+
+
Shares

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १३:१४

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् ।

राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् ।

राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो ।

नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर कतिपय एमाले नेताहरूले ‘एकताको सन्देश’ भनिरहेका छन् । तर उच्च स्रोतका अनुसार हाँस्दै बाहिरिएका ओली र भण्डारीबीचको सम्वाद सार्वजनिक टिप्पणी जस्तो थिएन । बरु एकले अर्कालाई गलाउने, र अप्ठ्यारो पार्नेगरी चलेको थियो ।

ओली आफू निकट नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको सार्वजनिक अभिव्यक्ति दिएकोमा सम्वाद केन्द्रीत थियो । ‘विद्या भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको, नवीकरण नै नहुने र राजनीतिमै आउन नदिने जस्तो कुरा ओली नजिक भनिने नेताहरूले सार्वजनिक रुपमै भनिरहनु भएको,’ भंगाल स्रोत भन्छ, ‘पूर्वराष्ट्रपतिले यसैबारे अध्यक्षको धारणा माग्नु भएको थियो ।’

सचिवालय र पोलिटब्यूरो बैठकमा नभएको कुरालाई निर्णय भनी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूलाई सुनाएको प्रसंग पनि भण्डारीले उठाएकी थिइन् । ‘बैठकबाट कुनै निर्णय भएको हुँदैन, अनि छलफलमा कसैले उठाएको कुरालाई निर्णय भनेर सार्वजनिक गर्न मिल्छ ?,’ भण्डारीको प्रश्न थियो ।

स्रोतका अनुसार ओलीले भने सदस्यता नवीकरणको विषयमा समस्या नै नरहेको बताएका थिए । ‘तपाईंको सदस्यतामा समस्या होइन, त्यो प्राविधिक कुरा हो, भइहाल्छ,’ ओलीले भनेका थिए, ‘मैले राजनीतिक कुरा गर्न खोजेको हो ।’ ओलीले राजनीतिक विषय भनेर पूर्वराष्ट्रपतिको प्रसंग उठाएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन । तपाईं नआउनुस्’, ओलीको आग्रह थियो, ‘सम्मान लिएर बस्दा नै ठीक हुन्छ ।’

जवाफमा पूर्वराष्ट्रपति भण्डारीले भने धेरै अगाडि बढिसकेको बताइन् । ‘सदस्यता नवीकरण यसपटकको कुरा होइन । पोहोरै भइसकेको हो । तपाईसँग धेरैचोटी कुरा पनि भएकै हो’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् ।

तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु ठीक नहुने पनि भण्डारीले बताएकी थिइन् । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी दिएकी थिइन् । च्यासल नियमित आउने सन्दर्भमा भने ओलीले स्वागत गरिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?