
११ साउन, काठमाडौं । न कुनै राजनीतिक गतिविधि, न कुनै कार्यक्रम । अन्य समयमा भन्दा गुलजार थियो, आइतबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय । आयोजककै अपेक्षाभन्दा धेरै शुभेच्छुक आएको बिहीबारको कार्यक्रममा अधिकांश तन्नेरी नै थिए ।
कार्यक्रम थियो– आर्टिफिसियल इन्टीलिजेन्स फर नेपाल्स डेभलपमेन्ट ।
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको उक्त कार्यक्रममा ‘एआई के हो ? यसले कसरी काम गर्छ ? र, देश विकासमा यसको भूमिका के हुनसक्छ ?’ भन्ने खालका कार्यक्रम थिए ।
सोही कारण हुनसक्छ- युवाहरूको ध्यान तानेकै थियो । यसबाहेक नास-आइटी, क्यान इन्फोटेकका प्रतिनिधि पनि दर्शकदीर्घामा देखिन्थे । हलमा सहभागी नअट्दा उभिएर हेर्ने पनि धेरै थिए भने कति फर्केका थिए । नत्र सामान्यत: विभागका कार्यक्रममा यत्तिको भिडभाड देखिने नगरेको टिप्पणी अधिकांशको थियो ।
कार्यक्रमको सुरुवातमा एआई एसोसियसन नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलले प्रस्तुति दिए । पहिलोपटक नेपाली कांग्रेसको मुख्यालय टेकेका उनले विश्वभर एआईलाई लिएर भइरहेको काम र नेपालमा यसबाट लिन सकिने फाइदाबारे बताए । ‘एआईले कुनै पनि क्षेत्रलाई अछुतो राखेको छैन । यो हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ,’ उनले भने ।
पोखरेलले हाम्रो दैनिक जीवनमा एआईको प्रयोगलाई सरल उदाहरणमार्फत प्रष्ट्याए । भोइस असिस्टेन्टदेखि गुगल सर्च, युट्युब रिकमेन्डेसन, फेसबुकमा फोटो ट्यागिङ र इमेल स्प्याम फिल्टरिङसम्ममा एआईको भूमिका रहेको बताए । चाहे हामीले पिज्जा खोज्दा पिज्जाकै विज्ञापन देखाउँन होस् या सोसियल मिडिया सर्च, यसमा एआईकै भूमिका छ ।
त्यसैले नेपालमा एआईको विकास र प्रयोगलाई जोड दिँदै पोखरेलले स्टार्टअप, डिजिटल सिटी, र नीति निर्माणमा यसको महत्वबारे चर्चा गरे । उनले भने, ‘एआईले नेपालको जीडीपीमा योगदान गर्न सक्छ, तर यसका लागि डेटा, पूर्वाधार, र दक्ष जनशक्तिमा लगानी आवश्यक छ ।’
साथै स्थानीय भाषा, संस्कृति, र आवश्यकतामा आधारित कुराहरूमा एआईको प्रयोग गर्नुपर्ने र सोही आधारमा त्यसलाई ट्रेन गराउनुपर्ने सुझाए ।
एआईको शक्तिशाली क्षमतासँगै नैतिकता (इथिक्स) को मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण रहेकोमा पोखरेलको जोड थियो । उनका अनुसार एआईको गलत प्रयोगले गोपनीयता र सुरक्षा जोखिम बढाउन सक्छ । यसका लागि नेपालमा बलियो नीति र नियमन आवश्यक छ । नेपालमा एआई इकोसिस्टम विकासका लागि पाँच आधारभूत क्षेत्र (पिलर) मा काम गर्नुपर्नेमा उनको जोड छ । जस्तै : डेटा इकोसिस्टम– स्थानीय भाषा र संस्कृतिमा आधारित गुणस्तरीय डेटा संकलन, पूर्वाधार – गुणस्तरीय प्रविधि, इन्टरनेट, र ऊर्जा आपूर्ति, एल्गोरिदम इनोभेसन– स्मार्ट र नैतिक एआई प्रणाली विकास, दक्ष जनशक्ति– एआई शिक्षा र रिस्किलिङ कार्यक्रमहरू, नीति– अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लचिलो नीति ।
यसरी सबै आधारभूत क्षेत्रलाई सँगसँगै लगेर काम गरे नेपालको विकासमा एआईले महत्त्वपूर्ण भूमिका खेल्ने पोखरेलको दाबी छ । एआईले रोजगारी सिर्जना, स्वास्थ्य सेवा, र सार्वजनिक सेवालाई तीव्र र प्रभावकारी बनाउन सक्ने सम्भावना उनले औंल्याए । ‘एआईले हाम्रो स्थानीय समस्यालाई समाधान गर्न र विश्व बजारमा नेपाललाई प्रतिस्पर्धी बनाउन सक्छ । तर, यसको लागि सरकार, निजी क्षेत्र, र शैक्षिक संस्थाहरूबीच सहकार्यको आवश्यकता छ,’ उनले भने ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि कृत्रिम बुद्धिमत्ता (एआई) को सही सदुपयोगले नेपालको विकासमा अभूतपूर्व तीव्रता ल्याउन सक्ने बताए । मोबाइल एपमार्फत ‘एक क्लिक’मै नै पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका देउवाले भने, ‘एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदी सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभुतपूर्व तीव्रता ल्याउन सक्छ ।’
