
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा राजनीतिक चेतना अनुहार र भावना आधारित भएको विश्लेषण गरिएको छ।
- इतिहासदेखि वर्तमानसम्म व्यक्तिपूजाको संस्कार र लोकतन्त्रको कमजोर पक्षहरू स्पष्ट पारिएका छन्।
- समाधानका लागि शिक्षामा सुधार, आन्तरिक लोकतन्त्र र डिजिटल चेतनाको आवश्यकताको जोड दिइएको छ।
राजनीतिक दल, नेता-कार्यकर्ता र आम नागरिक नेपालमा राजनीतिक चेतनाको विकास भइसकेको दाबी गर्छन्। स्कूल, कलेज, क्याफे, टेबल टक, रेडियो, ट्विटरदेखि संसद्सम्म यही बहस सुनिन्छ ।
तर, त्यो राजनीतिक चेतना विचारको आधारमा होइन, नेताको देवत्वकरण र अनुहारको आधारमा बाँचेको छ। अहिलेको राजनीति विचारभन्दा अनुहारको मोहमा बाँधिएको छ। र, यही मोह हाम्रो राजनीतिक संस्कृतिको मूल संकट हो, जुन पुस्ता फेरिए पनि दल, नेता र कार्यकर्ताको राजनीतिक मनोभाव हिजोकै छ।
सेन्स अफ अपाथी अर्थात् उदासीनताको भावनामा युवा उमेर डुबेको छ। दलहरूमा आवद्ध युवा जमात नेताको देवत्वकरण र भष्टाचारमा लिप्त छन् भने स्वतन्त्र भन्नेहरू सामाजिक सञ्जालमा आलोचना, आक्रोश र उच्छृङ्खल छ।
इतिहासदेखि अनुहारकै पूजा
२००७ सालको क्रान्तिलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रान्तिको रूपमा लिइन्छ। एकतन्त्रीय राणा शासन विरुद्ध नेपाल प्रजापरिषद्, नेपाली कांग्रेस लगायत पार्टीहरू आन्दोलनमा होमिएका थिए।
एकतन्त्रीय राणा शासन विरुद्ध शुरु भएको जनताको क्रान्ति ७ फागुन २००७ मा नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकियो। तर उक्त राजनीतिक परिघटना ‘सिस्टम परिवर्तन’को रूपमा होइन, ‘नेतृत्व परिर्वतन’को रूपमा मात्र सीमित गरियो।
आन्दोलनका नेतृत्वकर्ता बीपी कोइरालालाई विचारकभन्दा पहिले ‘उद्धारकर्ता’ मानियो। उनको हरेक राजनीतिक कदमको प्रशंसा र जयजकार गरियो। आलोचना गर्ने आवाजहरू ‘गद्धार’, ‘दलाल’ वा ‘अज्ञानी’को श्रेणीमा राखिए। राजनीतिक विचारको मूल्याङ्कन र अनुसरणभन्दा गहिरो भावनात्मक विश्वासमा नै प्रजातन्त्रलाई सीमित गरियो।
धेरै प्रश्नहरू प्रश्नमै मात्र सीमित रहे। के तिनै बीपी कोइरालालाई राजा महेन्द्रले संसद् भंग गरेपछि जनताले बचाउन सके ? सकेनन्। बरु जनता फेरि अर्को शक्तिशाली अनुहारतर्फ मोहित भए, राजा महेन्द्र। उनै महेन्द्र नै राष्ट्रवादी कहलिए।
पञ्चायत व्यवस्था प्रतिगामी थियो भन्ने सत्य हुँदाहुँदै पनि उक्त समय लाखौं नेपालीले राजा महेन्द्रको भाषणमा ‘देशभक्तिको सुगन्ध’ खोजे। प्रश्न गर्नेभन्दा प्रशंसा र जयजयकार गर्ने हुलले अनुहार मात्र खोजिरह्यो, विचार हैन। अनि हामी पुनः व्यक्तिपूजाको अर्को चरणमा प्रवेश गर्यौं।
गणतन्त्र पनि अनुहारकै छायाँमा जन्मियो
२०४६ सालको जनआन्दोलन, २०६२/६३ को दोस्रो जनआन्दोलन, अनि १० वर्षे माओवादी युद्ध, यी सबै सशक्त आन्दोलनहरूले व्यवस्थागत परिवर्तन ल्याए। राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो। दलहरूले आफ्नो दलीय रङ अनुसारका समाजवादका रङहरूले नेपाली राजनीतिलाई रङ्ग्याउन थाले।
