+
+
Shares

१५ जेठमा सडक कब्जा गरेर एमालेले गणतन्त्र ‘जोगाइदिने’ !

राजावादीले आन्दोलन थाल्ने तिथिमै एमालेले आफ्ना कार्यकर्ता सडकमा उतारेर भिड्न उक्साउन खोजेको छ । यसबाट शान्तिपुर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको हननमात्रै हुने छैन, सत्ता चलाएको पार्टीबाटै अनुचित शासकीय प्रयाससमेत भएको ठहरिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते २२:३६
७ मं‍सिर २०८१ मा काठमाडौंमा सत्तारुढ दल नेकपा एमालेले निकालेको र्‍याली । फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिएका छन् ।
  • विश्लेषकहरूले ओलीको अभिव्यक्ति र आन्दोलनको तयारीप्रति आलोचना गरेका छन्।

११ जेठ, काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे ।

उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने तर्कमात्रै गरेनन् । उनले कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन गरे ।

उनले यसबारेमा पार्टीले आवश्यक निर्देशन विस्तृतमा पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

साथै, उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् ।

‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।

सत्ता चलाइरहेका प्रधानमन्त्रीले जुनसुकै शान्तिपूर्ण विरोधका कार्यक्रमलाई सहने, हिंसात्मक र अराजक क्रियाकलापलाई राज्यप्रशासनले रोक्ने तर्क गर्नुपर्ने थियो । तर उनले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिएका छन् ।

साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने तर्क पनि गरे । ‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? सबै एकैतिर,’ ओलीले भनेका छन् ।

राजावादीहरू कुनै महान् उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको दाबी गरे ।

‘यिनीहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

‘त्यसकारण हामीले आफूलाई बुझ्नुपर्‍यो । आफूलाई चिन्नुपर्‍यो । आफूलाई त्यस अनुसार तयार राख्नुपर्‍यो । निर्देशन पछि आउला, १५ गतेका लागि भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने पार्टीले भन्छ,’ ओलीले भनेका छन् ।

सत्ता चलाइरहेका प्रधानमन्त्रीले जुनसुकै शान्तिपूर्ण विरोधका कार्यक्रमहरूलाई सहने, हिंसात्मक र अराजक क्रियाकलापलाई राज्यप्रशासनले रोक्ने तर्क गर्नुपर्ने थियो । तर उनले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिएका छन् ।

विश्लेषक सन्जीव पोखरेल भन्छन्- ‘राजावादीलाई जथाभावी छिर्के लगाएर होइन, आफ्ना कमजोरीलाई सुधारे मात्रै गणतन्त्रको पक्षमा काम गरेको ठहरिन्छ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले ओलीको अभिव्यक्तिको विरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– जेठ १५ गते काठमाडौं नियन्त्रणमा लिनु कार्यकर्तालाई आह्वान गर्ने प्रम केपी ओलीको अभिव्यक्ति पदीय गरिमा र जिम्मेवारीविपरीत छ।संविधान र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत छ। राजनीतिक दलहरू, मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि प्रमको यो अभिव्यक्ति ‘नोटिस’मा लिनेछन् ।

विश्लेषक सन्जीव पोखरेलले सत्ता चलाइरहेका जिम्मेवार नेताबाट आएको टिप्पणीलाईै गैरजिम्मेवार र आपत्तिजनक भनी टिप्पणी गरेका छन् ।

एमाले सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रतिक्रियालाई उनले तर्कहीन र राजनीतिक संस्कारविपरीत भने । उनले प्रधानमन्त्रीबाट लोकतान्त्रिक मान्यताको खिलाफमा टिप्पणी आएको पनि बताए ।

‘राजावादीहरू आफैंमा बलिया तर्कहरूसहित सडकमा आइरहेका छैनन्, उनीहरूसँग कुनै ठोस र जनप्रिय एजेन्डा पनि छैन, तर राजनीतिक संस्कारमा विश्वास गर्ने पार्टीले अरुलाई सडकमा आउन दिन्न भन्न पाइँदैन,’ पोखरेलले भने, ‘खासमा कांग्रेस एमाले कसैले पनि राजा ल्याउने आन्दोलन किन वैचारिक रुपमा गलत र भ्रामक छ भनेर जनतामाझ बुझाएका छैनन्, किनकि उनीहरूसँग यति बेला आफ्ना अनेकौं शासकीय गल्तीका कारण नैतिक साहस उत्पन्न भएको छैन ।’

पोखरेलले शान्तिपूर्ण विरोध गर्ने विपक्षी चाहनाको सम्मान हुनुपर्नेमा उल्टै कार्यकर्ता लगेर भिडाउन खोज्ने प्रयासप्रति आपत्ति जनाए । ‘राजावादीलाई जथाभावी छिर्के लगाएर होइन, आफ्ना कमजोरीलाई सुधारे मात्रै गणतन्त्रको पक्षमा काम गरेको ठहरिन्छ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?