+
+
Shares

निर्यात साढे २ खर्ब नजिक, आयात तङ्ग्रिँदै

वनस्पति तेलको निर्यातले छलाङ मार्दा त्यसले समग्र निर्यातलाई कीर्तिमानी विन्दुमा पुर्‍याएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार ६ गते २१:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत वर्षको तुलनामा ७७.७७ प्रतिशत वृद्धि देखाएको छ।
  • वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।
  • निर्यातको हिस्सा १३.०८ प्रतिशत र आयातको हिस्सा ८६.९२ प्रतिशत छ।

६ असार, काठमाडौं । अघिल्लो महिना (वैशाख २०८१)मै रेकर्ड तोडेर अगाडी बढेको निर्यात व्यापार साढे २ खर्ब नजिक पुगेको छ । वैशाखसम्म २ खर्ब १८ अर्ब पुगेको निर्यात जेठ मसान्तसम्म २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठस) सम्म निर्यात गत आवको यसै अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष यसै अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यसवर्ष वनस्पति तेलको निर्यातले छलाङ मार्दा त्यसले समग्र निर्यातलाई कीर्तिमानी विन्दुमा पुर्‍याएको हो ।

भन्सार विभागका अनुसार जेठसम्म आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १३.१५ प्रतिशत माथि हो । गत आवमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

पछिल्लो एक महिनामा आयात समेत १ खर्ब ७० अर्ब रुपैयाँ हाराहारीको भएको छ । समग्र वैदेशिक व्यापार वैशाखको तुलनामा जेठमा २ खर्ब रुपैयाँ बराबरको भएको देखिन्छ । वैदेशिक व्यापारको आकार जेठमा १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । वैशाखमा १६ खर्ब ९२ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापारको आकार रहेको थियो ।

गत आवको तुलनामा भने जेठसम्म वैदेशिक व्यापारको आकार १८.८० प्रतिशतले बढेको छ । गत आवको जेठसम्म वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रहेको थियो ।

निर्यातमा आएको छलाङले समग्र वैदेशिक व्यापारमा निर्यातको हिस्सा समेत १३.०८ प्रतिशत पुगेको छ । जुन गत आवको तुलनामा ४९.६५ प्रतिशतले धेरै हो । आयातको हिस्सा ८६.९२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.७६ प्रतिशतले खुम्चिएको अवस्था हो ।

निर्यात बढ्दा व्यापार घाटा भने ६ प्रतिशतले मात्र विस्तार भएको देखिन्छ । भन्सार विभागका अनुसार जेठसम्म १३ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । अघिल्लो आवको यसै अवधिमा व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको थियो । आयात/निर्यात अनुपात ६.६४ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.३५ प्रतिशतले कम भएको हो ।

पेट्रोलियम पदार्थ खरिदमा बाहिरियो झण्डै ३ खर्ब

नेपालले ११ महिनाको अवधिमा २ खर्ब ९४ अर्ब रुपैयाँ बराबर रकमको इन्धन खरिद गरेको छ । जसमा पेट्रेल, डिजेल, खाना पकाउने ग्यास, हवाई इन्धन र मट्टितेल समेत पर्छ । यो अवधिमा वनस्पति तेल र यसको कच्चा पदार्थ समेतको १ खर्ब ३८ अर्ब ५४ करोड रुपैयाँ बराबरको भएको छ ।

यस्ता वस्तुको निर्यात १ खर्ब ७ अर्ब रुपैयाँ बराबरको भएको छ । जसले गर्दा निर्यात बढाउन भूमिका खेलेको हो । १ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ बराबरको आइरन र स्टील आयात भएको छ । साढे १३ अर्ब रुपैयाँ बराबरको यस्तो वस्तु निर्यात भएको छ ।

१ खर्ब माथिको सवारी साधन आयात

११ महिनाको अवधिमा सवारी साधन आयात १ खर्ब माथिको भएको छ । भन्सार विभागका अनुसार जेठसम्म १ खर्ब १ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको देखिन्छ ।

यसमा विद्युतीय सवारी साधन आयातमा छलाङ देखिएको छ । इलेक्ट्रिकल मेसिनरी वस्तुहरुको आयात समेत १ खर्ब माथि भएको छ । विज्ञहरुका अनुसार सवारी साधन, फलाम तथा आइरन र मेसिनरी आयात वृद्धिले आन्तरिक अर्थतन्त्र समेत चलायमान बनेको संकेत गर्छ ।

यी हुन् बढी आायत भएका वस्तु

वस्तुगत रुपमा हेर्दा ११ महिनामा सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । डिजेल आयातमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ विदेशिएको देखिएको छ । दोस्रो नम्बरमा कच्चा सोयाविन तेल रहेको छ । यसको आयातमा ९५ अर्ब ७२ करोड विदेशिएको छ ।

तेस्रो नम्बरमा पेट्रोल आयात भएको छ । जसका लागि ५८ अर्ब ५८ करोड रुपैयाँ विदेशिएको छ । एलपीजी ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आएको छ । ३२ अर्ब ८ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । कच्चा सूर्यमुखी फूल तेलको आयात २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ । सुन १७ अर्ब १२ करोड बराबरको भएको छ ।

निर्यात बढी हुने वस्तु कुन–कुन हुन् ?

यस वर्ष ११ महिनामा सोयाविन तेलको निर्यात सबैभन्दा धेरै ९३ अर्ब ५१ करोड रुपैयाँ बराबरको भएको छ । सूर्यमुखी फुल तेलको निर्यात ११ अर्ब ३३ करोडको भएको छ । तेस्रो स्थानमा कार्पेट रहेको छ । जुन ९ अर्ब ७८ करोड बराबरको भएको छ । अलैची निर्यात ७ अर्ब १९ करोड रुपैयाँ बराबर भएको छ । रोल्ड आइरन/स्टीलको निर्यात ५ अर्ब १३ करोड रुपैयाँको भएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?