
News Summary
Generated by OK AI. Editorially reviewed.- केपी ओलीको आक्रामक शैलीले एमालेमा नेतृत्व विवाद र पार्टी एकढिक्का बनाउन चुनौती उत्पन्न भएको छ।
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण विवादले ओली र उनको टिमबीच द्वन्द्व बढाएको छ।
- ओलीले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन नसके एमालेको दुरवस्था र जिम्मेवारी उनको हुनेछ।
जगजाहेर छ, केपी ओलीको शैली आक्रामक छ । विपक्षीलाई कटाक्ष नगरी बोले भने त्यो केपी ओली नै हुँदैन । एमालेका नेताहरू कथा हाल्न माहिर ओलीले पहिले–पहिले नेता–कार्यकर्तालाई क्लास लिंदा भन्ने गरेको सम्झन्छन्– ‘म लिम्बू गाउँ (तेह्रथुमको आठराई, इवाहा)मा जन्मिएर हुर्किएको मान्छे । कहिलेकाहीं लिम्बू केटाहरूसँग झगडा पर्थ्यो। लिम्बू केटाहरू उसै बलिया । लाप्पा खेले त मलाई सिध्याइहाल्थे । तर म उनीहरूलाई धम्क्याउँदै मुड्की बजार्दै आक्रामक बन्थें, केटाहरू भागाभाग हुन्थे । भिड्नै आएको भए कुरा मिलाउनुपथ्र्यो । त्यसैले हामी नीतिगत रूपमा आक्रामक बन्नुपर्छ ।’
किशोरावस्था र युवा छँदा गाउँमा केटाहरूसँग झगडा पर्दा प्रयोग गरेको ‘नीति’ राजनीतिको माथिल्लो तहमा विराजमान हुँदा पनि ओलीमा आजपर्यन्त उस्तै छ । यही नीतिले उनी हठी पनि देखिन्छन् ।
एमाले नेताहरू भन्छन्, ‘ओलीसँग आँखामा आँखा जुधाएर कुरा गर्न गाह्रो हुन्छ ।’ आक्रामक नीतिले उनले केही पाएका छन्, केही गुमाएका छन् । जस्तो कि, विशाल कम्युनिष्ट पार्टीको शक्तिशाली अध्यक्ष र झण्डै दुई तिहाइको प्रधानमन्त्री पद । जुन पाए पनि, उसैगरी गुमाए पनि । अब फेरि उनी सधैंका लागि एउटा उच्च तहको सम्मान पाउने कि गुमाउने भन्ने डिलमा उभिएका छन् । तर यसलाई सबैभन्दा पहिले उनी स्वयम्ले महसुस गर्नुपर्ने हुन्छ ।

त्यही आक्रामक शैलीले उनी विरोधीको सातो खान्छन्, आफ्ना नेता कार्यकर्तालाई काबुमा राख्छन्, मन परेकालाई हिरिक्कै गर्छन् । कतिसम्म भने, स्थानीय तहमा चुनाव हारे पनि फरक पर्दैन राष्ट्रिय सभामा मनोनीत गरेर लैजान्छन् र मन्त्रीसम्म बनाउँछन् । मन नपरेकालाई पत्तासाफ गरेर छाड्छन् । त्याग, बलिदान र योगदानको कुनै अर्थ रहँदैन । एमालेभित्र ओलीको यो नीति अहिले माथिदेखि तलसम्मै प्रवृत्तिको रूपमा विकसित भएको छ । र, भन्न थालिएको छ– ‘केपी ओली प्रवृत्ति’ ।
पछिल्लो पटक अकल्पनीय रूपमा ओलीको आक्रामक नीतिको तारो बनेकी छिन्, पूर्व राष्ट्रपति एवम् पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी । पूर्व राष्ट्रपति भण्डारीले आफू नेकपा एमालेको अध्यक्ष बन्नकै लागि पार्टी सदस्यता नवीकरण गरेको अभिव्यक्ति सार्वजनिक गरेपछि प्रधानमन्त्री समेत रहेका ओलीका विद्यालक्षित आक्रामक अभिव्यक्ति बाहिर आउन थालेका छन् ।
