
३२ असार, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बेरुजु र आर्थिक समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको छ । त्रिविका प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको हो ।
‘त्रिविमा बेरुजु र आर्थिक सम्बन्धी समस्या देखियो । दीर्घकालीन समस्याको समाधान गर्न समिति गठन गरिएको हो,’ त्रिविका एक पदाधिकारीले जानकारी दिए ।
संयोजक अर्यालले पनि आफूलाई जिम्मेवारी लिन पदाधिकारीले भनेको अनलाइनखबरसँग भने । ‘समितिमा रहेर काम गर्न प्रस्ताव आएको छ । राम्रो टिम बनाउन भनेको छु,’ उनले भने ।
समितिले त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको विषयमा पनि समस्याको दीर्घकालीन समाधानको पनि खोजी गर्नेछ ।
अध्ययन संस्थान २०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती भएको छ । यसपछि अध्ययन संस्थान अन्तर्गतका ५ वटा इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् ।
पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसका शिक्षकले आन्दोलन गर्दै आएका छन् । गत असार १९ देखि आन्दोलन गर्दै आएका शिक्षकहरूले २५ गतेदेखि पठनपाठन ठप्प पारेका छन ।
गठित समितिले इन्जिनियरिङ अध्ययन संस्थानको समस्याको पनि अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।
‘२०८० को बजेट वक्तव्यमा आएको विषयको समाधान गर्न कमिटी गठन गरिएको हो,’ एक पदाधिकारीले भने।
संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग इन्जिनियरिङका शिक्षकहरूको माग छ ।
प्रतिक्रिया 4