+

सेतो कोटको ‘मौन विद्रोह’

२०८२ असार  २२ गते १२:५४ २०८२ असार २२ गते १२:५४
Shares
सेतो कोटको ‘मौन विद्रोह’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ।
  • लेखले चिकित्सकहरूको मौनता र न्यायप्रति उनीहरूको आस्थालाई व्यक्त गर्दछ, र चिकित्सक र न्यायपालिकाबीच सन्तुलन आवश्यकता बताउँछ।
  • लेखले चिकित्सकहरूको संघर्ष र न्यायप्रति उनीहरूको विश्वासलाई बल दिनु आवश्यक रहेको औंल्याएको छ।

हामी जतिसुकै मौन रहन खोजे पनि, कहिलेकाहीं मौनताको पनि भाषा हुन्छ । र त्यो मौनता, शब्दभन्दा कडा हुन्छ । अहिले त्यही मौनता सेतो कोटभित्रबाट चिच्याउँदै छ, ‘म पनि सञ्जीव तिवारी।’

हिजो अस्पतालको कोठाभित्र बिरामीको मुटुको धड्कन नाप्दै गरेका हातहरू अहिले अन्यायको विरुद्ध उठिरहेका छन् । हिजो जुन हातहरूले अरूको ज्यान बचाउन शल्यक्रिया गरेका थिए, आज ती हातहरू आफैँलाई बचाउने दस्तावेजमा हस्ताक्षर गरिरहेका छन् । अनि त्यो सेतो कोट, जुन पीडितका आँसु सुकाउने कपासजस्तै थियो । आज पीडाले आफैँ रुन थालेको छ।

मुद्दाको नाम अदालत अवहेलना थियो, तर…

नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीविरुद्ध अदालतमाथि अवहेलनाको मुद्दा दर्ता भयो । कानूनी प्रक्रियाको परिधिमा यो सामान्य लाग्न सक्छ, कसैले अदालतको नमिल्दो न्यायमाथि प्रश्न गर्‍यो, अदालतले त्यसको प्रतिक्रिया देखायो । तर, यथार्थ त्यो होइन ।

त्यो आवाज कुनै व्यक्तिगत प्रतिक्रिया थिएन, त्यो त हजारौँ चिकित्सकहरूको आत्माको अभिव्यक्ति थियो। त्यो आक्रोश थियो, ती फैसलाप्रति जसले चिकित्सा व्यवसायलाई अपराधजस्तो देखायो । त्यो चित्कार थियो । जब एक चिकित्सकले उपचारका लागि १०० प्रतिशत निष्ठा दिए पनि, परिणाम अनुकूल नआउँदा उनलाई करोडौँ क्षतिपूर्तिको मुआब्जा भर्नुपर्ने फैसला सुनाइयो ।

चिकित्सकको गल्ती हुँदा कारवाही हुनुपर्छ, पक्कै पर्छ। तर, उपचारमा अपूर्णता र ‘मालप्राक्टिस’ बीचको सिमाना छुट्याउन नसक्ने न्याय प्रक्रियाले यदि सम्पूर्ण चिकित्सक समुदायलाई अपराधीको सन्देहमा हेर्न थालेको देखियो । यो चिकित्सा विज्ञानमाथिको न्यायिक हिंसा होइन र ?

‘म पनि सञ्जीव तिवारी’ किन भनिरहेका छन् चिकित्सकहरू ?

यो अभियान कुनै प्रचारको मोह होइन, यो त सामूहिक घाउको प्रतिविम्ब हो । सामाजिक सञ्जालमा जब एक डाक्टरले लेख्छन्, ‘म पनि सञ्जीव तिवारी’, त्यसको अर्थ हुन्छ,

‘म पनि दिनरात बिरामीको सेवामा छु ।’

‘म पनि कहिलेकाहीँ असफल हुन्छु, तर कदापि बेइमान हुन्न ।’

‘म पनि न्यायको पक्षमा छु, अन्यायपूर्ण निणर्यको विरोध गर्दछु।’

यो लहर मात्रै होइन, बाध्यता हो । जहाँ प्रत्येक सेतो कोटले भनिरहेको छ, ‘हामी अपराधी होइनौं, हामी स्वास्थ्यकर्मी हौं, हामीलाई दोष दिनुअघि हाम्रो संघर्ष बुझ्नुहोस्।’

