News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने स्पोर्ट्स साइन्स तालिमको दोस्रो दिन एन्टी डोपिङ र आकस्मिक स्वास्थ्य व्यवस्थापन सम्बन्धी सत्र सम्पन्न भयो।
- राष्ट्रिय एन्टी डोपिङ एजेन्सी नेपालका डा. अशिम भण्डारीले डोपिङ उल्लंघन र खेलाडीका अधिकारबारे जानकारी दिए र शिक्षा अनिवार्य रहेको बताए।
- तालिममा डोपिङ परीक्षण, कन्ट्रोल किट प्रयोग र प्राथमिक उपचार अभ्यास गरियो र दुबईमा सम्पन्न एसिया–ओसियाना सम्मेलनको कार्यान्वयन भइरहेको छ।
१४ असार, काठमाडौं । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा जारी तीन दिने स्पोर्ट्स साइन्स तालिम अन्तर्गत आज दोस्रो दिन एन्टी डोपिङ सचेतना र आकस्मिक स्वास्थ्य व्यवस्थापन सम्बन्धी विशेष सत्र सम्पन्न भएको छ। परिषद्का सदस्य सचिव दीपक लामाको अगुवाइमा सञ्चालन भएको तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रह्यो।
राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) नेपालका संस्थापक संयोजक डा. अशिम भण्डारीले डोपिङ सम्बन्धी सचेतना सत्रको नेतृत्व गर्दै डोपिङका ११ किसिमका उल्लंघन, डोपिङ कन्ट्रोल प्रक्रिया (डीसीपी) र खेलाडीका अधिकारबारे विस्तृत जानकारी दिएका थिए।
उनले वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) का अन्तर्राष्ट्रिय मापदण्डहरू नेपालमा कार्यान्वयन हुँदै गएको बताउँदै भने, ‘शिक्षा बिना परीक्षण गर्नु अन्याय हो, “एजुकेसन बिफोर टेस्टिङ” आजको मान्यता हो, र नेपालले अब यसलाई पूर्ण रूपमा आत्मसात गरिसकेको छ।’
सत्रमा हालै युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रारम्भ गरिएको ई-लर्निङ प्लेटफर्मबारे पनि जानकारी दिइएको थियो। उक्त प्रणालीमार्फत महिला, नवप्रवेशी, नाबालक तथा पारा खेलाडीहरूले डोपिङसम्बन्धी तालिम लिएर परीक्षा दिएपछि प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
तालिमको क्रममा डोपिङ परीक्षण प्रक्रिया, कन्ट्रोल किटको प्रयोग र खेलाडीका अधिकारबारे अभ्यास गरियो। प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन किट डेमोस्ट्रेसनसमेत प्रस्तुत गरिएको थियो।
यसैबीच, डा. संयुक्ता आचार्यको नेतृत्वमा खेलमैदानमा सम्भावित चोटपटक र आकस्मिक अवस्थाको व्यवस्थापनसम्बन्धी व्यावहारिक तालिम पनि सञ्चालन भयो। उनले प्राथमिक उपचार, स्थिरीकरण प्रक्रिया र मेडिकल टिमबीच समन्वय कसरी गर्ने भन्नेबारे विस्तृत प्रशिक्षण दिइन्।
यो तालिम हालै दुबईमा सम्पन्न २०औं एसिया–ओसियाना मन्त्रीस्तरीय एन्टी डोपिङ सम्मेलनमा उठाइएका मुद्दाहरू कार्यान्वयन गर्ने क्रममा आएको हो, जहाँ नेपालका तर्फबाट मन्त्री तेजुलाल चौधरी र डा. भण्डारीले सहभागिता जनाएका थिए।
प्रतिक्रिया 4