+
+
Shares

अनेरास्ववियुका अध्यक्ष प्रत्यासी प्रकाश पौडेल भन्छन्- मतदानबाटै नेतृत्व चयन हुन्छ

प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन आइसकेपछि आफ्ना नेता चुन्न पाउने अधिकार स्थापित होस् भनेर माग गर्ने विषय सामान्य हो, त्यति धेरै उत्तेजक, अराजक र अनावश्यक होइन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते २०:११

कीर्तिपुरमा जारी अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरूले निर्वाचन माग्दै मंगलबार नाराबाजी गरे ।

अध्यक्षमण्डलका तर्फबाट सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएपछि हलमा प्रतिनिधिहरूले मतदानको मागसहित नाराबाजी गरेका थिए । प्रतिनिधिहरूको नाराबाजीपछि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

तर, सार्वजनिक तालिकाबमोजिम निर्वाचन प्रक्रिया अगाडि बढ्नेमा प्रतिनिधिहरू ढुक्क भने देखिँदैनन् । किनकि, एमाले नेताहरूले कडरियालाई अध्यक्ष बनाउने गरी अरु आकांक्षीलाई पछि हट्न लगातार दबाब सिर्जना गरिरहेका छन् ।

त्यस्तो दबाबमा परेर केही आकांक्षी पछि हटेका पनि छन् । तर हलमा घोषणा गरिएको नाममा प्रकाश पौडेलले असहमति राखेका छन् । उनकै अडानका कारण अनेरास्ववियुको नेतृत्व चयन चुनावी प्रक्रियातर्फ अगाडि बढेको हो ।

२०६७ सालको जनकपुर महाधिवेशनमा प्रतिनिधि रहेका पौडेल तत्कालीन धवलागिरि अञ्चलमा केपी शर्मा ओली पक्षमा खुल्नेमध्ये अग्रभागमा थिए । २०७२ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा रहेका उनी हाल केन्द्रीय सचिव छन् ।

एमालेले ३२ वर्षे उमेर हद लगाएकाले सचिवभन्दा माथिका नेताहरू बाहिरिएकाले पौडेल स्वभाविक अध्यक्ष पदका आकांक्षी बनेका छन् । एमाले नेताहरूले भने पौडेललाई दाबी छोड्न दबाब बढाइरहेका छन् ।

अध्यक्ष पदका आकांक्षी उनै पौडेलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

नेताहरूले सर्वसम्मतिका लागि दबाब बढाएको देखिन्छ, हलमा नाम प्रस्ताव पनि भयो । प्रस्ताव आउँदैमा किन होहल्ला र नाराबाजी ?

होहल्ला र नाराबाजी भएको होइन । विद्यार्थी आन्दोलन हो, एउटा खाले जागरुकता वा जिज्ञासा रहने कुरा स्वाभाविक हो । हलमा भएको त्यही हो । पार्टीले हामीलाई (मूल नेतृत्वले) बोलाएर सर्वसम्मतिको प्रयासका निम्ति निर्देशन दिनुभएको थियो ।

सँगसँगै स्वच्छ र खुला प्रतिस्पर्धालाई पनि (अन्य जनसंगठनमा पनि भइसकेकाले) सामान्य हिसाबले लिन भन्नुभएको थियो । त्यहीअनुरूप यहाँ गतिविधि भइरहेको छ ।

त्यहाँको दृष्य हेर्दा तपाईंले भने जस्तो त थिएन । सर्वसम्मत नेतृत्व घोषणापछि चुनावको माग गरेर जुलुस लगाएको देखियो नि ?