देउवाले नेपाली कांग्रेस सधैं नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा रहेको उल्लेख गर्दै अब जनतालाई केन्द्रमा राखेर डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको बताए । उनका अनुसार, नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासमार्फत आधुनिक, समावेशी र उत्तरदायी नेपाल निर्माणको यात्रामा जोड दिनेछ । यो कार्यक्रमले कांग्रेसलाई पुरानो ढर्राको पार्टी भन्ने धारणालाई चुनौती दिँदै प्रविधिको क्षेत्रमा नेतृत्व गर्न तयार रहेको सन्देश दिएको उनको भनाइ थियो ।
देउवाको भाषणपछि नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बहस सत्र चलाए, ‘के नेपाल एआईको लागि तयार छ ?’ उक्त सत्रमा ई. शिक्षित भट्ट, डा. शुदन झा, ई. आदेश खड्का, ई. दिपेश विष्ट, सजना महर्जन र ई. उज्ज्वल कोइराला रहेका थिए ।
डा. रिजाल अन्य कार्यक्रममा भन्दा अनौपचारिक देखिए । अमेरिककाको सिलिकन भ्यालीको उदाहरण दिँदै ठट्टा गर्दै भने, ‘आज फर्मलमा आइनँ । अब सिलिकन भ्यालीमा त यत्तिकै चल्छ । यहाँ यस्तै कार्यक्रममा म यत्तिकै आउँदा हुन्छ भनेर आएँ । यस्तै लुगा लगाउँन चाहेँ ।’
डा. रिजालले ३० वर्ष अगाडिको आफूलाई सम्झिए । त्यसबेला फोर्टानदेखिँ ‘सि–प्लसप्लस’ सम्म सिकेको सुनाए । अमेरिकामा रहँदा यसरी काम गरेका उनले विश्वविद्यालयको साइट पनि आफूले डाउन गराएको प्रसंग कोट्याए ।
उनका अनुसार पूर्णकालीन राजनीतिमा सक्रिय भएको धेरैपछि पनि ‘पाइथन प्रोग्रामिङ’ सिक्ने सोच बनाए । कारण, एआईसम्बन्धी केही क्लास पनि त्यसबीचमा उनले लिएका थिए । तर, पाइथन सिक्न खोजेपनि त्यसमा निरन्तरता दिन सकेनन् । ‘केही दिन सिकेपछि मैले सोचेँ, अब मेरो लागि यो समय गइसकेको छ ।’
यसरी प्रविधिमा आफ्नो चाख र लगाव कति छ भन्ने देखाएका डा. रिजालले यसकै वरपर बहसमा घुमाए । अन्य वक्ताले पनि एआईको महत्व, जोखिम र नेपालमा यसबाट कसरी फाइदा लिनसकिन्छ भन्ने सेरोफेरोमा रहेर बोले । ई. शिक्षित भट्टले पनि अबको नयाँ ‘वेभ’ एआईको विकास रहेको बताए । उनका अनुसार यसको लागि हामीले नेपालमा स्रोतसाधनलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ ।
‘किनकी प्रत्येक एआईको मोडलहरू पीएचडीभन्दा धेरै ज्ञानवान हुन्छ । र, त्यसलाई फ्यूल के ले गर्ने ? ऊर्जा चाहियो,’ भट्टले भने, ‘आजको दिनमा पनि हामीसँग उर्जाहरू छ । २०२५ सम्मकै अवस्थाको कुरा गर्दा पनि एआईको लागि ९ हजार मेघावट ऊर्जा चाहिने प्रक्षेपण छ । त्यसको लागि हामीले कतिवटा डाटा सेन्टर बनाउँछौ वा अरु कुन सम्भावनामा काम गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ ।’
सँगसँगै एआईको ‘थ्रेट’मा पनि उत्तिकै गम्भीर भएर सोच्न आवश्यक रहेको भट्टले बताए । यसको फाइदासँगै अरु पाटोलाई लिएर पनि ध्यान दिनुपर्नेमा जोड सबै वक्ताहरुको थियो । नेपालले फाइदा लिने ठाउँ प्रशस्त रहेकोले सँगसँगै यसको असर र सम्भावित जोखिम न्यूनिकरणमा पनि काम गर्नुपर्ने तर्क अधिकांशले गरे ।
कांग्रेस प्रविधि विभागकी संयोजक सुशीला मिश्राले भनिन्, ‘हामीले तमाम युगहरू पार गरिसकेका छौं । अब एआई हाम्रो विकास यात्राको सशक्त सहयात्री हुन सक्छ । तर यसका जोखिमहरूलाई समेत ध्यानमा राख्दै रणनीतिक नीति निर्माण अनिवार्य छ ।’
प्रतिक्रिया 4