
News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबले ९० दिनको अवधिमा लागू हुने \'थ्री-स्ट्राइक सिस्टम\' अपनाएको छ।
- पहिलो स्ट्राइकले एक हप्तासम्मको प्रतिबन्ध लगाउँछ भने, तेस्रो स्ट्राइकले च्यानल स्थायी रूपमा हटाउँछ।
- क्रिएटरहरूले अपिल, काउन्टर नोटिस, वा सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर स्ट्राइक चुनौती दिन सक्छन् ।
यदि तपाईं पनि एक क्रिएटर हुनुहुन्छ वा युट्युब क्रिएटरको रूपमा आफ्नो करियर बनाउने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि उपयोगी छ । यहाँ युट्युबको तिन चेतावनी ‘थ्री स्ट्राइक’ नियमका साथै त्यस्तो अवस्थामा अपील गर्ने तरिकाका विषयमा जानकारी दिइएको छ ।
वास्तवमा युट्युबको थ्री स्ट्राइक नीति त्यस्ता युट्युब सर्जकमा लागू हुन्छ, जसले युट्युबको प्रतिलिपि अधिकार नियम वा सामुदायिक निर्देशिका (कम्युनिटी गाइडलाइन)को उल्लंघन गर्छन् । यस्ता गल्तीहरू बारम्बार दोहोर्याउने हो भने क्रिएटरले गम्भीर नतिजा भोग्नुपर्छ र युट्युब च्यानल नै डिलिट पनि हुन सक्छ। त्यसैले युट्युबमा सामग्री अपलोड गर्दा सावधानी अपनाउनु जरूरी छ।
युट्युबको तीन चेतावनी (थ्री स्ट्राइक) प्रणाली के हो ?
युट्युबले ९० दिनको अवधिमा लागू हुने ‘थ्री-स्ट्राइक सिस्टम’ अर्थात् तीन चेतावनी प्रणाली अपनाएको छ। यस प्रणालीमा युट्युबले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने क्रिएटरलाई तीन चरणमा कारबाही गर्छ ।
पहिलो चेतावनी (First Strike)
पहिलो पटक चेतावनी पाएपछि, तपाईंलाई एक हप्ताका लागि भिडियो अपलोड, लाइभ स्ट्रीमिङ गर्ने र केही अन्य सुविधाहरू प्रयोग गर्न रोक लगाइन्छ। यो चेतावनी ९० दिनसम्म सक्रिय रहन्छ।
दोस्रो चेतावनी (Second Strike)
यदि पहिलो स्ट्राइकपछि ९० दिन नपुग्दै फेरि अर्को उल्लंघन भयो भने, दोस्रो चेतावनीमा २ हप्तासम्मका लागि प्रतिबन्ध बढाइन्छ।
तेस्रो चेतावनी (Third Strike)
यदि तेस्रोपटक पनि ९० दिनभित्रै उल्लंघन भयो भने, तपाईंको च्यानल स्थायी रूपमा हटाइन्छ, र त्यसमा रहेको सबै सामग्री मेटाइन्छ। साथै, त्यस क्रिएटरसँग सम्बन्धित अन्य च्यानलहरू पनि प्रभावित हुन सक्छन् ।
सबैभन्दा महत्वपूर्ण तथा बुझ्नैपर्ने कुरा के छ भने यदि तपाईंले चेतावनी पाएको भिडियो हटाउनुभयो भने पनि, स्ट्राइक हट्दैन। त्यसैले युट्युबका नियमहरू पालना गर्नु अत्यन्त जरूरी छ।
कुन-कुन कुरामा चेतावनी दिइन्छ ?
