News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले मलेसियामा हुने एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली यू-१६ टोलीलाई बिदाइ गरेको छ ।
- क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले नेपाली टोलीलाई शुभकामना दिँदै बिदाइ गरे ।
- टिमका कप्तान बिपिन प्रसाद शर्माले टोली सन्तुलित रहेको र प्रतियोगितामा जित्ने लक्ष्य रहेको बताए । यस्तै प्रशिक्षक दिपेन्द्र बहादुर चन्दले तयारी राम्रो भएको बताए ।
६ असार, काठमाडौं । यही जुन २२ देखि मलेसियामा सुरु हुने एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले नेपाली टोली राम्रो र सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोलीलाई जितका लागि शुभकामना व्यक्त गरे ।
त्यस्तै प्रशिक्षक दिपेन्द्र बहादुर चन्दले तयारी राम्रो भएको बताए । एक महिनादेखि जिल्ला स्तरिय हुँदै राष्ट्रिय तहकै प्रतियोगिता हुनाले धेरै सहयोग पुगेको उनको भनाइ थियो ।
कप्तान बिपिन प्रसाद शर्माले पनि तयारी धेरै राम्रो भएको बताउँदै टिम एकदम सन्तुलित रहेको उल्लेख गरे ।
यसअघि भएको एसीसी यू-१६ इस्ट जोन कपमा पनि नेपाल विजेता भएको थियो ।
क्यानले प्रतियोगिताका लागि बिपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।
टिमको उपकप्तानको रूपमा सुर्यान्शु कोइराला छन् भने अन्य खेलाडीमा शिवांश बजगाईं, परिमर्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साही पनि सहभागी छन्।
इस्ट जोन कप एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत सञ्चालन हुने एक महत्वपूर्ण युवा स्तरीय क्रिकेट प्रतियोगिता हो । यसमा नेपालसहित पूर्वी एसियाका १० राष्ट्रका यु-१६ उमेर समूहका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल रहेको समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन् । यस्तै समूह बी मा मलेसिया, हङकङ चाइना, थाइल्याण्ड, माल्दिभ्स, म्यानमार छन् ।
तस्बिर : विकास श्रेष्ठ
प्रतिक्रिया 4