प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन आइसकेपछि आफ्ना नेता चुन्न पाउने अधिकार स्थापित होस् भनेर माग गर्ने विषय सामान्य हो, त्यति धेरै उत्तेजक, अराजक र अनावश्यक होइन । जुन कुरा पार्टीका तर्फबाट अध्यक्षमण्डलले राखेको प्रस्तावलाई प्रतिनिधिहरूको प्रतिक्रिया दिएपछि निर्वाचन तालिका प्रकाशित गरेर अगाडि बढेको अवस्था छ ।

अध्यक्षमण्डलबाट अगाडि बढाएको प्रस्तावमा तपाईंको असहमति हो ?

मैले पहिले पनि भनेको थिएँ, संगठनको सबैखाले स्कुल कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीहरूको नेतृत्व गर्दै केन्द्रीय कमिटीको सचिव निर्वाचित भएको हुँ । अहिले पार्टीकै निर्णयपछि (३२ वर्षे उमेर हद लगाउने) संगठनको अध्यक्षमा मेरो दाबी स्वतः थियो । र, मैले धेरै अगाडिबाट प्रतिक्रिया दिइरहेको थिएँ, मेरो दाबेदारी अध्यक्षमा हो भनेर ।

तर, तपाईंलाई उपाध्यक्षमा प्रस्ताव गरियो…

मैलै त्यही सुनेको थिएँ । तर मेरो दाबेदारी अध्यक्षमा छ । र, निर्वाचन तालिकाअनुसार अध्यक्षमै मनोनयन गर्दैछु ।

नेता प्रतिनिधिले छान्ने कि बालुवाटारले भन्ने प्रक्रियाप्रति तपाईंको असहमति हो अथवा आफू नहुँदाको असन्तुष्टि ?

मेरो मूल असहमति अहिले बालुवाटारलाई जोडेर (प्रधानमन्त्रीलाई जोडेर) बाहिर अपब्याख्या गर्ने काम भइरहेको छ । उमेर बाँकी रहेकाहरू मिलेर जानुस् भन्ने उहाँको धारणा एकदमै स्वाभाविक हो । त्यसबाहेक अरु हस्तक्षेप छैन ।

यसलाई घोषणै गर्नेगरी अथवा प्रतिनिधिको अधिकारलाई रोक्न खोजियो भन्ने कुरा सही होइन । सबैलाई स्वतन्त्र रूपमा चुन्न र चुनिन पाउने अधिकारलाई सहज बनाउने काम भइरहेको छ ।

अध्यक्ष पदमा आकांक्षा राख्ने कतिपय नेताहरू पछि हटेको देखियो । अब कुरा तपाईंमा अड्कियो, के गर्नुहुन्छ ?

निर्वाचन तालिकाअनुसार मनोनयन प्रक्रियामा जान्छु । त्यहीअनुरूप अरू साथीहरूको पनि उम्मेदवारी दर्ता हुन्छ होला । तर म निर्वाचन तालिकाअनुसार गतिविधि बढाउँछु ।

तर, चुनाव होला र भन्ने शंका त छ नि ?

स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन भएको पछिल्लो उदाहरण पनि छ । त्यसैले प्रतिनिधिका बीचमा त्यस्तो खाले शंका अथवा अलमल मैले पाइरहेको छैन, मिडियामा आएको जस्तो ।

चुनाव हुनेमा विश्वस्त हुनुहुन्छ ?

पद्धति र प्रक्रिया त्यही हो । २३औं राष्ट्रिय सम्मेलनमा पनि निर्वाचनकै माध्यमबाट नेतृत्व छनोट गरेका थियौं । र, यसलाई पनि सहज रूपमा निर्वाचनकै माध्यमबाट (सर्वसम्मत भएका पदहरू बाहेक) नेतृत्व चयन हुन्छ ।

तर, एमाले र अनेरास्ववियुकै लागि तपाईंलाई पछि हट्न भनिएको तर्क गरिँदैछ नि ?

एउटा अवधारणाबाट प्रस्ताव ल्याइएको हुनसक्छ । तर मैले अध्यक्षमा घोषणा गरिसकेको छु, र मनोनयन दर्ता पनि गर्दैछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?