+
+
Shares

जापानी कविहरूको नेपाल यात्रा

त्यहाँ बाँडिएको ९ पन्ने परिचय र कवितामा शुरूमा दुई कविता सुन्तारो तानिकावाका छन् ‘अहिले मेरो’ तथा ‘झरीमा पोखरा’ शीर्षकमा ।

गोविन्द गिरी 'प्रेरणा' गोविन्द गिरी 'प्रेरणा'
२०८२ असार २१ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पोखरा भ्रमणमा रहेका जापानी कवि सुन्तारो तानिकावा र सासाकी मिकिरोको परिचय र कविता कार्यक्रम २०५१ साल भदौमा काठमाडौंमा आयोजना भयो।
  • सुन्तारो तानिकावाले १३ नोभेम्बर २०२४ मा निधन भएको जानकारी प्राप्त भयो, उनी जापानी भाषाका प्रख्यात कवि थिए।
  • सासाकी मिकिरो अझै सिर्जनशील छन् र उनी नेपाली र जापानी भाषामा कविता लेख्ने र अनुवाद गर्ने कार्यमा सक्रिय छन्।

अचानक मैले कतै सुन्तारो तानिकावाको नाम पढें, देखें वा सम्झिएँ, उनी नेपाल आएको सम्झना भयो । उनलाई देखेको सम्झना भयो । उनले नेपालको पोखरामा गएर माछापुच्छ्रे देख्न नपाएको कुरा गरेको सम्झना भयो । अनि सोचें, मैले भेट्दा नै उमेर ढल्किसकेका थिए, कति वर्षका भए होलान् ! अनि अनलाइनमा खोजी गर्दा थाहा भयो उनी त १३ नोभेम्बर २०२४ मै बितिसकेका रहेछन् ।

नेपालसँग नाता गाँसेका, नेपाल आएका र नेपाली भाषामा पुस्तक पनि अनुवाद भई प्रकाशित भइसकेका विश्वविख्यात कविको निधनको समाचारबाट नेपाली साहित्य जगत नै बेखबर हुनु उदेकलाग्दो कुरा हो । मैले तानिकावा सुन्तारोको पुस्तक “नग्न” का अनुवादक मञ्जुलसँग सम्पर्क गरें । उनी पनि तानिकावाको मृत्युको खबरबाट बेखबर रहेछन् ।

अनि मैले आफ्ना पुराना कागजपत्रको फाइलमा सुरक्षित ९ पाने स्टिच गरिएका पानाहरू पाएँ जसको सिरानमा सासाकी मिकिरोको परिचय अङ्ग्रेजी भाषामा र त्यसको तल सुन्तारो तानिकावाको परिचय प्रकाशित छ ।  ठिक त्यसको मुनि मैले आफ्नो नाम जापानी अक्षर कातागानामा लेखेको रहेछु, किनभने त्यतिवेला म जापानी भाषा पनि पढ्न जाने गर्थें मित्र उत्तमप्रसाद पन्तको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्ष्टिच्युट पुतलीसडक चोकमा ।

पहिलो पानाको त्यसमुनि मैले नेपालीमा सो दिनको कार्यक्रमको टिपोट पनि गरेको रहेछु । सामान्यतया जापानी साहित्यकारहरूसँग सम्पर्क गर्ने नेपाली सूत्रधार कविहरूमा क्षेत्रप्रताप अधिकारी र तुलसी दिवस हुने गर्थे । यो कार्यक्रमको सूत्रधार चैं तुलसी दिवस नै हुनुपर्छ । किनभने यसमा उनको मात्र संलग्नता देखियो, क्षेत्रप्रतापको देखिएन ।

त्यसो त जापानी साहित्यकारहरूसँग सम्पर्क सूत्रधार परशु प्रधान पनि थिए, उनको हान्स्यो साहेगी नामका जापानी अनुवादकसँग सम्पर्क थियो । उनले नेपाली रचनाहरू अनुवाद गरेका थिए जापानी भाषामा । तर यो गोष्ठीमा परशु प्रधानको संलग्नता थिएन ।

०००

कार्यक्रममा बाँडिएको सो ९ पाने स्टिच गरिएको पानाहरूको पहिलो पृष्ठमा सासाकी मिकिरोको यस्तो परिचय छापिएको थियो- “सासाकी मिकिरो सन् १९४७ मा नारा प्रान्तमा जन्मेका हुन् र ओसाकामा हुर्किएका हुन् । उनको पहिलो कविताको पुस्तक ‘मृतकको चाबुक’ १९७० मा प्रकाशित भयो । त्यसदेखि यता ९ कविता सङ्ग्रह, ८ निबन्ध सङ्ग्रह, २ बालसाहित्यका कृतिहरू तथा आधुनिक जापानी कवि चुया नाकाहारा (१९०७-१९३७) को आलोचनात्मक जीवनी रहेका छन् । अहिले उनी नयाँ पुस्ताका कविहरूको प्रतिनिधि मानिन्छन् नेपालमा ।”