जनता आफ्नो विचारभन्दा शक्ति र पहुँचका लागि दलीय रङमा संलग्न हुने क्रम बढ्न थाल्यो। दल र नेताहरूले नीति, विचार र कार्यक्रमभन्दा भाषण र क्रान्तिकारी छवि बेच्न थाले। लोकप्रियताका लागि जे बोल्दा प्रिय भइन्छ, नेताहरू त्यतै दौडिए। नेताहरूको सवारीमा भीड, हाँस्दा, बोल्दा ताली र चिच्याएर कुर्लिंदा ‘नेतृत्वको शक्ति’ गणतन्त्रमा संस्थागत हुन थाल्यो।
नेताहरूको निर्णय प्रक्रिया कति लोकतान्त्रिक छ ? कति पारदर्शी छ ? कति संस्थागत छ ? केही सोचिएन। कारण, व्यक्ति, परिवार र समाज प्रत्यक्ष/अप्रत्यक्ष रूपमा कुनै न कुनै दलमा आवद्ध छन्। यसैले आफ्नो दल र नेताहरूको गुणगान र स्तुति कार्यकर्ताको राजनीतिक आदर्श र धर्म मानियो। दल र नेताहरूले गर्ने जुनसुकै गल्ती, दमन वा भ्रष्टाचार पनि ‘हाम्रो नेता, हाम्रो मान्छे’ भनेर उन्मुक्ति दिन थालियो। उल्टै आफ्नाहरूको गल्ती लुकाउन नेताबाट संरक्षण र कार्यकर्ताबाट जयजयकार गरियो।
आफ्नो पार्टीभित्रको निरंकुशता, नेतृत्वको नियन्त्रण, भ्रातृत्व-सम्बन्धको भागबन्डा र अपारदर्शी निर्णय प्रणाली, सबै जनताका आँखाबाट लुके। जनता दल र नेताहरूको अनुहारमै रमाइरहेका छन्, नीति हेर्ने फुर्सद र कुनै चेष्टा छैन।
पुस्ता नयाँ, संस्कार पुरानै
हामी जेन-जी भनिने डिजिटल पुस्तामा प्रवेश गरेका छौं। सूचना प्रवाह छिटो भएको छ, सोच व्यापक भएको छ, टेक्नोलोजी जेनेरेटिभ छ। तर राजनीतिक संस्कार हिजोकै छ।
उदाहरणका रूपमा काठमाडौं महानगरका मेयर बालेन शाहलाई लिन सकिन्छ। उनी स्वतन्त्र उम्मेदवार भएर उदाए। पुराना पार्टीहरूबाट निराश युवा जमातले आशा रूपमा उनलाई छान्यो। बोल्ने शैली र प्रभुत्वशाली संरचना विरुद्धको धारिलो बोलीले उनीमाथि जनताले आशा राखे। तर उनले महानगरको नेतृत्व गरेपछि बनाएका नीति, त्यसको प्रभाव वा निर्णय प्रक्रियाको मूल्याङ्कन गर्यौं ? गरेनौं। मात्र पुराना दलहरूप्रतिको वितृष्णाले एकोहोरो उनको देवत्वकरण गर्न मात्र लाग्यौं।
सामाजिक सञ्जालहरूमा उनका बिहानदेखि बेलुकासम्मका सबै क्रियाकलापको जयजयकार गर्न थालियो। राम्रो/नराम्रो भन्दा पनि अनुहारको पूजामा सञ्जालहरू पोतिए। उनको आलोचनालाई ‘दलको एजेन्ट’ को ट्याग दिइयो। विरोधीलाई ट्रोल, गाली र सामाजिक बहिष्कारको अभ्यास नै गरियो।
ठिक यही अभ्यास धरानका मेयर हर्क साम्पाङको सन्दर्भमा पनि दोहोरियो। धरानमा उनले ल्याएका केही नीतिहरू जनउत्तरदायी थिएनन्, तर आलोचना गर्दा विशेषगरी सामाजिक सञ्जालमा सुन्न र पढ्न नसकिने गरी प्रचार गरियो। फेसबुक, टिकटक, युट्युब जस्ता सञ्जालमा साम्पाङ आलोचकहरूलाई ‘गद्धार’, ‘फेकु’, ‘हेटर’ जस्ता शब्द प्रयोग गिरियो।
अराजकता आतंक बन्दैछ। मोडरेट भ्वाइस अर्थात् संयम आवाज हराएको छ। यसले आलोचना गर्ने संस्कार होइन, अन्धभक्ति संस्कार र निरंकुशतावाद फैलाउन प्रश्रय दिएको छ।
अमेरिकी लेखक मार्क ट्वेनको बहुप्रसिद्ध एउटा भनाइ छ, ‘सत्यले जुत्ता लगाउनुभन्दा पहिले झूट संसारको आधा बाटोमा पुग्न सक्छ।’ आजको युवा पुस्ता र सामाजिक सञ्जाल यही बाटोमा छ।
