
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहविरुद्ध प्रहरीमार्फत अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्।
- प्रहरी महानिरीक्षक दीपक थापाले केन्द्रीय अनुसन्धान ब्यूरो र मानवबेचबिखन अनुसन्धान ब्यूरोलाई अनुसन्धान जिम्मा दिएको र अध्यागमन विभागले सहयोग गर्ने जानकारी दिएका छन्।
- स्पेनमा सहभागी गराउने भन्दै रकम असुली गरी असम्बन्धित व्यक्तिहरू विदेश पठाएको शंका भएपछि भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने तयारी भइरहेको छ।
३० असार, काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोह विरुद्ध प्रहरीमार्फत अनुसन्धान हुने भएको छ ।
सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले प्रहरीमार्फत यो मामिलामा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रारम्भिक जाँचबुझमा असम्बन्धित व्यक्तिहरू समेत गएको हुनसक्ने देखिएपछि त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र त्यसअन्तर्गत रहेको मानवबेचबिखन अनुसन्धान ब्यूरोले यो मामिलामा जानकारी संकलन गर्ने काम सुरु गरिसकेको ब्रिफिङ सुनाएका थिए ।
‘त्यसक्रममा प्रहरीलाई थप अनुसन्धान गर्ने जिम्मा दिने र अध्यागमनले त्यसमा सहयोग गर्ने निर्णय भयो’, ती अधिकारीले अनलाइनखबरसँग भने ।
उनका अनुसार स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाइसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने तयारी छ ।
‘त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरूलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकृतले भने ।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई बिचौलियाले मड्रिड लगेका थिए ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरूको नाम वेबसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।
त्यसरी दिइएको आवेदनमार्फत उनीहरुको नाममा कार्यक्रमको निम्तो आएको थियो । र, त्यो निम्तो देखाएर उनीहरूले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए ।
पछि भिसा लिएकाहरूको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरूलाई पठाइएको थियो भने उनीहरूलाई रोक्न भनिएको थियो । त्यसदिन खानेपानीमन्त्री प्रदीप यादवसहित केही अधिकारीहरू सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै थिए ।
यादवसहितको टोली स्पेन जान लागेका बेला पनि थुप्रै व्यक्तिहरू फर्काइएका थिए । अनलाइनखबरले स्पेनमा पुगेका व्यक्तिहरू र प्राप्त कागजातका आधारमा कम्तीमा ७ जना नागरिक कार्यक्रममा नगइ त्यही बसेको देखिन्छ ।
गृह मन्त्रालयमा भएको बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहभागी थिए । मानवबेचबिखन ब्यूरोका प्रमुख पंगेनीले आइतबार अनलाइनखबरसँग कुरा गर्दै उजुरी आए प्रहरीले यसबारे अनुसन्धान गर्ने बताएका थिए ।
प्रतिक्रिया 4