ओकल्याण्ड विश्वविद्यालय मिसिगनमा सन् १९८४ मा ६ महिना आवासीय कविका रूपमा रहेका सासाकी ८ एमएमको चलचित्र र भिडियो पनि बनाउँछन् । उनका केही कविता कोरियाली, नेपाली र रूसी भाषामा अनुवाद भएका छन् ।

त्यसमुनि छापिएको सुन्तारो तानिकावाको परिचयमा लेखिएको थियो, उनी दार्शनिकका सुपुत्रको रूपमा सन् १९३१ मा टोकियोमा जन्मेका हुन् । उनको पहिलो कविताको पुस्तक सन् १९५२ मा छापिएको थियो ।

उनी सन् १९५३ मा युद्धोत्तरकालीन कविहरूको समूह ‘काई’मा संलग्न भए । त्यसपछिका दशकमा उनका ६० कविता सङग्रहहरू प्रकाशित भए साथै उनको ‘हँस माता’ र ‘बदाम’ को अनुवादले उनलाई जापानको उत्तम भाषा प्रयोगमा र आविष्कारी संरचनाका लागि विश्वविख्यात बनायो । सन् १९८९ मा उनले ‘उदासीमा तैरिरहेको नदी’ कविता सङ्ग्रहका लागि ‘अमेरिकन बुक अवार्ड’ पाए ।

यी दुई प्रतिभाको परिचय यतिमा सीमित छैन । सुन्तारो तानिकावा विते पनि सासाकी मिकिरो अझै सिर्जनशील छन् ।

०००

त्यहाँ बाँडिएको ९ पन्ने परिचय र कवितामा शुरूमा दुई कविता सुन्तारो तानिकावाका छन् ‘अहिले मेरो’ तथा ‘झरीमा पोखरा’ शीर्षकमा । ‘झरीमा पोखरा’ कविता त उनले साथकै कवि सासाकी मिकिरोलाई समर्पण गरेका छन् ।

सासाकी मिकिरोको भने ‘शुरुवात शुरु हुन्छ’, ‘लश्कर’, ‘वर्षाको स्वर’, ‘हिम सामु’, ‘लिस्नुमाथिको बच्चा’, ‘अश्वेत राजकुमार’, ‘नगरा वादक’, ‘सुनौला माछा’, ‘मल्लाह’, ‘यस्तो एउटा प्रेम’ शीर्षकका १० कविता रहेका छन् । यी कविताहरूका अनुवादक को हुन् त्यसमा खुलाइएको छैन ।

सुन्तारो तानिकावाको दुवै कविता नेपालमै लेखिएको जनाइएको छ, ‘झरीमा पोखरा’ ९ सेप्टेम्बरमा पोखरामा लेखिएको छ भने ‘अहिले मेरो’ भने पोखराबाट काठमाडौं फर्किएपछि लेखिएको देखिन्छ, १२ सेप्टेम्बर १९९४ मा । त्यस हिसाबले हेर्दा यो भ्रमण सन् १९९४ को सेप्टेम्बर अर्थात् २०५१ साल भदौमा यो कार्यक्रम काठमाडौंमा आयोजना भएको हुनुपर्दछ, त्यही मितिको छेउछाउ ।

०००

यी दुई कविहरूको सम्मानमा एकेडेमीकै तर्फबाट स्वागत तथा कविता वाचन कार्यक्रम राखिएको थियो । २०५१ सालमा मदनमणि दीक्षित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए । कार्यक्रमको अध्यक्षता उपकुलपति मदनमणि दीक्षितले गरेका थिए ।

कार्यक्रममा पाहुनाहरूको स्वागत कवि वैरागी काइँला तथा कवि तुलसी दिवसले गरेका थिए । साथै जापानी पाहुना होजुन ईकुजीले नेपाली भाषामा बोलेकी थिइन् स्वागतका शब्दहरू ।

त्यसपछि ८ नेपाली कविहरूले कविता वाचन गरेका थिए । त्यसरी कविता वाचन गर्ने कविहरूमा केदारमान व्यथित, माधवप्रसाद घिमिरे, ईश्वरबल्लभ, कृष्णभक्त श्रेष्ठ, तुलसी दिवस, मञ्जुल, वानीरा गिरि तथा वैरागी काइँला थिए ।

