News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भयो।
- खेलमा नेपालले १९४ रनको लक्ष्य पछ्याउँदै १५९ रन मात्र बनाउन सक्यो।
- नेपालले ४ खेलमा २ जित र २ पराजय भोगेको छ।
६ असार, काठमाडौं । टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ ।
शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।
रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए ।
स्कटल्याण्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए । सफिया सरिफले २ विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १-१ विकेट लिए ।
नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको थियो । भुर्तेल ४ रनमा, भीम सार्की १२ रनमा, आसिफ शेख १४ र आरिफ शेख ५ रनमा आउट भएपछि नेपालले पावरप्लेभित्रै ४ विकेट गुमाउँदा नेपाल ४३-४ को अवस्थामा थियो ।
त्यसपछि दबाबमा आएको नेपाल त्यसबाट पूर्ण रूपमा बाहिर निस्कन सकेन । दिपेन्द्र र रोहितले साझेदारी गरेपनि लामो समयसम्म जान सकेन ।
त्यसअघि जर्ज मन्सेको आक्रामक अर्धशतकमा स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो ।
ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए । त्यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे ।
मन्से र म्याकमुलेनले मिलेर दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । ३४-१ बाट १३४-२ को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि ११ रनको अन्तरमा ३ विकेट लिएपछि स्कटल्याण्ड १४५-५ को अवस्थामा पुगेको थियो ।
त्यहाँबाट लिस्क र क्रसले ४८ रनको अविजित साझेदारी गरे ।
नेपालका कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १-१ विकेट लिए ।
यस शृंखलामा हालसम्म नेपालले ४ खेलमध्ये २ खेल जित्दा २ मा पराजित भयो । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।
स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
यस शृंखलामा सबै टोलीले २-२ खेल जिते ।
प्रतिक्रिया 4