+
+
Shares

भिजिट भिसा प्रकरणको छानबिन नभए प्रतिवेदन मान्दैनौं : माओवादी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिन निष्पक्ष र तथ्यपरक नभए प्रतिवेदन अस्वीकार गर्ने जनाएको छ।
  • सदस्यहरूले समितिले प्रभावकारी र सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिएका छन् र जनताको निगरानी जारी रहने बताएका छन्।
  • उच्चस्तरीय समिति गठन पछि माओवादीले संवैधानिक निकाय र अन्य सम्बन्धित निकायहरूबाट निष्पक्ष छानबिनको अपेक्षा व्यक्त गरेको छ।

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने बताएको छ ।

प्रतिनिधिसभाकौ मंगलबारको बैठकमा माओवादी उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म निगरानी र खबरदारी जारी रहने उनको भनाइ छ ।

सत्तारुढ दल र प्रतिपक्षबीच गत ३० जेठमा भएको दुई बुँदे सहमतिअनुसार सरकारले उच्चस्तरीय छानबिन तथा अध्ययन समित गठन गरेको भन्दै उनले धन्यवाद दिए । पुनले समितिले दक्षतापूर्वक प्रभावकारी छानबिन गर्नुपर्नेमा जोड दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिनका लागि ‘उच्चस्तीय अध्ययन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो ।
सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे सदनलाई जानकारी गराएपछि पुनले दलका तर्फबाट धारणा व्यक्त गरेका हुन् ।

त्यसअघि माओवादी केन्द्रसहित विपक्षीले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै १८ दिनसम्म लगातार संसद् बैठक बहिस्कार गरेका थिए । ‘भिजिट भिसा र अध्यागमनमा देखिएका समस्याहरू वितदेखि नै कहाँनेर हुन् र कसरी हुन् ? कहाँनेर ‘ग्रे एरिया’ छ जसले गर्दा विभिन्न अपराध वा यस्ता घटनाहरू हुने गरेका छन्,’ पुनले भने, ‘समितिले सत्यतथ्य छानबिन गरोस् र जनताको भावनाअनुसार प्रतिवेदन र सुझावहरू प्रस्तुत गरोस् भन्ने हाम्रो अपेक्षा छ । तथ्यसंगत ढंगले छानबिन भएन, अविश्वासहरू पैदा भए भने जनताका तर्फबाट निगरानी र खबरदारी हुनेछन् । हामी स्वयं प्रमुख प्रतिपक्षीको तर्फबाट निगरानी र खबरदारी गरिराख्नेछौं ।’

लोकतन्त्र वा गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्थामध्ये एक भएको चर्चा गर्दै उनले सीमा र कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताए ।

‘नेपालमा लोकतान्त्रिक/गणतान्त्रिक व्यवस्था छ । लोकतान्त्रका पनि आफ्ना सीमा हुन्छन् । हामी लोकतन्त्रलाई सुदृढ र दिगो बनाउने तथा जनताको उच्च भावनायुक्त व्यवस्था बनाउने एउटै माध्यम वा विधि भनेको यसमा देखिएका समस्याहरूलाई बेलाबेलामा सच्याउने, सर्भिसिङ गर्ने र अझ उत्कृष्ट बनाउने हो’, पुनले भने, ‘लोकतन्त्र र गणतन्त्रप्रति नै विश्वास नहुनेहरूले यो आँट गर्न र हिम्मत गर्न सक्दैनन् । हामी आफूलाई लोकतन्त्रवादी भन्नेहरूले जहिले पनि करेक्सन गर्न, सुधार गर्न, व्यवस्था र प्रणालीहरूमा देखिने समस्याहरूलाई निरन्तर जनताका आलोचना वा भावनाअनुसार करेक्सन गर्दै, परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरामा विश्वास गर्दछौं ।’

पुनले भिजिट भिसा प्रकरणबारे संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै त्यस्तो छानबिन निष्पक्ष, पारदर्शी तथा प्रमाण र तथ्यसंगत होस् भन्ने आग्रह गरे ।

अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर पनि भिजिट भिसा प्रकरणसँग जोडिएका ट्राभल एजेन्सी, मेनपावर, एयरलाइन्स कम्पनी र नेपालस्थित अन्तर्राष्ट्रिय नियोगका व्यक्तिहरू समेत मुछिएको भन्ने समाचार सञ्चार माध्यममा आएकाले ती विषयको छानबिन उच्चस्तरीय समितिले गर्नुपर्ने माग उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?