+
+
Shares

दुई सातादेखि बैंकिङ सेक्टरमा उत्साह, यी हुन् मूल्य धेरै बढेका कम्पनी

कस्तो रहला आगामी साताको बजार ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार यो साता ५ अंकले बढ्यो र बजार बन्द २६९३ अंकमा भयो।
  • बैंकिङ र फाइनान्स सेक्टरले बजारलाई समर्थन गरे पनि, बजारमा अझै सुधारको संकेत देखिएको छैन।
  • अन्तर्राष्ट्रिय बजारहरू उकालो लागिरहेका छन्, जसले नेपाल बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

१६ जेठ, काठमाडौं । गत साता ७७ अंक बढेको सेयर बजार यो साता जम्मा ५ अंक बढेको छ । गत साता २६८८ अंकमा रहेको बजार यो साता २६९३ अंकमा बन्द भयो ।

अन्तिम कारोबार दिन बिहीबार गणतन्त्र दिवसका कारण सार्वजनिक विदा भएपछि यो साता ४ दिन मात्रै कारोबार भयो । पहिलो दिन आइतबार ८.५७ अंक घटेको बजार सोमबार ५.२१ घट्यो । मंगलबार ०.८५ र बुधबार १७.४४ अंक बढ्यो ।

कारोबार रकम अझै बढ्न सकेको छैन । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोड, मंगलबार ६ अर्ब ५२ करोड तथा बुधबार ८ अर्ब ५८ करोडको कारोबार भयो ।

दुई सातादेखि नै बजारलाई बैंकिङ सेक्टरले डोहोर्‍याइरहेको छ । गत साता ७.२२ प्रतिशत बढेको बैंकिङ यो साता १.७९ प्रतिशत बढ्यो ।

यो सेक्टरमा उत्साह देखिएसँगै बजार बढ्नका लागि बलियो आधार बनेको छ । बैंकिङ बजारको सबैभन्दा शक्तिशाली सेक्टर हो । अर्कोतर्फ धेरै बैंकको मूल्य ‘अन्डरभ्यालुड’ मा रहेकाले लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स सेक्टर यो साता सबैभन्दा धेरै घट्यो ।

आईपीओ/हकप्रद खुलेका छन् ?

यतिबेला ट्रेड टावर कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुलिरहेको छ । सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन भएको छ ।

जेठ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । सर्वसाधारणका लागि यसअघि खुलेको सान्भी इनर्जीको आईपीओ सम्भवतः आउने साता बाँडफाँट हुनेछ ।

विकास हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि खुलिरहेको छ । गोरखा जिल्लाका प्रभावित र वैदेशिक रोजगारमा रहेकाले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीका लागि भने हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले जेठ १९ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

धेरै कारोबार भएका कम्पनी 

यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक, बुटवल पावर, सानिमा माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोल्टी होटल, नेपाल पुनर्बीमा, ग्लोबल आईएमई बैंक क्रमश : अगाडि रहे ।

कारोबार संख्याका आधारमा भने ङादी ग्रुप, युनिभर्सल पावर, राधि विद्युत्, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, कुमारी बैंक, नेपाल माइक्रो इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

कस्तो रहला आगामी साताको बजार ?

नेपाल राष्ट्र बैंकले यो सातादेखि सबै किसिमका सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरेको छ । यसले समग्र बजारलाई सकारात्मक प्रभाव पार्दै लैजाने अनुमान छ।

बिहीबार घोषित बजेट पनि पूँजी बजार अनुकूल छ । पूँजीगत लाभकर सम्बन्धमा लगानीकर्ताको त्रास पनि बजेटमार्फत हटेको छ । पूँजीगत लाभकर पूरानै दर कायम रहने भएसँगै बजारको माहोल थप सकारात्मक बन्ने अनुमान छ ।

बजेटमा घोषणा गरिएका गैरआवासीय नेपालीलाई कारोबारका लागि सहज व्यवस्था गरिने, सरकारी ऋणपत्र बजारमार्फत कारोबार गराउन पहल गर्ने विषय पनि सकारात्मक छ ।

नेप्सेको पुनर्संरचना गर्ने, धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने जस्ता विषय पनि सकारात्मक छन् । तर यी पहिलेदेखि नै कार्यान्वयन हुन नसकेका विषय हुन् । अधिक तरलता, न्यून ब्याजदर जस्ता पक्षले पनि सपोर्ट गरेका कारण आगामी साता बजार बजार बढ्ने आधार बलियो बनेका छन् ।

विश्वका ठूला बजार उकालोतिरै 

यो साता विश्वका ठूला बजार उकालो लागेका छन् । अमेरिकी डाओ जोन्स इन्डस्ट्रियल इन्डेक्स यो साता १.०८ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक ३.८ प्रतिशत बढेको छ । एस एण्ड पी ५०० सूचक यो साता १.२१ प्रतिशत तथा एक महिनामा ६.१६ प्रतिशत बढेको छ ।
त्यस्तै जापानको निक्की २२५ सूचक यो साता २.३५ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक ५.६६ प्रतिशत बढेको छ ।
चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.१५ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक २.२२ प्रतिशत बढेको छ । लण्डनको एफटीएसई १०० इन्डेक्स यो साता ०.८० प्रतिशत घट्यो । विगत एक महिनामा यो सूचक २.६१ प्रतिशत बढेको छ ।
भारतको बीएसई सेन्सेक्स पनि यो साता १.३ प्रतिशत घट्यो । विगत एक महिनामा यो सूचक १.३ प्रतिशत नै बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?