कतिसम्म भने उनको सदस्यता नै नवीकरण नभएको भन्न हिच्किचाएनन् । विद्यामा ‘पार्टी चलाउने अनुभव नभएको र अध्यक्ष हुने सम्भावना पनि नरहेको’ अनपेक्षित टिप्पणी पनि उनले गरेका छन् । जबकि विद्या राष्ट्रपति हुनुअघि एमालेकै उपाध्यक्ष थिइन् । शनिबार सम्पन्न पोलिटब्युरो बैठकबाट ओलीकै इन्ट्रेष्टमा नवीकरण भइसकेको सदस्यता पेन्डिङमा राखिएको (स्थगित गरिएको) फरमान जारी गरिएको छ ।
केपी ओली अध्यक्ष बन्नुअघि कहिल्यै पार्टी पदाधिकारी भएनन् । स्थायी कमिटीबाट एकैचोटि अध्यक्ष बने । राजनीतिक बन्दीको रूपमा चौध वर्ष लामो जेल जीवन बिताएका ओलीले संगठन निर्माणमा अमृत बोहरा, ईश्वर पोखरेल, मुकुन्द न्यौपानेहरूले जस्तो समय दिन सकेनन् । तर पनि पार्टी नेतृत्वमा आएपछि एमालेलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेले । अब हामीले अलिक ठूला सपना पनि देख्नुपर्छ भन्ने सिकाए ओलीले । राष्ट्रियताको सवालमा सम्झौताहीन लडाईं लडिरहे ।
स्वभावगत कमजोरीका बाबजुद ओलीका यस्ता सकारात्मक पक्षको प्रशंसा गर्नैपर्छ । तर सास रहुन्जेल नेतृत्वमा कसैलाई ढिम्किनै दिन नखोज्नु चाहिं ओलीको सबैभन्दा कमजोर सपना हो । जो जीवनमा एकपटक पनि पदाधिकारी नभई अध्यक्ष बन्यो उसले कठोर पञ्चायतकालको विद्यार्थी राजनीतिबाट उदाएर पार्टीको उपाध्यक्षसम्म बनेको नेतालाई पार्टी चलाउने अनुभव छैन भन्नु हास्यास्पद तर्क र विचलित मानसिकताको प्रतिबिम्ब भन्दा अरू हुनै सक्दैन ।
कि त ओलीले प्रतिस्पर्धाको आधारमा अब दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्छु भन्ने उद्घोष गर्न सक्नुपर्यो । दशौं महाधिवेशनमा ओली अध्यक्ष बन्दा यही यस्तै सङ्केत बुझिन्थ्यो । तर उनी त्यसो गर्न पनि सक्दैनन् र आफू अध्यक्ष नभए पार्टी, देश नै चल्दैन भन्ने जिकिर गर्न भ्याउँछन् ।
यस्तो गलत भाष्यलाई चिरेर नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने अहिले एमालेको चुनौती हो । ओलीले जनमतको सम्मान र आफ्नो ओरालो यात्रालाई स्वमूल्याङ्कन गरी पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने निर्णय गर्न सकेनन् भने भोलि एमालेको दुरवस्थाको जिम्मेवार स्वयम् ओली र उनको ‘कोर टीम’ बाहेक अरू कोही हुने छैन ।
कार्यकर्ताले आफ्नो आदर्श मानेका नेताबाट संगठन र सिद्धान्तसँगै उनीहरूका स्वभाव, शैली, प्रवृत्ति पनि सिकेका हुन्छन् । यो स्वाभाविक हुन्छ । जस्तो, सन्तानमा उनीहरूका अभिभावकको केही न केही प्रभाव हुन्छ । एमालेकै संगठन विभाग प्रमुख रहेका काशीनाथ अधिकारीको जस्तो शालीनतामा कार्यकर्ताले निकै कम ध्यान दिएका हुन्छन् तर विडम्बना नै मान्नुपर्छ क्रान्तिकारी बन्ने नाममा कसैका केही उग्र शैली र स्वभावलाई सजिलै अनुसरण गर्छन् ।