युट्युबमा तपाईंलाई दुई मुख्य कारणले स्ट्राइक लाग्न सक्छ :
१. कपिराइट स्ट्राइक
यदि तपाईंले अरूको सामग्री (जस्तैः गीत, भिडियो क्लिप आदि) अनुमति बिना प्रयोग गर्नुभयो भने, त्यस सामग्रीको मालिक अर्थात् वास्तविक प्रतिलिपी अधिकारवालाले उजुरी गर्न सक्छ। यसरी उजुरी परेपछि भिडियो हटाइन्छ र तपाईंलाई स्ट्राइक लाग्छ।
२. कम्युनिटी गाइडलाइन स्ट्राइक
युट्युबले तोकेको नीति तथा नियमहरूको उल्लंघन भएमा यस्तो स्ट्राइक लाग्छ। भ्रामक जानकारी दिने, हानिकारक वा आपत्तिजनक सामग्री पोस्ट गर्ने जस्ता सामुदायिक नीति नियमहरुको उल्लंघन गर्ने कार्यहरुमा पहिले चेतावनी दिइन्छ र त्यसपछि स्ट्राइक लगाइन्छ।
स्ट्राइक लागेपछि के हुन्छ ?
युट्युब स्ट्राइक अर्थात् युट्युबबाट चेतावनी आउँदा युट्युबले तपाईंलाई इमेलमार्फत वा मोबाइल तथा डेस्कटप नोटिफिकेशनमार्फत समेत सूचित गर्छ । जसमा, कुन सामग्री हटाइएको हो, कुन नीतिको उल्लंघन भएको हो, तपाईंको च्यानलमा यसको के असर पर्छ, अब तपाईंले के गर्नुपर्छ, तपाईंको लागि अपिल गर्ने विकल्प के छ ? भन्ने जस्ता जानकारी सामेल हुन्छन् ।
यसरी सूचना पाएपछि तपाईंले निम्न बमोजिम प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।
स्ट्राइकलाई कसरी चुनौती दिने ?
आफूलाई युट्युबले गल्तीबस स्ट्राइक दिएको अर्थात् चेतावनी दिएको छ भन्ने तपाईंलाई लागेको छ भने देहाय अनुसार त्यसको खारेजीका लागि निवेदन दिन सक्नुहुन्छ :
१. अपिल गर्ने
युट्युब स्टुडियो मार्फत तपाईं कपिराइट स्ट्राइक र कम्युनिटी गाइडलाइन स्ट्राइक दुवैमा अपील गर्न सक्नुहुन्छ। यदि युट्युबले तपाईंको अपिलल स्वीकार गर्यो भने स्ट्राइक हटाइन्छ।
२. काउन्टर नोटिस दिने
यो तरिका केवल कपिराइट स्ट्राइकमा मात्रै गर्न सकिन्छ । यदि तपाईंलाई युट्युमा राखेको सम्बनिधत भिडियो फेयर युज अर्थात् वैध प्रयोग अन्तर्गत पर्छ र युट्युबले त्यसलाई भुलवस हटाइएको हो भन्ने लाग्छ भने तपाईंले कानुनी रूपमा काउन्टर नोटिस दिन सक्नुहुन्छ ।
तर यदि १० दिनभित्र प्रतिलिपी अधिकारवालाले मुद्दा दायर नगरेमा चाहिँ तपाईंको भिडियो पुनर्स्थापित हुनसक्छ ।
३. दाबी फिर्ता लिन अनुरोध गर्ने
तपाईंले प्रतिलिपी अधिकारवालासँग सिधा सम्पर्क गरेर उनलाई दाबी फिर्ता लिन अनुरोध गर्न सक्नुहुन्छ। यदि सम्बन्धित व्यक्ति त्यसमा सहमत भएमा स्ट्राइक हट्न सक्छ।
४. ९० दिन पर्खनुहोस्
यदि तपाईंले ९० दिनभित्र कुनै नयाँ गल्ती गर्नुभएन भने, स्ट्राइक आफैं हटाइन्छ। यसैले, नियमअनुसार अपील गर्ने वा पर्खनु नै सही उपाय हुन्छ।
प्रतिक्रिया 4