
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले अनुसन्धनात्मक विशिष्टता (फास्ट ट्रयाक) को आधारमा प्राध्यापक, सह प्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ।
- विज्ञापन १३० जना अनुसन्धनात्मक र ६४२ जना नियमित पदका लागि गरिएको हो, जसमा अन्तर्राष्ट्रिय विज्ञको सहभागिता सुनिश्चित गरिएको छ।
- उपकुलपति प्रा.डा खड्ग केसीले यसले विश्वविद्यालयको र्याङ्किङ बढाउने र भविष्य निर्माण गर्ने उद्देश्य राखेको बताए।}
२२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अनुसन्धनात्मक विशिष्टता (फास्ट ट्रयाक) को आधारमा प्राध्यापक, सह प्राध्यापक र उपप्राध्यापक नियुक्ति गरिने भएको छ । त्रिविका अनुसार फास्ट ट्रयाक पनि खुला प्रतिस्पर्धाबाट नै हुनेछ । यसका लागि त्रिविको सेवा आयोगले बुधबार (हिजो) विज्ञापन आह्वान गरेको छ ।
अनुसन्धनात्मक विशिष्टता र नियमित विज्ञापनिको आधारमा विज्ञापन आह्वान गरिएको त्रिविका उपकुलपति प्रा.डा खड्ग केसीले बताए । उनका अनुसार अनुसन्धनात्मकबाट १३० जना र नियमितबाट ६४२ जनाको लागि विज्ञापन आह्वान गरिएको छ ।
फास्ट ट्रयाकबाट पहिलोपटक धेरै संख्यामा प्राध्यापक नियुक्ति गर्न लागिएको हो । ‘अनुसन्धानबाट १३० मध्ये १०० जना त्रिविको खर्चमा र ३० जना विश्वविद्यालय अनुदान आयोगको खर्चमा हो,’ उपकुलपति केसीले भने, ‘त्रिविले आँट गरेको हो । त्रिविको भविस्य निर्माण गर्ने जग हो । भोलिको १०–१५ वर्षपछि भीसी, रेक्टर, रजिस्ट्रार त्यस्तै व्यक्तिबाट आओस् भन्ने सपना परिकल्पना र प्रस्थान बिन्दु हो ।’
अनुसन्धनात्मक विशिष्टताको आधारमा नियुक्ति गर्न कानुनले पनि नछेक्ने उनले बताए । ‘यो नयाँ अभ्यास हो । ऐन कानुनले पनि छेक्दैन । झ्यालबाट आफ्नो मान्छे छिराउने हल्ला गरिएको त्यो होइन । फलामको ढोका छ,’ उनले भने, ‘यसले विश्वविद्यालयको र्याङ्किङ बढ्छ । त्रिविको इतिहासको फड्को हो ।’
छनोटमा अन्तर्राष्ट्रिय विज्ञ पनि सहभागी हुने भएकाले प्रक्रिया पारदर्शी हुने उनले बताए । ‘अन्तर्राष्ट्रिय विज्ञले नो भनेपछि हुदैन,’ उनले भने । रजिस्ट्रार प्रा. डा. केदारप्रसाल रिजालले पनि विश्वभर नै अनुसन्धनात्मक विशिष्टताबाट नियुक्ति गर्ने अभ्यास रहेको बताए ।
‘संसारभरको प्राक्टिस हो । यसले ठूलो धनराशी जोगिन्छ,’ उनले भने, ‘त्रिविबाट तलबी बिदामा धेरै पीएचडी गर्न विदेश जानु भएको छ । यसले अर्को शिक्षक राख्नु पर्छ । तलबी बिदा दिनुपर्ने शिक्षक खोज्नु परेन ।’
शिक्षाध्यक्ष दुविनन्द ढकालले विदेशमा पीएचडी गरेर बसेकालाई नेपाल फर्काउने अवसर मिल्ने बताए । ‘शैक्षिक गुणस्तर बढ्छ । विदेश गएर बसेको देश फर्कन चाहनेलाई ध्यानमा राखेर गरेको हो,’ उनले भने । कुनै स्वार्थ राखेर अनुसन्धनात्मक विशिष्टताबाट प्राध्यापक नियुक्ति गर्न नखोजिएको उनले स्पष्ट पारे ।
त्रिविले विगतमा पनि यो अभ्यास गरेको त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्रा. डा. लालुप्रसाद पौडेलले बताए । उनका अनुसार त्रिविले २०७३ असोज मा पहिलो पटक ट्रायलस्वरुप ५ जना प्राध्यापक र ५ जना सहप्राध्यापक नियुक्ति गरेको थियो । त्यसैगरी २०७६ पुस मा ५ जना प्राध्यापक र २६ जना सहायक प्राध्यापकलाई फास्ट ट्र्याकबाट नियुक्ति गरिएको थियो ।
फास्ट ट्र्याकबाट प्राध्यापक हुन पीएचडी अनिवार्य गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘पीएचडी, अनुसन्धान र पब्लिकेसन गरेको हुनुपर्छ । राम्रो जर्नलमा रिसर्च प्रकाशित भएको हुनुपर्छ । अन्तर्वार्तामा विदेशी विशेषज्ञ राखिको हुन्छ,’ पौडेलले भने ।
उनका अनुसार यो प्रक्रियामा लिखित परीक्षा हुदैन । ‘लिखित परीक्षा नराख्नुको कारण पीएचडी राखेको भएर हो । पीएचडीमा रिसर्च पनि गरेको हुनाले लिखित परीक्षा उपयुक्त हुदैन,’ उनले भने ।
प्रतिक्रिया 4