+
+
Shares

बन्दाबन्दै भत्किएका यी पुलले उठाउँदैछन् पूर्वाधार विकास प्रणालीमै प्रश्न

बाहिर हेर्दा कुनै एक नदीमाथि बनिरहेको संरचना भत्किए पनि यसले नेपालको विकासको मोडेललाई गिज्याइरहेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार १० गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछापमा बन्दै गरेको तामाकोशी नदीमाथि रहेको मोटरेबल पुल आइतबार भाँचियो।
  • यस घटनाले निर्माणाधीन अवस्थामा दोस्रो पटक पुल भाँचिएको हो।
  • सरकारले अध्ययन समिति गठन गरी पुनर्निर्माण र सुरक्षा उपायहरू अपनाउने प्रतिबद्धता जनाएको छ।

९ असार, काठमाडौं । रामेछाप मन्थली नगरपालिका–६ र ७ जोड्ने तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल आइतबार भाँचिएको छ ।

यो पुल निर्माणाधीन अवस्थामै दोस्रो पटक भाँचियो । यो पुलको एउटा स्ल्याब गत वैशाखमा भाँचिएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रका अनुसार पुलको एकातर्फको स्ल्याब पूर्णरूपमा भत्किएको पाइएको छ ।

३१ जेठ २०८२ का दिन पाँचथर हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचियो । यस घटनामा ३ मजदुरको मृत्यु भयो । घाइेत केही मजदुरको उपचार जारी छ । अघिल्लो वर्षको बाढीले बगाएको हेवाखोलामा बन्दै गरेको पुल भाँच्चिएसँगै जारी मनसुन अवधिमा जनताले सास्ती भोग्नुपर्ने छ ।

२८ चैत २०८१ मा उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो । उदयपुर कटारी नगरपालिका–२ सिद्धिचरण लोकमार्गस्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको हो । यो पुल भाँचिनुभन्दा २० दिन अगाडिमात्र ढलान गरिएको थियो । मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेका बाढीका कारण भासिँदा पुल भत्किएको हो ।

नेपालमा निर्माणाधीन पुल भाँचिएको वा भत्किएका यी घटना अहिलेमात्र देखिएका होइनन् । हरेक वर्षजसो यस्ता घटना दोहोरिने गरेका छन् । चैत २०७८ मा सिन्धुली ग्वाङखोलामा बाढीले निर्माणाधीन पुल बगाएको थियो । पुस २०८० मा भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको थियो । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडा जोड्ने इर्खुवास्थित तामुटार खोलामा पुल भत्किएको थियो ।

रामेछाप मन्थली नगरपालिका–६ र ७ जोड्ने तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल । निर्माणाधीन चरणमै यो पुल दोस्रो पटक भाँचिएको हो ।

२०७८ सालमै ओखलढुंगा र सिन्धुली जोड्ने सिन्धुलीको फिक्कलमा निर्माणाधीन पुल भत्किएको थियो । उक्त पुल बाढीको चपेटामा परेको थियो । सोही वर्ष राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको बैरागीठाँटी खोलामा बन्दै गरेको पक्की पुल भत्किएको थियो । २०७७ सालमा चितवन ठिमुरा र तनहुँ देवघाट गाउँपालिका घिनटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुल भत्किएको थियो ।

बाहिर हेर्दा कुनै एक नदीमाथि बनिरहेको संरचना भत्किए पनि यसले नेपालको विकासको मोडेललाई गिज्याइरहेको विज्ञ बताउँछन् । पूर्वाधार विज्ञ सरोजमान प्रधान संरचना निर्माणपूर्व पर्याप्त अध्ययन र तयारी नपुग्दा निरन्तर यस्ता घटना दोहोरिरहेको बताउँछन् । पुलको डिजाइनदेखि निर्माणसम्मका त्रुटिले यस्तो घटना दोहोरिने उनको भनाइ छ ।

‘दोष त प्राकृतिक विपद् वा निर्माणको काममा संलग्नमाथि लगाइन्छ,’ उनी भन्छन्, ‘तर, यो वातावरण कसरी बनिरहेको छ भन्ने केलाएर नहेर्दासम्म यस्ता घटना कम हुँदैनन ।’

संरचना निर्माणको इकोसिस्टममै समस्या रहेको उनको भनाइ छ । ‘जब एउटा घटना भयो, त्यसपछि कति गम्भीर अध्ययन हुन्छ ?,’ उनी प्रश्न गर्छन्, ‘निर्माण व्यवसायीले सस्तोमा ठेक्का लिनुपर्ने, नेता र सरकारलाइ छिटो काम सकाइदिए हुने, त्यस्तो हुँदा गुणस्तरमा कसले ध्यान दिन्छ ?’

अमाहा खोलामा बन्दै गरेको पक्की पुल । ढलान गर्दा पुलमा लगाइएका टेका बाढीका कारण भासिँदा पुल भत्किएको हो ।

विज्ञका अनुसार हिउँदभरि काम नगरी बस्ने र वर्षा लागेपछि काममा तात्ने प्रवृत्तिले समेत यस्ता घटना दोहोरिने गरेको छ । कतिपय निर्माणाधीन पुल बाढीले बगाएर भत्किएको पाइएको छ ।

‘जति पनि निर्माणाधीन पुल भत्किएका छन्, यी घटना करिब–करिब मनसुन र प्रिमनसुनमा भएका छन्,’ भौतिक मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘त्यो जोखिम कम गर्न हिउँदयाममै कामलाई तीव्रता दिएर वर्षायामलाई संरचना सुरक्षित बनाइराख्नु पर्नेमा आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति हट्न नसक्दा यस्ता घटना भइरहेका छन् ।’

जुन स्थानमा पुल बन्दैछ, त्यसमा बाढीले गर्न सक्ने जोखिम कति छ, त्यसबाट जोगाउन अपनाउनु पर्ने उपाय लगाएर गुणस्तरीय काम गर्न सक्ने हो भने यस्ता घटना कम गर्न सकिने उनले बताए । बाढी आउने समयमा अस्थायी टेकोहरू बग्ने र मुख्य संरचना भत्किने समस्या बढी दोहोरिएको उनको भनाइ छ ।

घटनापछि के गर्दैछ सरकार ?

हेवाखोलामा पुल भत्किएसँगै भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरे ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठन भएको समितिलाई पुल भत्किनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा त्यो स्थानमा तत्काल अस्थायी यातायात सञ्चालन गर्ने विषयमा स्थलगत अध्ययन तथा छानबिन गर्ने जिम्मेवारी दिइएको थियो ।

उता, आइतबार रामेछापमा भत्किएको पुल भने पुनर्निर्माण सम्बन्धित निर्माण कम्पनीबाटै गराउने गरी प्रतिबद्धता आएको सडक विभागले जनाएको छ ।

पुल सेक्टर काठमाडौंका अनुसार यो पुल कालिका कल्पवृक्ष जेभी काठमाडौंले बनाइरहेको छ । १० भदौ २०७७ मा ठेक्का सम्झौता भएको यो पुल ६ भदौ २०८२ मा सक्ने लक्ष्य थियो । यहाँ चार स्पानमध्ये बायाँबाट तेस्रो स्पान कोल्याप्स भएको हो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?