+
+
Shares

सूचनामा पकड राख्दै विपद् व्यवस्थापन र उद्धार गर्ने रणनीति, साढे १७ हजार सुरक्षाकर्मी तैनाथ

गाउँ–टोलसम्म पुग्ने प्रहरीले सूचना संकलनको पहिलो काम गर्नेछ । कहीँ कतै बाढी–पहिरो लगायत विपद् आउन लागेमा प्रहरीले तत्कालै उक्त सूचना माथिल्लो निकाय हुँदै केन्द्रसम्म पुर्‍याउने तयारी गरिएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ २१ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनमा सूचना संकलन र पूर्वानुमानलाई प्राथमिकता दिन निर्देशन दिए।
  • प्रहरी र सुरक्षा निकायले विपद् सूचना संकलन र पूर्वतयारीलाई मुख्य प्राथमिकता बनाएर कार्य योजना बनाएका छन्।
  • सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपद् सूचक समूह गठन र समुदायस्तरमा उद्धार तयारी गरिरहेको छ।

२१ जेठ, काठमाडौं । ‘सूचना संकलन एव‌ं पूर्वानुमानलाई संवेदनशील रूपमा लिँदै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भएर लाग्नूस्,’ गृहमन्त्री रमेश लेखकले मंगलबार प्रहरी प्रधान कार्यालय पुगेर भने ।

विपद् व्यवस्थापन पूर्वतयारीको निरीक्षण गर्न प्रहरी हेडक्वार्टर नक्साल पुगेकाले लेखकले सूचना तथा पूर्वानुमानलाई प्राथमिकता दिँदै बोल्नुको पछाडि अघिल्लो वर्षको असोजमा आएको बाढीको साइनो पनि जोडिएको छ ।

१२ असोज २०८१ मा वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । ललितपुरस्थित नख्खु खोलामा एक परिवार उद्धारको पर्खाइमा थियो । जस्ताको टहरोमाथि चढेर रौतहटका राजु साहको ४ जनाको परिवार उद्धारको गुहार गरिहरेको थियो ।

तर, उनीहरूलाई बचाउन नसकिएको भन्दै गृहमन्त्री लेखकले बोलेका थिए । ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं । हेलिकप्टरमार्फत पनि उद्धार गर्न सकिएन । भिजिबिलिटीका कारण जोगाउन सकेनौं,’ लेखकले भनेका थिए ।

कम भिजिबिलिटीका कारण हेलिकप्टर समेत पठाउन नसकिएको उनले बताए पनि त्यतिबेला हेलिकप्टर नै उडाउन नमिल्ने गरी भिजिबिलिटी कम भने नरहेको खुलेको थियो ।

लेखकले बचाउन सकिएन भनेका ती व्यक्तिलाई भने काभ्रेका चणिकलाल तामाङले सकशुल उद्धार गरेका थिए ।

काभ्रेका चणिकलाल तामाङ

यो घटनामा गृहमन्त्री मात्रै नभएर सुरक्षा निकाय समेत सूचनामा चुकेका थिए । सोही घटनाबाट झस्केका गृहमन्त्री लेखकले सूचनामा विशेष ध्यान दिँदै अहिले सुरक्षा निकायलाई समेत निर्देशन सोही अनुसारको निर्देशन दिँदै आएका छन् ।

यो घटनामा सुरक्षा निकाय समेत चुकेका थिए । यो घटना लगायतलाई लक्षित गर्दै लेखकले भने, ‘विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्नुहोस् ।’

गृहमन्त्रीले भनेअनुसार नै अहिले सुरक्षा निकायले पनि सूचनालाई विशेष प्राथमिकता दिँदै सोहीअनुसार रणनीति बनाएर अघि बढेका छन् । सूचना तत्कालै पाएको अवस्थामा तत्कालै उद्धार हुने र कम क्षति हुने हुँदा सुरक्षा निकायले पनि अहिले सूचनालाई विशेष जोड दिँदै विपद् रणनीति तयार गरेका छन् ।

गाउँ–टोलसम्म पुग्ने प्रहरीले सूचना संकलनको पहिलो काम गर्नेछ । कहीँ कतै बाढी–पहिरो लगायत विपद् आउन लागेमा प्रहरीले तत्कालै उक्त सूचना माथिल्लो निकाय हुँदै केन्द्रसम्म पुर्‍याउने तयारी गरिएको छ । सोहीअनुसार अहिले प्रहरीले काम गरिरहेको छ ।

विपद् तयारीबारे प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले मंगलबार प्रहरी हेडक्वार्टरमा भनेका थिए, ‘विपद् व्यवस्थापनमा परिकल्पनाभन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौती देखा पर्न सक्ने हुनाले पूर्वतयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतीहरूको पूर्वआकलन गरी जनशक्ति परिचालनको समेत व्यवस्था मिलाइएको छ ।’

प्रहरी प्रधान कार्यालय पुगेर विपद् व्यवस्थापन पूर्वतयारीको जानकारी लिनुपूर्व गृहमन्त्री लेखक १९ जेठमा सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पनि पुगेका थिए । मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीसम्बन्धी छलफलमा पनि उनले सूचनामै जोड दिए ।

