+
+
Shares
विगत विचरण :

सुषमाको वियोगपछि बसेको लत

गिरिजाबाबुले कखरा थाल्दा दाजु बीपी कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएका कारण जेल परिसक्नुभएको थियो । पिताजी नेपालको जेलमा ।

धर्म गौतम धर्म गौतम
२०८२ असार २० गते २१:५६

भाइ विष्णु निष्ठुरीले सामाजिक सञ्जालमा यो फोटो राखेर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको रहेछ । कोइरालाको यो फोटोले पुराना दिनको सम्झना गरायो । निकै बेर यसलाई हेरिरहें । भावुक बनायो ।

भित्रैदेखि माया लागेर आयो । वास्तवमा गिरिजाप्रसाद कोइरालाको जीवन करुणामय छ । पिताजी कृष्णप्रसाद कोइराला सपरिवार भारतमा निर्वासित भएर आर्थिक रूपले अकिञ्चन अवस्थामा रहेका बेला १०२ वर्षअघि (वि.सं. १९८१ असार १८ मा) उहाँको जन्म भएको थियो । कतिसम्म दुरावस्था थियो भने उहाँको एउटा दाइ बालक अवस्थामा बित्दा शिशु शव वेर्ने कात्रो किन्ने पैसासम्म आमा दिव्या कोइरालाका साथमा थिएन ।

वास्तवमा गिरिजाप्रसाद कोइरालाको जीवन करुणामय छ । गिरिजाबाबुले कखरा थाल्दा दाजु बीपी कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएका कारण जेल परिसक्नु भएको थियो । पिताजी नेपालको जेलमा । बाल्यकालमा न मीठो खान पाउनुभयो न राम्रो लगाउन । उहाँको बाल मस्तिष्कमा कस्ता कुरा खेल्थे होला रु

आईए पढ्दा(पढ्दै पढाइ छाडेर विराटनगर जुटमिलमा काम गर्न थाल्नुभयो आर्थिक संकटका कारण । त्यस मिलमा मालिकहरूले मजदुरमाथि गरेको दमन र शोषण देखेर उहाँको विद्रोही स्वभाव विस्फोट भयो । मजदुर आन्दोलन सुरू भयो ।

उता देशबाट राणा शासन फालेर प्रजातन्त्र स्थापनाका लागि क्रियाशील रहेका बीपी कोइरालाहरू पनि आन्दोलनमा सहभागी हुन आइपुग्नु भयो । राणा फौजले घेरा हालेर उहाँहरूलाई गिरफ्तार गरी काठमाडौं चलान गर्‍यो । यसरी जेल पर्दा उहाँ २३र२४ वर्षको हुनुहुँदो हो ।

२००७ सालको क्रान्तिमा बन्दुक बोकेर अग्रिम मोर्चामा लड्दा दुई तीनपटक मृत्यु र उहाँको जम्काभेट नभएको होइन तर ईश्वरले हात थापिदिए भन्नु पर्छ । क्रान्ति सफल भयो, राणा शासन ढल्यो तर कोइराला चुप लाग्नु भएन । दुई चार साथी लिएर उहाँ भुटान जानु भयो त्यहाँ पनि सशस्त्र क्रान्तिमार्फत प्रजातन्त्र स्थापनाका लागि । त्यो सफल भएन उहाँहरू फर्किनु भयो ।

क्रान्ति सफल भयो, राणा शासन ढल्यो तर कोइराला चुप लाग्नु भएन । दुई चार साथी लिएर उहाँ भुटान जानु भयो त्यहाँ पनि सशस्त्र क्रान्तिमार्फत प्रजातन्त्र स्थापनाका लागि । त्यो सफल भएन उहाँहरू फर्किनु भयो ।

आफ्ना दाजु बीपी प्रति उहाँमा असीमित श्रद्धा थियो । दाजुका वचन नाघ्ने वा आदेशको अवमानना गर्ने कुरा त कल्पना बाहिर थियो । भाइलाई च्याप्यो भन्ने आरोप लाग्ला भन्ने भयका कारण पार्टीका सांगठनिक पदहरूमा समेत बीपीले उहाँलाई अन्याय गर्नुभएको थियो । आफूमाथि भएको अन्याय प्रति उहाँ सचेत हुनुहुन्थ्यो तर बिपीका निर्णयविरूद्ध वगावत गर्ने उहाँले कहिल्यै सोच्नु भएन । अन्याय सहेरै बस्नुभयो ।

भुटानबाट फर्केर आएपछि गिरिजाबाबुले विवाह गर्नुभयो मन्दिरमा गएर । उहाँकी जीवनसाथी सुषमा विराटनगरमा पढाउनुहुन्थ्यो । राजनीतिक गतिविधिको व्यस्तताले उहाँले घरमा खासै समय दिन सक्नु भएन । विवाहको दुई सालजसो पछि उहाँलाई पुत्री लाभ भयो ।

छोरी सुजाताले आफ्नो आत्मकथामा पिताको वात्सल्यमा खेल्ने समय पाउन नसकेको गुनासो गरेकी छन् । त्यसको कारण थियो उनका पिताको राजनीतिक संगठनमा रहेको अति व्यस्तता ।