पुराना दलका वा नयाँ विकल्पको रूपमा देखापरेका युवा नेताहरू प्रोपोगान्डा, सामाजिक सञ्जालमा व्यक्तिगत पपुलिजम र नकारात्मकता मच्चाएर नयाँ पुस्तालाई आफूतिर आकर्षण गर्न लागिपरेका छन्। पपुलिस्टहरूले नयाँ पुस्तालाई अराजकता र आक्रोशित बनाएका छन्। परिवर्तनको संवाहक बन्नुपर्ने पुस्ता विचलित छ।
जेन-जी पुस्ता आफूलाई क्रान्तिकारी सोच राख्ने, उदारवादी र लोकतान्त्रिक मूल्य बुझेको पुस्ताका रूपमा परिभाषित गर्छ। यद्यपि, व्यवहार हिजोकै पुस्ताको भन्दा फरक छैन। अनुहारलाई प्रेम गर्न पाइन्छ, तर त्यसले विचारलाई विस्थापित गर्न सक्दैन। जब बालेन वा हर्कराजका कार्यशैलीमा प्रश्न गरिन्छ, अहिलेको पुस्ता त्यसलाई स्वीकार्न तयार हुँदैन। यस्तो अन्धसमर्पणले लोकतन्त्र र व्यवस्थालाई गहिरो क्षति पुर्याएको छ।
यी नयाँ अनुहारहरूलाई आलोचनाविहीन समर्थनले हाम्रो लोकतान्त्रिक स्वास्थ्यलाई कमजोर पारेको छ। सरकार वा जनप्रतिनिधिको कामको मूल्याङ्कन नहुनु भनेको अव्यवस्था र निरंकुशताको ढोका खोल्नु हो। जब जनताले ‘भोट दिएँ, अब पुज्छु’ भन्ने व्यवहार अपनाउँछन्, तब नेताहरू उत्तरदायी हुन छोड्छन्। अनि यस्तो संस्कारले ‘लोक’ भन्दा ‘तान्त्रिक’ शासन पाउने खतरा बढ्छ।
नायक प्रवृत्ति र मनोविज्ञान
सामान्यतः संकटमा परेको समाज ‘उद्धार’ को प्रतीक्षा हुन्छ। र, त्यो संकटमोचन कसले गर्छ ? अनुहारले ? जब देशमा आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार वा मूल्य-मान्यताको संकट आउँछ, अनि जनता एउटै अनुहारमा सबै समस्याको समाधान खोज्न थाल्छ। यही हो कृत्रिम नायक प्रवृत्ति, जहाँ एक जनाले सबै कुरा सुधार्छ भन्ने भ्रम निर्माण हुन्छ।
नेपालमा पटक–पटक यस्तो भ्रम पैदा भएको छ, राजा महेन्द्र, बीपी कोइराला, मदन भण्डारी, प्रचण्ड, केपी ओली र हाल बालेन वा हर्कराजहरू। हामी विचार, नीति र प्रणालीको बहस गर्न चाहँदैनौं। राज्यका संरचनाहरू कसरी दह्रा र प्रभावकारी बनाउन सकिन्छ, यता बहस र प्रयास गर्दैनौं। हामी चाहन्छौं कोही आइदेओस् र चमत्कार गरोस्।
लोकतन्त्र चमत्कार होइन, निरन्तर प्रक्रिया हो। विशेषगरी युवा पुस्ताले यो कुरा बुझ्न आवश्यक छ। राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना युवा जिम्मेवारी हो।
मिडिया र सामाजिक सञ्जालको भूमिका : अनुहारको व्यापार
सूचनाप्रविधिको प्रयोगले जनचेतना फैलाउन पनि सक्छ र चेतनालाई विकृत गर्न पनि सक्छ। तर हाम्रो सन्दर्भमा यसको प्रयोग सही सूचना प्रवाहभन्दा पनि गलत तथ्यहरूलाई सत्य बनाउने, प्रवाह गर्ने र कुनै व्यक्तिलाई उचाल्ने/खसाल्ने माध्यम बनेको छ। अर्कोतर्फ टीआरपी, क्लिकबेट र सेन्सेसनलिजमले विचारभन्दा अनुहार र भावनामा केन्द्रित सामग्री निर्माण गरिरहेको छ। टिकटकमा नेताहरूका स्टाइल, हाउभाउ, भाषणका ‘पञ्चलाइन’ मात्र भाइरल छन्, नीति र विचार हैन।
युट्युब च्यानलहरूमा बहसभन्दा प्रतिक्रियात्मक भिडियो धेरै छन्। नेताको एउटा कडा अभिव्यक्ति (खास सत्ता विरुद्धको) हेरेपछि ‘यो साँच्चिकै जननेता हो’ भन्ने निष्कर्ष तुरुन्तै निकालिन्छ। तर उनको नीति कार्यान्वयन, खर्चको पारदर्शिता, कर्मचारीप्रतिको व्यवहार वा विकास योजना कहिल्यै बहसको विषय बन्दैन। मिडियाले नेता निर्माण गर्छ, तर आलोचना गर्न डराउँछ, त्यो मिडिया लोकतन्त्रको साथी होइन, प्रचारको माध्यम मात्र हुन्छ।
