+
+
Shares

शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १६:४४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिविको उपकुलपति छनोट प्रक्रियामा ढिलाइ भएको छ, हालसम्म सर्च कमिटीको बैठक नै बसेको छैन।
  • शिक्षा सचिव फेरिएको कारण बैठक ढिलाइ भएको र विधि तय गर्न बाँकी रहेको शिक्षा मन्त्री पन्तले बताए।
  • अघिल्लो उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि पद खाली भएको हो।

१८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रियामा ढिलाइ भएको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेका थिए । तर, सर्च कमिटीको बैठक नै बसेको छैन ।

समितिमा शिक्षा सचिव र योजना आयोग सदस्य गीता कुमारी पौडेल सदस्य छन् । मन्त्री पन्तका अनुसार शिक्षा सचिव फेरिएका कारण बैठक बस्न ढिलाइ भएको हो । शिक्षा सचिवमा हाल चूडामणि पौडेल आएका छन् ।

‘सर्च कमिटीको बैठक बसेको छैन । सचिवको परिवर्तन भएकाले रोकिएको हो । सचिव आउनु भएको छ । अब छिटै बैठक बस्छ,’ मन्त्री पन्तले भने । उपकुलपति छनोटको विधि पनि तय गर्न बाँकी रहेको मन्त्री पन्तले बताए । ‘कुन विधिबाट जाने टुंगिएको छैन । कमिटीको बैठक बसेपछि विधि तय गर्छौं,’ मन्त्री पन्तले भने ।

सर्च कमिटीले खुला आह्वान गरेर अथवा सिधैं तीन जनाको नाम सिफारिस गर्ने भन्नेमा सर्च कमिटीले निर्णय लिने छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरिटको आधारमा नियुक्ति गर्ने भन्दै खुला आह्वान गरिएको थियो । २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री दाहालले प्राडा केसरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

तर उपकुलपति बरालले १३ महिनामा नै राजीनमा दिएपछि त्रिविमा उपकुलपतिको पद खाली भएको हो । बरालले १५ चैतमा दिएको राजीनामा २८ चैतमा स्वकीकृत भएको थियो । गत २ वैशाखमा उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको थियो ।

त्रिविको नियम अनुसार तीन महिनासम्म कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधान छ । तर नयाँ उपकुलपति छनोट प्रक्रियामा भने ढिलाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?