यता, सशस्त्र प्रहरीले सूचनामा जोड दिँदै विपद् व्यवस्थापनको तयारी सुरु गरेको छ । विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौं सत्रमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभामा पुगेका सशस्त्रका आईजीपी राजु अर्यालले पनि सूचनामा जोड दिँदै मन्तव्य दिएका थिए ।

सूचनाका लागि सूचक गठन गरिँदै

सूचनाकै कारण विपद् जोखिम न्यूनीकरण गर्न सकिने निष्कर्ष निकाल्दै सोहीअनुसार सूचक समेत गठनको तयारी अघि बढाइएको छ । यसका लागि सशस्त्र प्रहरी बलले १ लाख ६८ हजार बढी विपद् सूचक समूह गठन गर्ने लक्ष्य लिएको छ ।

समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रूपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरूमा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नुपर्ने गरी जिम्मेवारी पनि दिइएको सशस्त्र हेडक्वार्टर हल्चोकले बताएको छ ।

जसअनुसार देशभरिका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिने बताइएको छ ।

यसबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्धारमा सहजता हुने विश्वास मुख्यालयको छ । विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण प्रदान गरिने, विपद् सिमुलेसन अभ्यासमा सहभागी गराउने योजना समेत सशस्त्र प्रहरी बलको छ ।

यसका साथै समुदायमा विपद् उद्धारक पनि तयार गर्न लागिएको सशस्त्र प्रहरीले बताएको छ ।

७ जेठमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित गोताखोर तालिम समापनको अवसरमा आईजीपी अर्यालले यसै वर्ष सातवटै प्रदेशमा करिब १ हजार समुदाय विपद् उद्धारक तयार गर्ने योजना रहेको उल्लेख गरेका थिए ।

यो नीतिअनुसार सशस्त्रले विपद् उद्धारक स्वयंसेवक तालिम पनि सुरुवात गरेको छ । समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिइन्छ ।

कस्तो छ तयारी ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मनसुनजन्य विपद्का सम्पूर्ण तयारी पूरा भएर कार्यान्वयनमा गइसकेको बताएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाएर कार्यान्वनका लागि निर्देशन दिइसकिएको छ ।

कहीँ कतै विपद् भइहालेमा स्थानीय स्तरदेखि केन्द्रसम्म सूचना प्रवाहको व्यवस्था मिलाइएको उनले बताए । ‘सूचनामा केन्द्रित रहँदै विपद् जोखिम न्यूनीकरण र उद्धार गरिने योजनाअनुसार सूचनाका संयन्त्रहरू परिचालन समेत गरिएको छ,’ केसीले अनलाइनखबरसँग भने ।

उनका अनुसार सूचनाका लागि स्थानीयस्तरदेखि जिल्ला, प्रदेश र संघसम्मका लागि सामाजिक सञ्जालमा ग्रुप बनाएर सूचना आदानप्रदानको काम भएको छ । स्थानीयस्तरदेखि प्रधानमन्त्री कार्यालयसम्म रहनेगरी टिकटक ग्रुप बनाएर विपद्का सूचना, फोटो, भिडिओ आदानप्रदानको व्यवस्था मिलाइएको उनले बताए ।

उद्धारका लागि चाहिने स्रोत-साधनदेखि जनशक्तिको पनि व्यवस्थापन गरिएको प्राधिकरणले बताएको छ । जनशक्तितर्फ नेपाल प्रहरीका १० हजार ८५ जना, सशस्त्र प्रहरीबाट ७ हजार ६१५ जना डेडिकेट फोर्स तयारी अवस्थामा राखिएको केसीले बताए ।

त्यसैगरी नेपाली सेनाले पनि आफ्नोतर्फको तयारी पूरा गरेर आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताएको प्राधिकरणले जनाएको छ ।

सशस्त्र प्रहरी बलले पनि विपद् उद्धारको तयारी पूरा भएर कार्यान्वयनमा गइसकेको जनाएको छ । यस वर्षको मनसुन प्रतिकार्य योजना, २०८२ तयार भएर कार्यान्वनमा समेत गइसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

जसअनुसार सशस्त्र प्रहरी बलका ८ वटा बाहिनी, २ वटा तालिम शिक्षालय, १ वटा गण, ९ वटा वेश र २ वटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामाग्रीसहितको फौज तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण जनशक्तिलाई तयारी हालतमा राखी २ हजार ४ सय ८१ जना विपद् व्यवस्थापन र १ सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टीकृत उद्धार सामग्रीसहित सातवटै प्रदेशमा परिचालन गरिएको सशस्त्र हेडक्वार्टरले बताएको छ ।

कि–रेस्पोन्डरको रूपमा विपद् प्रतिकार्यमा परिचालन हुनका लागि ९ वटा विपद् व्यवस्थापन बेस स्थापना भएकोमा आगामी मनसुन प्रतिकार्यको लागि थप न्यूनतम ३५ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस समेत स्थापना गर्ने लक्ष्य सशस्त्र प्रहरीको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?