News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा क्लब विश्वकपको समूह बी अन्तर्गतको खेलमा पीएसजीले बोटाफोगोलाई १-० ले पराजित भयो।
- खेलको निर्णायक गोल इगोर जेससले ३६औं मिनेटमा गरे र पीएसजीले बल नियन्त्रण गरे पनि अवसर सिर्जना गर्न सकेन।
- बोटाफोगोले जितसँगै समूहको शीर्ष स्थान हासिल गर्यो र अब पीएसजीले अन्तिम खेलमा सिएटल साउन्डर्सलाई जित्नुपर्नेछ।
६ असार, काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह बी अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अप्रत्याशित हार बेहोरेको छ ।
पीएसजीलाई ब्राजिलियन क्लब बोटाफोगो एफसीले १-० गोलअन्तरले हराएको हो । खेलको ३६औं मिनेटमा बोटाफोगोका इगोर जेससले निर्णायक गोल गरे।
उनले जेफरसन साभारिनोको पासमा उत्कृष्ट फिनिस गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले । त्यो गोल नै खेलको एकमात्र गोल बन्यो।
खेलभरि पीएसजीले बलको नियन्त्रण राखे पनि उनीहरूले उल्लेख्य अवसर सिर्जना गर्न सकेनन्। पीएसजीले करिब ७५ प्रतिशत बल नियन्त्रण गर्दै १४ प्रहार गरे पनि दुई मात्र फ्रेममा लागे। बोटाफोगोको गोलकिपर जोनले उत्कृष्ट प्रदर्शन गर्दै क्लिनसिट राखे।
पीएसजीका प्रशिक्षक लुइस एनरिकले प्रमुख खेलाडीहरूलाई विश्राम दिँदै केही नयाँ अनुहारलाई मौका दिएका थिए। तर, त्यो निर्णयमाथि अहिले आलोचना सुरु भएको छ। बोटाफोगोका प्रशिक्षक रेनाटो पैवाले भने, ‘फुटबलमा पूर्वानुमान गरिएझैं सबै कुरा हुँदैन, यहाँ आश्चर्य चकित पार्ने नतिजा सम्भव हुन्छ।’
यस जितसँगै बोटाफोगो समूह बीको शीर्ष स्थानमा पुगेको छ। उनीहरूको २ खेलबाट ६ अंक छ। त्यस्तै पीएसजी र एट्लेटिको मड्रिडको समान ३–३ अंक छ।
अब पीएसजीले समूह चरणको अन्तिम खेलमा सिएटल साउन्डर्सलाई हराउनैपर्ने भएको छ। त्यस्तै एट्लेटिकोले पनि बोटाफोगोलाई हराउनैपर्ने छ ।
प्रतिक्रिया 4