यसलाई कम्युनिष्ट आन्दोलनको सकारात्मक पक्षको रूपमा व्याख्या गर्न सकिंदैन । विरोधी, प्रतिस्पर्धीलाई सिध्याउन विभिन्न खाले लेप लगाइदिने, प्रोपोगाण्डाको हदसम्म पुग्ने बुर्जुवा प्रवृत्ति कम्युनिष्ट पार्टीमा पनि रहेको देखिन्छ ।
विद्या भण्डारीले एमालेको अध्यक्ष बनेर देश र जनताको हितमा काम गर्न चाहेको के बताएकी थिइन्, पार्टीभित्र पनि आफूलाई विशेषगरी ओलीको खास टीमको मान्ने माथिदेखि तलसम्मका नेताहरूले यसलाई गलत व्याख्या गरेर कार्यकर्ताको सेन्टिमेन्ट क्याच गर्ने कोशिश गरिरहेको देखिन्छ । उनीहरू विद्याको यो सक्रियताले पार्टी विभाजनसम्म लैजाने भन्ने खालको गलत व्याख्या, एमालेलाई कमजोर बनाउन खेलिएको खेल भन्ने जस्ता गलत प्रचारबाजी विशेषगरी सोसल मिडिया मार्फत व्यक्त गरिरहेका पाइएको छ ।
पार्टीको उपाध्यक्ष र देशको राष्ट्रपति भइसकेको एक जना महिला नेतृ आफ्ना सारा सेवा–सुविधा त्यागेर देश र जनताको हितका लागि सक्रिय राजनीतिमा आउँछु भन्दा यस्तो गलत लेप लगाएर सिध्याउन खोज्ने, प्रोपोगाण्डा मच्चाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्तिले जरा गाडेको पार्टीभित्र अरू कसले शिर ठाडो पार्ने साहस गर्न सक्छ ?
एमालेभित्रका इमानदार नेता, कार्यकर्ताले विश्लेषण गरुन्, यस्तो प्रवृत्तिले आफूले जीवनभर साथ–सहयोग गरेको पार्टीको भविष्य के हुन्छ ! यस्तो प्रवृत्तिको विरुद्धमा कसैले दह्रो नेतृत्व गर्नै पथ्र्यो, त्यो विद्याले गरिन् । परिणामतः विद्यादेवी भण्डारी अध्यक्ष ओली र उनका खास समूहको तारो बनिरहेकी छिन् ।
केपी ओलीले आउने महाधिवेशनमा विद्या भण्डारीसँग सहजै प्रतिस्पर्धा गर्न सक्छु भन्ने लागेको भए सम्भवतः यो विषयले यति महत्त्व पाउने पनि थिएन । राष्ट्रपति हुँदा संवैधानिक प्रावधानको कारण पार्टी सदस्यता त्याग गर्नुपरे पनि एमालेभित्र अहिले पनि विद्या भण्डारीको राम्रो प्रभाव छ ।
कतिसम्म भने हिजो एमालेमा संस्थापन रहेका माधव नेपाल पक्षले टेक्ने ठाउँसम्म नदिंदा मदन भण्डारी फाउण्डेसनको नाममा देशव्यापी रूपमा कार्यक्रम गर्दै विद्याले नै ओलीलाई कार्यकर्ताको बीचमा पुग्ने, आफ्ना भनाइ राख्ने मेलोमेसो मिलाइदिन्थिन् । उनै ओली अहिले विद्याको नवीकरण गरिसकेको सदस्यता कहिले नवीकरण भएको छैन भन्ने त कहिले पेन्डिङमा राखेको फरमान जारी गर्नेसम्मको स्तरमा झरेर विद्यालाई रोक्ने तिकडमको जाल बुन्दैछन् ।
