+
+
Shares

रसुवागढी जलविद्युत्‌का २३ प्राविधिक, जो भाग्यले बाँचे

‘हामी बसेको आवास गृहबाट पाँचौँ मिनेटमा निस्किएर सुरक्षित स्थानमा पुगिनसकेको भए कोही पनि बाँचेको हुने थिएनौं,’ आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारी सम्झन्छन् ।

विकास श्रेष्ठ गौरव पोखरेल विकास श्रेष्ठ, गौरव पोखरेल
२०८२ असार २६ गते २१:४०

२६ असार, रसुवा/काठमाडौं । मिनेट–मिनेटको मूल्य कति हुनसक्छ ? कल्पना गर्नुहोस्, तपाईं बिहानपख गहिरो निद्रामा हुनुहुन्छ र अचानक तपाईंको घरै बगाउने गरी बाढी आएको छ । त्यसबाट बच्न तपाईंलाई चाहिने समय भनेको केवल एक मिनेट ।

यस्तै भयो मंगलबार बिहान रसुवागढी जलविद्युत् आयोजनामा । चीनको तिब्बततर्फबाट बिहान ३:१५ बजेतिर उर्लिएको बाढीले क्याम्पमा सुतिरहेका २३ जना इञ्जिनियर र प्राविधिकलाई ज्यान जोगाउन अधिकतम चार मिनेटको अवसर मात्र दियो । कर्मचारीहरूकै शब्दमा, त्यो चार मिनेटले उनीहरूलाई मृत्युको मुखबाट बचायो ।

‘हामी बसेको आवास गृहबाट पाँचौँ मिनेटमा निस्किएर सुरक्षित स्थानमा पुगिनसकेको भए कोही पनि बाँचेको हुने थिएनौं,’ आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारी सम्झन्छन्, ‘कसैले कल्पनै नगरेको बेलामा एकले अर्कोलाई बोलाउँदै, हल्लाउँदै उठाएपछि मात्र सबैजना जोगिन सक्यौं ।’

कसैले एकाएक हल्लिएको जमिनका कारण आँखा खोले । कसैलाई छेउको साथीले हल्लाएर उठायो । ‘कोही स्यान्डोमै थिए, कोहीले हाफ पाइन्ट मात्र लगाएका थिए,’ अधिकारी भन्छन्, ‘त्यस्तो बेला ज्यान जोगाउनु बाहेक केही सोच्ने स्थिति नै थिएन ।’

गुल्मीको रुरु क्षेत्र गाउँपालिका स्थायी घर भएका इञ्जिनियर यमबहादुर दर्लामीका लागि त्यो बिहान कहिल्यै नबिर्सिने बन्यो । ‘क्याम्प एक्कासी हल्लियो, भूकम्प होला भनेर उठेँ । बाहिर निस्किएर हेर्दा खोला त उर्लिएर आइरहेको थियो,’ उनले अनलाइनखबरसँग सुनाए, ‘मैले यति ठूलो बहावमा खोला उर्लिएको कहिल्यै देखेको थिइनँ ।’

त्यसपछि उनी साथीहरूलाई ब्युँझाउन लागे । हल्लखल्ला सुरु भयो । एकपछि अर्काे उठ्दै गए । कोही चप्पलसमेत नलगाई दौडिए ।

‘हामी सुतेको ठाउँ पाँच मिनेटभित्रै वासआउट भयो । न पानी परेको थियो, न कुनै पूर्वसूचना थियो । हेर्दैहेर्दै क्याम्पको आठ वटा हायलक्स गाडी बग्यो । सबै सामग्री बगायो ।’

क्याम्प स्थल २०७० सालदेखि निर्माण सुरु भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको स्थायी कर्मथलो थियो । चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहको संयुक्त लगानीमा स्थापना भएको आयोजनाले १६ पुस २०८१ देखि व्यवसायिक उत्पादन थालेको थियो ।

निर्माणकालदेखि नै अधिकतम १०० जना बस्न मिल्ने आवास गृहमा अहिले २३ जना मात्र थिए । ‘हामी सधैंजसो त्यहीँ बस्छौं,’ अधिकारी भन्छन्, ‘व्यक्तिगत सामान, लत्ताकपडा, ल्यापटप, अफिसका सबै फाइल र सामग्री त्यहीँ थिए । अहिले केही बाँकी छैन ।’

इञ्जिनियर दर्लामीले दुईपटक बाढीको तीव्र बहाव महसुस गरेका थिए । ‘पहिलो चोटि आउँदा क्याम्प घेरिएको थियो, दोस्रोचोटि आएपछि सबै बगायो,’ उनी भन्छन्, ‘धन्न, हामी समयमै पारिपट्टिको अग्लो स्थानमा पुग्न सक्यौं ।’

उनीहरू जहाँ पुगे, त्यहाँ सानो ओढारजस्तो सुरक्षित स्थान थियो । बिहानको झिसमिसेमा दर्लामीले गाउँमा रहेकी आमालाई फोन गरे, ‘बाढी आयो, तर हामीलाई सबै ठीक छ, टेन्सन नलिनू ।’ त्यसपछि आफू आनन्दले बसेको उनी सुनाउँछन् ।

तर भोक र तिर्खाको समस्या सुरु भइसकेको थियो । साथमा खानेकुरा केही थिएन, पानीसमेत थिएन । अधिकारीले भने, ‘हामी सुतेको ठाउँ पाँच मिनेटभित्रै वासआउट भयो । न पानी परेको थियो, न कुनै पूर्वसूचना थियो । हेर्दैहेर्दै क्याम्पको आठ वटा हायलक्स गाडी बग्यो । सबै सामग्री बगायो ।’

