
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध कम्तीमा १५ करोड बचत अपचलनको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
- तीनसय बढी बचतकर्ताले प्रदेश सहकारी दर्ता अधिकारी र इलाका प्रहरी कार्यालयमा ठगीको उजुरी दिएका थिए र प्रहरीले व्यवस्थापक वसन्त पराजुलीलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
- सहकारीका अधिकांश पदाधिकारी नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता हुन् र बचत अपचलनको विषयमा लेखापरीक्षकको प्रतिवेदनपछि मात्र स्थिति स्पष्ट हुने बताइएको छ।
२ साउन, बुटवल । कम्तीमा १५ करोड बचत अपचलन भएको रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
स्रोतका अनुसार संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी वचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।
उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारवाहीको माग गरेका छन् ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा क्षेत्री लगायत अधिकांश पदाधिकारी र सञ्चालक समिति सदस्य नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।
अध्यक्ष तिवारी गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । तर, अन्तिममा उनले टिकट पाएनन् ।
सहकारीका सचिव थापा कांग्रेस तिलोत्तमा नगर समितिका पूर्वसचिव हुन् । सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा नगरपालिका–३ की सभापति हुन् । १३ सदस्यीय सञ्चालक समितिमा तीनजना बाहेक सबै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।
सहकारीमा एउटै दल निकट र अध्यक्ष पक्षधरहरु हावी भएपछि बदमासी भएको र ऐन, विधिको कुरा उठाउनेहरुलाई सञ्चालकमा आउन रोक्ने गरिएको सेयर सदस्यहरुको गुनासो छ ।
गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको र सहकारीका पदाधिकारी पनि कांग्रेस नेताहरु भएकाले पक्राउ नगरेको आरोप लगाउँदै बचतकर्ताहरुले पक्राउ गर्न दबाब दिन दुई हप्तादेखि दिनहुँ पदाधिकारीहरुको घर घेराउ गरिरहेका छन् ।
बचतकर्ताको दबाबपछि प्रहरीले असार २७ गते सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
जिल्ला अदालतले उनलाई शुक्रबार दोस्रोपटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनी एक सातादेखि इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् ।
व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम ५ जेठ ०८२ मा सहकारीलाई तिर्ने कबुलियतनामा गरेका थिए ।
त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैं गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतले सहकारी ठगीमा बचतकर्ताको निवेदन आएपछि सञ्चालकहरुका विषयमा अनुसन्धान भइरहेको र केही पदाधिकारी र सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेको छ ।
तर नाम र संख्याबारे अहिले बताउन नमिल्ने स्रोतले जानकारी दिएको छ ।
‘सहकारीको रकम ठगीका विषयमा सञ्चालक समितिका अध्यक्ष, सचिव लगायतविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी आएपछि अनुसन्धान भइरहेको छ, अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा सार्वजनिक गर्न मिल्दैन,’ स्रोतले भन्यो ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानूनी हिसाबले पक्राउ पुर्जीबारे जानकारी दिन नमिल्ने बताए ।
प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यले भने प्रहरीलाई आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन पत्र पठाइसकेको पुष्टि गरे ।
व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।
आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले सचिवले जस्तै गर्नसक्ने भन्दै अध्यक्ष र सचिवको घर पनि घेराउ गर्दै आएका छन् ।
विस २०५० सालमा स्थापित यो सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य छन् ।
कुल ३८ करोड रूपैयाँ पूँजी रहेको सहकारी संस्थाका अध्यक्ष र सचिव मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन् । उपाध्यक्ष बलराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरिरहेकाले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन् ।
सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन छैन । सञ्चालक समितिका केही पदाधिकारीका अनुसार कम्तीमा १५ करोडदेखि २५ करोड रूपैयाँसम्म हिनामिना भएको आशंका छ ।
सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापक सहित एकाध बाहेक सबै सञ्चालक सत्तारुढ दल नेपाली कांग्रेसका स्थानीय नेताहरु छन् ।
बचतकर्ता चेतबहादुर बस्नेत अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र एउटै दलका मान्छेको वर्चस्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको बताउँछन् ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ ।
यो ऐन बन्नु भन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुन विपरित छ । तर स्थानीय कांग्रेस नेता तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा थिए ।
सर्वसाधारणको बचत फिर्ता गर्ने सहमति अनुसार निर्णय भएपनि सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएका छन् ।
सहकारीको रकमले अध्यक्ष तिवारीले अष्ट्रेलियामा समेत घर किनेको जानकारी पाएको बचतकर्ताहरुको दाबी छ ।
अध्यक्ष र सचिव थापाले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको सेयर सदस्यहरुको दाबी छ । अध्यक्ष तिवारीले संस्थाको करिब ६ देखि ८ करोड, सचिव रामबहादुर थापाले ३ करोडभन्दा बढी र सञ्चालक सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको सहकारीकै एक पदाधिकारीको दाबी छ ।
बचतकर्तालाई रकम फिर्ता दिने निर्णयको माइन्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ ।
लेखापरीक्षकले दिने अन्तिम प्रतिवेदनपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए ।
सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् ।
यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ । तर यो सहकारीमा ऐन विपरित वचत अपचलन भएको छ ।
सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेयरमै सेटिङ गरी आफूखुशी बचतकर्ताको रकम दुरुपयोग गर्ने गरेको भेटिएको छ ।
ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लिएका ऋणीका नाममा थप ऋणभार देखाइएको छ ।
सुरुमा व्यवस्थापक वसन्त पराजुलीले रकम हिनामिना गरेको भन्दै ८ करोड ५० लाखको कागज बनाएर उनलाई निलम्बन गरिएको थियो ।
तर थप छानबिनको विषय उठ्न थालेपछि अध्यक्ष तिवारी र सचिव थापा छानबिनका लागि सहयोग गर्नुको सट्टा बैठक छल्दै काठमाडौं गएपछि थप बदमासीको आशंकामा करिब चार सय सदस्यले बचत फिर्ताको निवेदन दिएका थिए । यो सहकारीले मुख्यरुपमा दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।
प्रतिक्रिया 4