
२५ असार, पोखरा । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कालाई साधारण सदस्यबाटै निष्कासित गरेको छ । २०७९ मंसिरको निर्वाचनमा अन्तरघात गरेको भन्दै पूर्वमन्त्री खड्कालाई एक वर्षका लागि निष्कासित गरिएको हो ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढालेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली नेतृत्वमा गठित सरकारमा सामाजिक विकास हुँदै खड्का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका थिए । सरकारलाई असहयोग गरेको र आफ्नै पार्टीका उम्मेदवार तथा कानुनमन्त्री समेत रहेका विन्दुकुमार थापालाई चुनावमा हराउन लागेको भन्दै खड्कालाई मुख्यमन्त्री नेपालीले बर्खास्त गरेका थिए ।
कास्की–२ को (ख) मा प्रत्यक्ष टिकट चाहेका खड्कालाई उछिन्दै दोस्रो पटक पनि थापाले टिकट पाएका थिए । टिकट नपाएपछि मन्त्री खड्काले विन्दुकुमार थापालाई हराउन लागि परेको भन्दै कांग्रेस कास्कीले केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरेको थियो । विन्दुकुमार दोस्रो पटक चुनाव जितेर अहिले गण्डकी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री छन् ।
मन्त्रीबाट बर्खास्त भएपछि त्यसैबेला खड्काले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री नेपाली र थापामाथि विभिन्न आरोप लगाएका थिए भने बर्खास्त गर्नुपर्ने कारण मागेका थिए । कांग्रेस प्रतिपक्षमा हुँदा संसदमा उनी सत्ता पक्षलाई दबाबमा राख्ने सांसदका रुपमा चिनिन्थे ।
पृथ्वीसुब्बा नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस नेतृत्वको सरकार बनाउन सक्रिय भूमिका खेलेका खड्का मुख्यमन्त्री नेपालीसँगै २०७८ जेठ २९ गते मन्त्री बनेका थिए । तर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै २०७९ कात्तिक २९ गते चुनावको मुखमै बर्खास्तमा परेका हुन् ।
उनै खड्का मन्त्रीबाट मात्रै बर्खास्त भएनन्, चुनावमा कांग्रेसकै उम्मेदवारलाई हराउन लागेको आरोपमा साधारण सदस्यबाटै निष्कासित भएका हुन् । खड्का तिनै व्यक्ति हुन्, जसले २०७४ सालमा तत्कालीन अखण्ड नेपाल पार्टी नै कांग्रेसमा विलय गराएको घोषणासहित सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएका थिए ।
जातीय राज्यको विरोध गर्दै खस क्षेत्री एकता समाजको ब्यानरमा आन्दोलनको नेतृत्व गरेका खड्काले अखण्ड नेपाल पार्टी नै बनाएका थिए । दोस्रो संविधानसभामा उनी पार्टीको तर्फबाट समानुपातिक सांसद भए ।
सत्ताको रस्साकस्सीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७३ मा एकमात्र सांसद रहेको अखण्ड नेपाल पार्टीबाट उनी महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेका थिए ।
इन्जिनियरिङका विद्यार्थी खड्का सुरुमा नेपाल विद्यार्थी संघको राजनीति गर्दै इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखराको स्ववियु सभापति समेत बनेका थिए । उनी पछि यूरोप बसेर फर्किएपछि आदिवासी–जनजातीले जातीय राज्यको माग गर्दा उनीसहितको नेतृत्वमा बाह्मण, क्षेत्रीहरुको आन्दोलन छेडेका थिए ।
कांग्रेस पृष्ठभूमि भए पनि बेलायतबाट फर्केपछि खड्काले खस क्षेत्रीको जातीय राजनीति गरेका थिए । नयाँ संविधानले समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड राखेपछि कांग्रेस प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका खड्का भाषणबाजका रुपमा चिनिन्छन् ।
उनले कांग्रेसमा पार्टी बिलय गराएको घोषणा गराएपछि अखण्ड नेपालका अन्य नेताहरु पनि विभिन्न पार्टीमा प्रवेश गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षकै नेता मानिने खड्का र व्यापारी पृष्ठभूमिबाट सांसद हुँदै मन्त्री बनेका विन्दुकुमार थापाबीच सुरुदेखि टक्कर थियो । उनै थापालाई असहयोग गरेको भन्दै १ वर्षका लागि पार्टीको साधारण सदस्यबाट समेत निस्काशनमा परेका खड्का पछिल्लो समय सक्रिय राजनीतिमा थिएनन् भने सार्वजनिक मञ्चहरुमा समेत कम देखिन्थे ।
केन्द्रीय अनुशासन आयोगले कारबाही गरेको पत्र आफूलाई ‘सरप्राइज’ भएको खड्काले प्रतिक्रिया दिए । ‘अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीबाट निस्काशन गरिएको पत्र ह्वाट्सअपमा आइपुगेको छ,’ खड्काले भने, ‘मेरो दोष के हो, गल्ती के हो भन्ने केही पनि जानकारी छैन । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई असहयोग गरिएको भनिएको छ । यो पत्रले म आफैं सरप्राइज भएँ ।’
१/२ जनाको रहरले, भोलिको प्रतिस्पर्धाको डरले आफूलाई निस्काशित गरिएको खड्काको प्रतिक्रिया छ । निस्काशित नै गरिन्छ भनेर आफूले १ प्रतिशत पनि कल्पना नगरेको उनको भनाइ थियो ।
केही नेताको रहरले इमान्दार कार्यकर्तालाई यसरी नै दण्डित गर्ने हो भने त्यसले क्षति गर्ने र धेरै कार्यकर्तामा निराशा पैदा गर्छ भनेर सभापति देउवालाई नै भनेको उनले सुनाए । अबको राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफूले अहिले केही नसोचेको खड्काको प्रतिक्रिया छ ।
निलम्बन भएपछि निवर्तमान सभापति केसी भन्छन्: ०८४ मा भेटौंला
२०७९ मंसिरको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा कांग्रेसकै उम्मेदवारलाई हराउन लागि परेको उजुरी परेपछि कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसी र वडा नम्बर ९ की वडा सदस्य भावना श्रेष्ठ निलम्वित भएका छन् । केन्द्रीय अनुशासन आयोगले पार्टीको विधानविपरीतका गतिविधि गरेको भन्दै केसी र भावनालाई पनि निलम्वन गरेको हो ।
केसीलाई ३ महिना र श्रेष्ठलाई ६ महिना निलम्वन गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । निवर्तमान सभापति केसी कास्की क्षेत्र नम्बर १ मा टिकटको आकांक्षी थिए । तर उनलाई उछिन्दै कास्की जिल्ल सभापति किशोरदत्त बरालले टिकट ल्याएपछि उनलाई हराउन सक्रिय भएको आरोप केसीमाथि थियो ।
कास्की–१ मा केसीले असहयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । निलम्वनमा परेपछि केसीले सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । उनले आफू निरन्तर जनताको सेवामा लागिरहेको बताउँदै अब २०८४ को चुनावमा भेट हुने उल्लेख गरेका छन् ।
‘म जहाँ रहे पनि कास्की जिल्लाको सामाजिक विकास र राजनीतिमा रहने नै छु । मैदान छाडेर भाग्ने छैन । जो जसले म पार्टीमा नरहँदा आफु सुरक्षित ठान्नु भएको छ उहाँहरुसंँग ०८४ मा भेटौला,’ केसीले सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन् ।
वडा सदस्य भावनाले पनि कास्की–२(ख) मा विन्दुकुमार थापालाई नै हराउन लागेको भन्दै उजुरी परेको थियो ।
प्रतिक्रिया 4