बिहान उज्यालो भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाबाट सम्पर्क भयो । ‘रसुवागढी जलविद्युत् आयोजनाका सीईओसँग पनि सम्पर्क भइसकेको रहेछ,’ दर्लामी भन्छन्, ‘पछि देख्यौं, थुप्रै हेलिकप्टरहरू आइरहेका थिए । हामी हात हल्लाएर बसिरह्यौं, तर पछि थाहा भयो, ती कैलाश मानसरोवरतिर गएका रिजर्भ हेलिकप्टर रहेछन् ।’

उनीहरूले आकाश हेर्दै घण्टौं बिताए । उद्धारका लागि हेलिकप्टर आउला भनेर पर्खिरहे । दिउँसो झण्डै १ बजेतिर नेपाली सेनाको हेलिकप्टर आएर रेकी गर्‍यो । त्यसपछि बल्ल उनीहरूको उद्धार भयो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, मौसम प्रतिकूल हुँदा बिहान हेलिकप्टर त्यहाँ अवतरण गर्न सकेको थिएन ।

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम शाही पनि काठमाडौंमै थिए । उनीहरू पनि बिहानै सेनाको हेलिकप्टरमा त्यसतर्फ गएका थिए । ‘तर, पहिले हेलिकप्टर नै नुवाकोटमा अवतरण गरेको थियो’, बस्नेत भन्छन् ।

दिउँसो सेनाले उद्धार गरेपछि बल्ल बाँचिएछ भन्ने महसुस भएको दर्लामी बताउँछन् ।

यही बीचमा आयोजना केही दिनदेखि बन्द थियो । हेडबक्समा समस्या आएपछि उत्पादन रोकिएको थियो । संयोग नै भन्नुपर्छ, यही कारणले हेडबक्स टनेल सुरक्षित रहेको कर्मचारीहरु बताउँछन् ।

‘टनेलमा रहेका साथीहरू पनि भाग्यले बाँच्नसके,’ अधिकारी भन्छन्, ‘बाढीको चापले ल्याएको पानी र बालुवा पावर हाउसको टर्बाइन फ्लोरसम्म पसेको छ ।’

जलविद्युत् क्षेत्रभित्रका दुई तला डुबानमा परे । तर मुख्य उपकरणहरू राखिएका माथिल्लो तला चाहिँ सुरक्षित रहेको अधिकारीहरू बताउँछन् । ड्याम भने क्षतविक्षत भएको छ । पावर हाउसमा जम्मा भएको पानी पम्पमार्फत निकाल्ने काम सुरु भएको छ ।

अधिकारीका अनुसार, उनीहरूलाई पछि मात्रै थाहा भयो, बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल भत्काइदिएको रहेछ । र, त्यसको संरचना आयोजनाको हेडबक्सको संरचनासम्मै आइपुगेको रहेछ ।

‘१०० वर्षको बाढीको सम्भावना मूल्यांकन गरेर हेडबक्सको स्ट्रक्चर बनाइएको थियो,’ अधिकारी भन्छन्, ‘तर १७९६ मिटरको टप लेभलभन्दा माथिसम्म बाढीको बहाव पुगेछ । सायद ढुंगा–बालुवाले बाटो थुनेर यस्तो भयो होला ।’

इन्टेकभित्र एउटा गाडीसमेत पुरिएको शंका गरिएको छ । डिजेन्टरमा लेदो र ढुंगा छिरेको छ । गेट कन्ट्रोल गर्ने संरचना सबै बन्द भएको छ । पम्प हाउस, मोटर हाउस—सबै ध्वस्त छन् । ‘अब फेरि बनाउने कति समय लाग्छ भन्ने अहिल्यै भन्न सकिन्न,’ अधिकारी भन्छन् ।

आयोजनाका प्रवक्ता नरनाथ न्यौपानेका अनुसार, सबैभन्दा ठूलो क्षति हेडबक्स क्षेत्रमा भएको छ । ‘तर ठ्याक्कै मूल्यांकन गर्न त्यहाँ पुग्नैपर्छ,’ उनी भन्छन्, ‘तर हाल त्यहाँ पुग्न सक्ने अवस्था छैन । पुलहरू भत्किएका छन्, बाटो अवरुद्ध छ, लेदो जमेको छ ।’

तत्काललाई काठमाडौँबाट हेलिकप्टरमार्फत पम्प पठाइएको छ । ‘पानी समयमै निकाल्न सकेनौं भने उपकरणमा अझ क्षति पुग्न सक्छ,’ न्यौपाने भन्छन्, ‘तर कर्मचारीहरू अझै मानसिक तनावमा छन् । सबैलाई परिचालन गर्न सकिएको छैन ।’

त्यसैले क्षतिको पूर्ण विवरण आउन अझ केही दिन लाग्ने उनले बताए । ‘त्यसपछि मात्र आयोजनाको पुन: सञ्चालनमा कति समय लाग्छ भन्ने स्पष्ट हुनेछ,’ उनले थपे ।

तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे भन्सार, मितेरी पुल, जलविद्युत् आयोजना लगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । पुल पुनर्निर्माणका लागि सरकारले चीन सरकारसँग सहयोग माग्ने निर्णय बुधबार गरेको छ ।

यो विपद्‌मा अहिलेसम्म कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ भने २० जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्वतन्त्र अध्ययनकर्ताहरूले चीनको तिब्बत क्षेत्रमा हिमनदी पग्लिएर बनेका हिमतालबाट बाहिरिएको पानीले रसुवामा बाढीको रूप लिएको हुनसक्ने देखिएको बताएका छन् ।

भू–उपग्रह तस्वीर विश्लेषणले त्यसको संकेत गरेको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

लेखक
विकास श्रेष्ठ

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?