शिक्षा प्रणालीको कमजोरीः आलोचनात्मक चेतनाको अभाव
हामीले पढ्ने स्कूलका किताबहरूमा प्रश्न होइन, उत्तर मुखाग्र गर्न सिकाइन्छ। ‘ठूलो मान्छेले जे भने पनि ठिक’ भन्ने संस्कार स्कूल र परिवारबाटै शुरू हुन्छ। बालबालिकालाई नेताको चित्र र उनीहरूले गरेको ‘अद्भुत’ कामहरू देखाइन्छ, तर त्यो कामको मूल्यांकन कसरी गर्ने भन्ने सिकाइँदैन।
शिक्षा प्रणालीले ‘संविधान के हो?’ त सिकाउँछ, तर ‘संविधान किन चाहिन्छ?’ भन्ने सोच विकास गर्न दिंदैन। यही कारण हामी अझै पनि प्रणाली होइन, पात्र पूजा गर्ने अभ्यासको निरन्तरतामा छौं। अत: आलोचना गर्न नजानेको पुस्ताले कहिल्यै उत्तरदायी नेतृत्व निर्माण गर्न सक्दैन।
समाधान के हो ?
अब प्रश्न उठ्छ, गर्ने के त ? नेताको अनुहारको मोह घटाउने उपाय के हो ?
पहिलो, नागरिक शिक्षामा सुधार आवश्यक छ। स्कूलबाटै ‘विचारको बहस’, ‘नीतिगत आलोचना’, ‘लोकतान्त्रिक मूल्य’ जस्ता विषयहरू पढाइनुपर्छ। बालबालिकालाई ‘कसैको पनि आलोचना हुनसक्छ’ भन्ने कुरा बुझाउनुपर्छ।
दोस्रो, मिडिया र पत्रकारितामा नैतिकता र विवेकको बहस हुनुपर्छ। पत्रकारले नेताको हाउभाउ होइन, कामको मूल्यांकन गर्नुपर्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि विचारमा केन्द्रित बहस गर्न सिक्नुपर्छ, गर्नुपर्छ।
तेस्रो, राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र विकास गर्नुपर्छ। अनुहार र वंशको आधारमा टिकट नदिने, तल्लो तहसम्म नीति बहस गर्न सक्ने संस्कार बसाल्नुपर्छ।
चौथो, युवा पुस्ताले डिजिटल चेतना मात्रै होइन, लोकतान्त्रिक चेतनामा पनि आफूलाई सशक्त बनाउनुपर्छ। आलोचना, बहस र मूल्याङ्कन गर्न नसक्ने पुस्ताले सामाजिक क्रान्ति गर्न सक्दैन, बरु अर्को निरंकुशतामा समर्पित हुने सम्भावना बलियो रहन्छ।
निष्कर्षः अनुहार होइन, विचार रोजौं
हामीले अग्रज पुस्तालाई अहिलेको संक्रमणको मुख्य दोष लगाइरहेका छौं। दल र नेताप्रति उनीहरूले गरेको समर्पणप्रति आक्रोश पोख्छौं। तर अहिलेको युवा पुस्ताले उही गल्ती दोहोर्याइराखेको छ। दल र नेताहरूको आलोचना गर्नभन्दा पनि देवत्वकरण र भक्तिमा लिप्त छ। पुराना दलभित्रका युवा नेताहरू शीर्ष नेताको चाप्लुसी र आसेपासे भन्न व्यस्त छन् भने विकल्प खोज्न सामाजिक सञ्जालमा दौडिएको युवा जमात उच्छृङ्खल, अराजक र अधीर बन्दैछ।
अत: नेपाली लोकतन्त्र अनुहारको होइन, विचारको संघर्ष हो। र, त्यो संघर्ष तब जितिन्छ, जब नागरिक सचेत बन्छ। प्रश्न गर्छ, बहस गर्छ र नेताको देवत्वकरण र पूजा हैन, नीति माग्छ। नयाँ पुस्ताको राजनीति अराजकता हैन, संवेदनशीलता हो। राजनीतिमा अनुहार, उमेर हैन; सोच, दृष्टिकोण र भिजन महत्वपूर्ण कुरा हो।
(देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् भने खनाल युवा राजनीतिज्ञ र लेखक हुन्।)
प्रतिक्रिया 4