चिकित्सा पेशा र न्यायबीच सन्तुलन जरूरी 

स्वास्थ्य सेवा साधारण व्यवसाय होइन। यहाँ परिणाम सधैं ग्यारेन्टी हुँदैन। एउटा बिरामीको मृत्युले डाक्टरको रातभरको निद्रा हराउँछ । अनि फेरि त्यसै मृत्युले अदालतमा करोडौँको क्षतिपूर्ति तिर्नुपर्ने फैसला आउँछ । अरुलाई त उपचारमा खटिएको डाक्टर र मेडिकल टिमको असफलता भन्दा पनि बिमारीको मृत्यु मात्रै नजर आउलान् तर अदालत त दुवैको हो नि ? बचाउने प्रयासमा खटिएका मेडिकल टिम र बिरामी पक्ष दुवै पीडित हो नि । अनि त्यो एक असफलताले चिकित्सकको जीवन भरको ‘सेवा’को मूल्यांकन गर्न मिल्छ ?

उपभोक्ता अदालतमार्फत स्वास्थ्य संस्थामाथि निगरानी हुनुपर्छ, तर त्यो निगरानी जटिलताको ज्ञान, प्रमाण र सन्दर्भमा आधारित हुनुपर्छ । नत्र, हाम्रै कानुनी प्रणालीले चिकित्सकलाई उपचारभन्दा कानुनी बचाउमै केन्द्रित बनाउने खतरा छ। त्यसैले यो निगरानी विज्ञले मात्रै गर्न सक्छन् । र विज्ञहरू भएको नेपाल सरकारको अंग ‘नेपाल मेडिकल काउन्सिल’ छ । यस्ता लापरवाहीको पहिलो अदालत नै काउन्सिल हुनुपर्छ ।

एकताको आवाज : मौन विद्रोहको शक्ति

नेपालभरिका अस्पतालहरूमा आज एक मौनता फैलिएको छ। तर त्यो मौनता कमजोर होइन । यो एक साझा पीडाको एकता हो। ‘म पनि सञ्जीव तिवारी’ लेख्नुभएका हरेक डाक्टरको मनमा न्यायप्रतिको आस्था अझै मरेको छैन, तर अवहेलना भन्नु अघि, त्यो आवाज किन उठ्यो भन्ने बुझ्न आग्रह गरिएको मात्र हो ।

यो अभियानले सेतो कोटभित्र पनि संवेदना हुन्छ, स्वाभिमान हुन्छ भन्ने देखाएको छ । जब त्यो स्वाभिमानमाथि प्रश्न उठाइन्छ, तब हजारौँ डाक्टरहरूको शान्त अनुहारभित्र विद्रोहको गहिरो लहर पस्न थाल्छ ।

न्याय र सेवाको सन्तुलित सेतु

न्यायपालिका र चिकित्सा सेवा, दुवै समाजका मेरुदण्ड हुन् । दुवैको धर्म सत्य, सेवाभाव र मानवताको रक्षा गर्नु हो । यदि यिनै दुई शक्तिबीच अविश्वासको दूरी बढ्न थाल्यो भने, त्यसको असर न त अदालतलाई मात्र पर्नेछ, न त अस्पताललाई मात्र । त्यसको असर सिधै बिरामीलाई पर्नेछ ।

अत: चिकित्सा पेशाको प्रकृति बुझ्ने कानुनी दृष्टिकोण आवश्यक छ । चिकित्सकमाथि अनुशासन कायम राख्ने संयमित प्रक्रिया, र न्याय प्राप्तिको नाममा चिकित्सकको आत्मसम्मानलाई निमोठिनु हुँदैन ।

सेतो कोटलाई पनि न्याय चाहिन्छ । र, कालोकोटको शब्दको भुमरीमा न्यायलय नअल्झियोस् । न्यायालयको विश्वास पनि सेतोकोटलाई चाहिएको छ। अनि यही विश्वासले बिरामीलाई बचाउने आस्था, धर्म, इमानदारिता बाँचेको छ।

(लेखक डा. बालकृष्ण साह, नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिव हुन्।)

सेतोकोट
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)