
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा कृत्रिम बुद्धिमत्ताको सदुपयोग आवश्यक रहेको बताएका छन्।
- देउवाले भने, 'एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआईले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ।'
- एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रति अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे।
११ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक रहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता: एक समग्र दृष्टिकोण’ शीर्षकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ।’
उनले थपे, ‘नेपाली कांग्रेस सधैं नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ। अब जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको छ।’
कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले एआई विकासको दिशा अनिवार्य हुँदै गएको बताउँदै समावेशी र उत्तरदायी नेतृत्वबारे छलफल गर्नु जरूरी भइसकेको बताए ।
उनले भने, ‘एआई विकासको दिशा अनिवार्य हुँदै गएको छ। तर यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठूलो छ। कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार छ।’
एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे। उनले भने, ‘बिजुली बत्तीलाई पनि एक समय विनाशकारी शक्तिको रूपमा हेरिएको थियो। अहिले एआईप्रति पनि त्यस्तै डर फैलिएको छ। तर छिमेकी भारतले यस क्षेत्रमा गरिरहेका प्रगतिशील कामहरूबाट हामीले सिक्न सक्छौं।’
उनले डेटा इकोसिस्टम, पूर्वाधार, ऊर्जा, एल्गोरिदम, नवप्रवर्तन, जनशक्ति निर्माण र स्पष्ट नीतिगत सोचमार्फत नेपालले पनि आफ्नै एआई खाका तयार गर्न सक्ने धारणा राखे।
यसका साथै डिजिटल नेपालको विकास यात्राबारे तयार गरिएको भिडियो प्रस्तुति गरिएको छ। जसमा नेपालले प्रविधिको क्षेत्रमा हालसम्म प्राप्त गरेका उपलब्धीबारे चर्चा गरिएको थियो । त्यसपछि ‘के नेपाल एआईका लागि तयार छ? नैतिक र समावेशी नेतृत्वका आधार निर्माण कसरी गर्न सकिन्छ?’ भन्ने शीर्षकमा प्यानल बनाएर छलफल गरियो ।
छलफल सत्रमा टुटलका संस्थापक इञ्जिनियर शिक्षित भट्टले नेपालमा एआईको पूर्वाधार, नीतिगत तयारी र अवसरहरूको समग्र मूल्याङ्कन रिपोर्टबारे जानकारी गराएका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्राध्यापक डा. सुदन झा, ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी दिपेश विष्ट, डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना महर्जनले एआई केवल प्रविधि मात्र बुझ्न नहुने धारणा राखे ।
यसका लागि राजनीतिक तहबाट स्पष्ट सोच र दीर्घकालीन दृष्टिकोण आवश्यक भएको विज्ञहरुले बताएका थिए ।
प्रतिक्रिया 4