२०१५ सालको आम निर्वाचनमा टिकटको अपेक्षा गिरिजा बाबुको पनि थियो तर बीपीबाट त्यो प्राप्त भएन तथापि उहाँ निर्वाचनको प्रचार प्रसारमा होमिनुभयो । बीपी प्रधानमन्त्री बन्नु भयो तर सत्ताको वरपर जीपी देखिनु भएन ।

२०१७ साल पुस १ गतेको काण्डपश्चात जीपी जेल पर्नुभयो । उहाँ मात्रै होइन उहाँकी पत्नी सुषमालाई पनि समातियो । सुजाताले पनि आफ्नो बाल्यकालका केही समय आमासँग जेलमा बिताएकी छन् ।

२७र२८ दिनको आमरण अनसनले क्लान्त शरीर लिएर सात वर्षपछि गिरिजा बाबु जेलबाट छुट्नु भयो र बीपी लगायतका अरू नेतालाई जेलबाट छुटाउने अभियानमा लाग्नुभयो । काठमाडौंमा राजा महेन्द्र, कलकत्तामा शुवर्ण शमशेर, दिल्ली पटनामा भारतीय समाजवादी नेताहरूसँगको भेटघाटमा धावा थियो उहाँलाई ।

यसैबीच उहाँकी धर्मपत्नी सुषमाको जलनका कारण दुस्खद निधन भयो । सुजाता भन्छिन्, त्यसपछिबाटै जीपीले चुरोट तान्न शुरु गर्नुभयो । अविराम राजनीतिक मिसनमा चुरोट उहाँको अविच्छिन्न साथी बन्यो ।

कोइरालाले फोक्सो भरिने गरी चुरोट तानेको त्यो तस्बिरमा उहाँ बसेको फलैँचा र पृष्ठभूमि हेर्दा ग्रामिण परिवेश भनेर सजिलै बुझ्न सकिन्छ । कहाँ कहिले खिचेको फोटो होला भन्ने जिज्ञाशा जाग्यो तर त्यो खुलाइएको थिएन । मात्र, सोसल मिडियाबाट साभार लेखिएको थियो ।

त्यसमा आएका कमेन्टतिर यसो औंला चलाउँदा इलाम मंगलबारे बजारका मित्र मनकुमार श्रेष्ठको कमेन्टमा नजर पर्‍यो । उनले लेखे अनुसार २०५६ सालको संसदीय निर्वाचनका क्रममा इलाम क्षेत्र नं।

२ अन्तरगत मंगलबारेमा आयोजित आमसभालाई सम्बोधन गर्न जाँदा हुस्सेका कारण निर्धारित स्थानमा बसाउन नसकेपछि एक किलोमिटरजति तल याक्सी भन्ने ठाउँमा पितृभक्त आचार्यको बारीमा हेलिकोप्टर बसाउनुपरेको रहेछ । त्यही बेला साथीहरूलाई पर्खँदै चुरोट तान्न निमग्न कोइरालाको तस्बिर पनि मन कुमारजीले नै लिएका रहेछन् ।

त्यस दिन बिहान क्षेत्र नं। १ को कन्याममा पनि चुनावी आमसभा थियो । मौसम खराब भएकाले नेता कोइराला आउन सक्नुहुन्न भनेर कांग्रेसका उमेदवारलगायतको टोली अर्को गाउँतिर लागेछ । संयोगले त्यस दिन म पनि फिक्कलमा थिएँ । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी पनि विशेष सुरक्षा टोलीसहित फिक्कल आइपुगे । उनकै साथ म पनि कन्यामतिर लागें । हामी कन्याम पुग्दा आठ बज्न लागेको थियो । मौसम पनि खुल्ला(खुल्ला जस्तो भयो ।

एकैछिनपछि दमकतिरबाट होकि होकि जस्तो हेलिकोप्टरको आवाज आयो । आकाशमा बादल थियो, देख्न त सकिएन । यता आश्चर्यजनकरूपमा कुइरो हट्न थाल्यो र पूर्वतिर घाम देखियो । त्यसरी नै माथिको बादल पनि फाट्न थाल्यो र पर आकाशमा सानो चरो जस्तो हेलिकोप्टर देखियो । त्यो बिस्तारै आएर कन्याम माविको प्रांगणमा बस्यो ।

प्रमुख जिल्ला अधिकारी र मैले कोइरालालाई स्वागत गरेर आमसभा हुने स्थानसम्म लग्यौं । सभास्थल चियाबारी बीचको सानो मैदानमा तयार थियो तर त्यहाँ खास मानिस थिएनन् । एउटा कुर्सीमा बसेर कोइराला चुरोट तान्न थाल्नुभयो । १५-२० मिनटपछि मात्रै उमेदवारहरू आइपुगेका थिए । त्यतिञ्जेलमा सभास्थलमा मानिस खचाखच भैसकेका थिए । त्यहाँको सभा सकेर मंगलबारेतिर उडेको थियो हेलिकोप्टर ।