युवा पुस्ताका कविहरूले कविता वाचनको मौका पाएनन् । आठ जनामा सबैभन्दा युवा मञ्जुल थिए होलान् । नेपाली कविहरूमध्ये तुलसी दिवसले जापानी भाषामा समेत कविता वाचन गरेका थिए ।

जापानी पाहुना मिस यामोमोतोले जापानी कविहरूको परिचय प्रस्तुत गरेकी थिइन् । अनि त्यसपछि तानिकावा सुन्तारो र सासाकी मिकिरोले कविता वाचन गरेका थिए ।

त्यसबेला सासाकी मिकिरोले त्यसअघि पनि आफू नेपाल आएको बताएका थिए र सुन्तारो तानिकावाले पोखरा पुगेर पनि माछापुच्छ्रे देख्न नपाएको, शायद अर्कोपल्ट देख्न पाइएला कि भनेका थिए । तर शायद उनी फेरि नेपाल आएनन् र उनको माछापुच्छ्रे हेर्ने धोको अधूरो नै रह्यो ।

०००

यति पृष्ठभूमिपछि तानिकावा सुन्तारो र सासाकी मिकिरोका एक–एक कविता त्यही ९ पानेबाट प्रस्तुत गर्न चाहन्छु पाठकहरूका लागिः

झरीमा पोखरा
(सासाकी मिकिरोप्रति)
तानिकावा सुन्तारो

हिमाल यदि झुल्किएको भए
स्त्रीहरू हिंडिसकेका हुन सक्छन्
आफ्नै रगतले निधारमा टिको लगाएर फनक्क सप्को फर्फराउँदै
धुलौटे बाटो हिंड्दै गरे जस्तै चालले
निडर भएर माछापुच्छ्रेको चुली नाघ्दै
शब्दहीन ब्रह्माण्डतर्फ चढ्दै गएका हुन सक्छन्

हिमाल यदि झुल्किएको भए
पुरुषहरू अझ अमूक हुन्थे होलान्
स्त्रीहरूले छोडेका पुरुषहरूले गुहार्ने ठाउँलाई
अलि फराकिलो दृष्टि लिन सक्थे होलान्
केवल एउटा अक्षरको पनि अस्तित्व रहन नदिने निक्खर सेतो हिउँको पाना
देवताहरूको निवासमा जति नजिकिन्छ त्यति बढ्दै जाने उकुसमुकुसी…..

तर धरतीबाट अलग्गिन खोज्ने पुरुषहरू धरतीमै छोडिन्छन्
र स्वर्गको आकांक्षा नबोकेका स्त्रीहरू स्वर्गमा फर्किन्छन्

हिमाल यदि झुल्किएको भए
हामीहरू वर्षदो झरीमा पर्खिनुपर्दैनथ्यो
गगनचुम्बी भवनभन्दा अग्ला धुरी नभएको शहरबाट आएर
उपहार पसलको प्लास्टिकको पालीमुनि हिलोमा निहुरी
दन्त्यकथा र श्वैरकाल्पनिक कथाको अन्तरालमा
केको प्रतीक्षा गरेको पनि थाहा नभइकन

(९ सेप्टेम्बर १९९४, पोखरा)

यस्तो एउटा प्रेम

-सासाकी मिकिरो

तोपुका भाषामा तिमीले
साउती मारेको बेला
मैले तिम्रा औंलाहरू देखें
लाचुले भाषामा मैले
तिमीसँग बात मारेको बेला
तिमीले मेरो नाक देख्यौ
त्यति बेला
एउटा कालो कुकुर
हामीलाई पछ्याउँछ
र कुकुरको भाषामा भुक्छ
आईङ्ग, आईङ्ग !

तुवाँले पहाडहरू चुपचाप छन्
बोट-बिरूवा सोइसोइला खेल्छन्
पानीहरू तलतल बग्छन्
एउटा भेडो देखा पर्छ
र कालो जिब्रोले मेरा गालाहरू चाटेर
चुपचाप गुज्रिन्छ
जब हामी
एक-अर्काको आँखामा हेरिरहेका हुन्छौं
सेतो बालुवा
अनि यसमा जौका बाला देख्छौं
म शब्दहरूले थकित भैसकेको छु ।

(कागबेनी, १९९०)

यी दुवै कवितामा नेपालको माटोको सुगन्ध अनुभव गर्न सकिन्छ । तानिकावा सुन्तारोको कविता तत्कालकै भ्रमणको वेला पोखरामा लेखिएको हो भने सासाकी मिकिरोको कविता अघिल्लो भ्रमणको वेला कागवेनीमा लेखिएको हो । यी कविताहरू नेपालका लागि जापानी कविहरूको हृदयको आत्मिक उपहार हो शब्द, भाव र अनुभूतिमा ।
०००

भर्जिनिया, अमेरिका ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?