यस पछाडिको मूल कारण नै ओलीले विद्यासँग प्रतिस्पर्धा गर्न सक्छु भन्ने हिम्मत नभएर हो । अर्कोतर्फ ओलीलाई एउटा यस्तो टीमले सधैं घेराबन्दीमा राखिरहेको छ, जो कहिल्यै जनताबाट अनुमोदित हुने ल्याकत राख्दैन । त्यो घेराको स्वार्थ पूरा गर्न खोज्दा ओलीले आफ्नो राजनीतिक जीवन र पार्टी नेतृत्वबाट सुखद् विदाइ भएर सधैंका लागि सम्मानित अभिभावक हुने अवसर दाउमा राखेका छन् ।
ओलीको नेरोघेरोका केही नेता, कार्यकर्ता दुई–तीन दिन अघिसम्म पिपलपाते भाषा बोलेर दुवै डुङ्गामा खुट्टा राख्न खोज्दैथिए, ‘दुई नेता सल्लाह, साउतीमा छन ।’ तर बिहीवारको स्थायी कमिटी र शुक्रवार र शनिवारको पोलिटब्युरो बैठकले यो अनुमानलाई हावामा उडाइदिएको छ र केपी ओली र उनको टीमको विद्याप्रतिको असली दृष्टिकोणलाई छ्याङ्ग पारिदिएको छ ।
केपी ओली सल्लाहमा छन् र उनीबाट केही सकारात्मक निर्णय आउला भन्ने अनुमान गरेर बसेकाहरूले अब त्यस्तो भ्रम नपाले हुन्छ । त्यस्तो आशा पाल्नेहरू पनि अब चिसो पानीले नुहाएर ठण्डा दिमागले सोचेर दृष्टिकोण बदले हुन्छ ।
एमाले अध्यक्ष ओली र उनको प्रवृत्तिको सिको गरेका नेरोघेरोका केही नेताहरू अहिले ओलीको पुरानै कथा दोहोर्याएर दम देखाउने प्रयासमा छन्, ओलीले लिम्बू गाउँका केटाहरूलाई आक्रामक शैलीले खेदे भने जस्तो ।
केटाहरू खेदिए या ‘छोड्दे भाइ’ भन्दै बाटो लागे त्यो त गर्भमै छ ! कड्कने, पड्कने, मुट्ठी बजार्ने, तर्साउने, धम्काउने ! यो भ्वाङ परेको पुरानो र मिति गुज्रिसकेको शैली भयो । कुनै समय थियो, एमालेभित्र ओली भनेपछि कसैले आँ….सम्म गर्ने आँट गर्दैनथे, अहिले मुख खुल्न थालेका छन् ।
ओलीलाई मुखै फर्काएर ‘तपाईं अब अध्यक्ष हुनुहुँदैन’ भन्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसरी मुख खोल्लान् भन्ने कल्पनासम्म गरिएको थिएन । तर समय बलवान भएर आयो । ओलीको नेरोघेरोले केही समय उनको पुरानै शैली ‘आक्रामक नीति’ अवलम्बन गरेर विद्यालाई किनारा लगाउन खोजे पनि त्यो उनीहरूले कल्पना गरे जस्तो सजिलो हुनेछैन ।
विद्यालाई सदस्यता छैन, महाधिवेशन प्रतिनिधि बन्न मिल्दैन भनेर रोक्न खोज्नु फलामको च्यूरा चपाउनुसरह हुनेछ । किनकि एमालेभित्र विद्याको जुन हैसियत र उचाइ छ त्यसलाई ओलीका यसअघिका प्रतिस्पर्धीसँग तुलना गर्नै मिल्दैन । ओलीले चाहेर पनि विद्यालाई रोक्न सक्ने कुनै गुन्जायस नै रहँदैन ।
गलत कदम चालेर कम्युनिष्ट आन्दोलनको एउटा मूल प्रवाहलाई ध्वस्त गर्ने दुस्साहसको नेतृत्व ओली जस्तो नेताले पक्कै गर्ने छैनन् । आक्रामक नीतिले काम नगरे दुई पाइला पछाडि हटेर कुरा मिलाउने र ढाड जोगाउने रणनीतिमा कम्युनिष्ट नेताहरू माहिर नै हुन्छन् । त्यसैले राजनीतिक जीवनमा यतिबेला ओरालो यात्रामा रहेका ओलीको अन्तिम विकल्प यही हुनेछ । अरू त जो नेता उसकै पछि लखरलखर !
प्रतिक्रिया 4