२०१५ सालको आम निर्वाचनमा टिकटको अपेक्षा गिरिजा बाबुको पनि थियो तर बीपीबाट त्यो प्राप्त भएन तथापि उहाँ निर्वाचनको प्रचार प्रसारमा होमिनुभयो । बीपी प्रधानमन्त्री बन्नु भयो तर सत्ताको वरपर जीपी देखिनु भएन ।

२०४८ सालमा नेपाली कांग्रेसले आफ्नो आठौं महाधिवेशन झापाको कलबलगुडीमा आयोजना गरेको थियो । त्यसताका म पत्रकार संघ इलाम शाखाको सभापति थिएँ । हामी तीन चार जना पत्रकार झरेका थियौं त्यस अधिवेशनको रमिता हेर्न र समाचार संकलन गर्न । हामी पुग्दा अधिवेशनको उद्घाटन भएर आमसभा शुरु भइसकेको थियो । हामी मञ्चभन्दा पच्चीस(तीस मिटर उत्तरतिर उभिएका थियौं ।

मञ्चतिरबाट एक जना युवा आएर मलाई, “तपाईंलाई गिरिजाबाबुले बोलाउँदै हुनुहुन्छ” भने । यसो हेरें, उहाँ मञ्चमै अग्रभागमा छेउतिर हुनुहुन्थ्यो । म ती युवकका पछि लागें । मञ्चबाट गिरिजा दाइ ओर्लिएर मतिर आउनुभयो र मेरो कुममा हात राखेर गाडीहरू राखेतिर बढ्नुभयो । त्यहाँ रहेको एउटा गाडीमा पसेर मलाई पनि गाडीमा पस्ने संकेत गर्नुभयो । “हेरन, सिगरेट खान नपाएर।’ भन्दै सिगरेट निकालेर दनादन तान्न थाल्नुभयो ।

गाडीभित्र कुइरिमण्डल भयो । त्यति गरेर उहाँ फिर्नुभयो, म पनि साथीहरू भएका ठाउँमा गएँ । साथीहरू किन बोलाएको रहेछ, के भन्नुभयो भनेर सोध्दै थिए । त्यहाँ वरपरका मानिसको पनि ध्यान मतिर थियो । मैले साथीहरूलाई तिनका जिज्ञासा लम्ब्याउने हिसाबले, “भरै भनौंला ।” मात्रै भनें ।

२०२९(०३३ बीचमा निर्वासनमा भारतमा रहेका बखत गिरिजा दाइसँग मैले नजिकमा रहेर काम गर्ने मौका पाएँ । अधिकतर समाजवादी नेताहरू र कहिलेकाहिँ त्यहाँका उच्चस्तरका ब्युरोक्रेटहरूसँगको भेटघाटमा जाँदा समेत मैले उहाँको साथ दिएको छु ।

त्यति मात्रै होइन हातहतियार संकलनका लागि आपराधिक क्रियाकलापमा संलग्न ग्याँगस्टरहरूसँगको जोखिमपूर्ण भेटघाटमा पनि म साथमा रहेको छु । उहाँको जस्तो काम प्रतिको लगाव, महिनेत र समर्पण मैले अरु कसैमा देखेको छैन भन्दा हुन्छ ।

उहाँलाई दूध र चिनीसहितको बाक्लो चिया खुब मन पर्ने, चुरोटको कुरा त भन्नै परेन । तर हामीले यस्ता दिन पनि भोगेका छौं, चिया खाने पैसा समेत हुँदैन थियो । चिया नभए पनि चल्थ्यो तर चुरोट भएन भने उहाँ पानीबिनाको माछो जस्तो हुने । पैसा हुँदा २र४ पाकेट जगेडामा पनि हुन्थे उहाँसँग तर सधैं त हुँदैन थियो पैसा ।

त्यसैले पैसा भएका बेला एक दुई पाकेट चुरोट सुटुक्क किनेर म आफूसँग पनि राख्थें । उहाँसँग भएको चुरोट सकिएपछि मलाई भन्नुहुन्थ्यो, “ए गौतम, चुरोट ल्याऊ त १” मानौं मलाई राख्न दिएको छ । मैले त्यसरी जोगाड गर्ने पनि उहाँले दिएकै पैसाबाट हो । केही सामान किन्न पैसा दिएपछि उहाँ थप खोजिनीति नगर्ने । फिर्ता नदिए पनि हुने । तर बीपीलाई सामानको विवरणसहित फिर्ता आएको दश पैसा मात्रै भए पनि बुझाउनुपर्थ्यो ।

२०३६ सालमा म जेलबाट छुटेर जनकपुरमा भएको नेविसंघको महाधिवेशनमा पुगेको थिएँ । बीपीको सन्देश लिएर गिरिजा दाइलाई भेट्न भारतको सीमावर्ती बजार जाँदा पाँच पाकेट याक चुरोट पनि लगेको थिएँ । चुरोट देखेर उहाँ मुसुक्क हाँस्नु भयो-हाँस्नु भयो त भनें, वास्तवमा उहाँ रमाउनुभएको थियो ।

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?