणबाट साइबर हमला भइरहेका बेलामा राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनले युवा आन्दोलन नयाँ परिभाषासहित अगाडि बढ्ने संकल्प गर्नुपर्ने केन्द्रीय सदस्य महेश बस्नेतको भनाइ थियो ।

‘आज नेकपा एमालेमाथि किन प्रहार भइरहेको छ, एमालेमाथि भइरहेका प्रहारमाथि युवाले किन सामना गर्नुपर्नेछ ? महाधिवेशनले गम्भीरताका साथ छलफल गर्ने छ,’ बस्नेतको जोड थियो । बस्नेतले माओवादीलाई आपराधिक मात्रै भनेनन् प्रचण्ड सत्ता नपाएर छट्पटाइरहेको आरोप पनि लगाए ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति नेकपा एमालेलाई घेराबन्दी गर्न खोजिरहेको उनको जोड थियो । ‘केपी ओलीलाई घेराबन्दी गर्न खोज्दैछन् । अब मरेको राजतन्त्र फर्काएर फेरि राज गर्न सकिन्छ भनेर दुर्गा प्रसाईंजस्ता अपराधीलाई बोकेर, राजेन्द्र लिङ्देनजस्तो व्यक्ति जो एमालेको वैशाखीमा सांसद हुन्छ । अनि हाम्रा अध्यक्षलाई हेलिकप्टर दिएर बाहिर पठाउने भन्दै छ,’ बस्नेतले भने, ‘धोती न टोपीसँग यो देशबाट भाग्ने तिम्रा दिनहरू आउँदै छन् । ज्ञानेन्द्र नारायणीहिटी संग्राहलयमा टिकट काटेर हेर्न जाने हुने छन् ।’

केन्द्रीय सदस्य तथा युवा संघका इन्चार्ज राजीव पहारीले पनि अहिले चौतर्फी घेराबन्दी भइरहेको बताए । उनले युवा संघमा सर्वसम्मत गर्दै एक भएर नेतृत्वमाथि भइरहेको प्रहारको प्रतिकार गर्ने जिकीर गरे ।

नयाँ नेतृत्वसमेत चयन गर्ने राष्ट्रिय युवा संघको महाविधेशनबाट ओलीदेखि सबैजसो नेताले अहिले चौतर्फी प्रहार भइरहेकोमा प्रतिरक्षा गर्नुपर्ने अवस्थामा एमाले रहेको स्पष्ट रुपमै बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र राजावादीहरूको आन्दोलन पनि अर्को चुनौतिका रुपमा देखा परेकाले त्यसको विरुद्धमा उभिन युवाहरूलाई नेताहरूले आग्रह गरेका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?