
News Summary
Generated by OK AI. Editorially reviewed.- बैंकिङ कसुरमा भेटवाल जस्ता ठेकेदार, व्यवसायी, सेलिब्रेटीदेखि सर्वसाधारणसम्म जोडिँदै आएका छन्।
- आर्थिक वर्ष २०८१/८२ को तथ्यांक र आर्थिक वर्ष २०८०/८१ को तथ्यांक विश्लेषण गर्ने हो भने पनि बैंकिङ कसुर मुद्दाको संख्या वृद्धि भएको देखिएको छ।
- उपत्यकाका प्रहरी कार्यालयलहरू पनि बैंकिङ कसुर हेर्ने छुट्टै शाखा खडा गरेर मुद्दा चलाउँदै आएका छन्।
१२ साउन, काठमाडौं । पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण गरिरहेको जलेश्वर बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवाल १० करोड चेक बाउन्स मुद्दामा समातिए । १३ असारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो ।
रकम सापटी लिएर भ्यू टावर निर्माण गरिरहेका भेटवाल रकम तिर्न नसकेपछि चेक बाउन्समा पक्राउ परेका थिए । यसको केही दिनमा उनका सहयोगी पनि पक्राउ परे ।
अहिले उनलाई हाजिरी जमानीमा बाहिर राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘क’ श्रेणीका ठेकेदार भेटवाल चेक बाउन्सकै कसुरमा यसअघि दोषी ठहर भएका व्यक्तिसमेत हुन् । ५ करोडको चेक बाउन्समा दोषी ठहर भए पनि पीडितले रकम पाएका छैनन् । यो बाहक पनि उनी चेक बाउन्सको कसुरमा पटकपटक पक्राउ पर्दै आएका थिए ।
बैंकिङ कसुरमा भेटवाल जस्ता ठेकेदार, व्यवसायी, सेलिब्रेटीदेखि सर्वसाधारणसम्म जोडिँदै आएका छन् ।
पछिल्लो पटक कमेडी नाइट विथ च्याम्पिनका सञ्चालक विशाल भण्डारी र हरि भट्टराईबीचको रकम विवाद सार्वजनिक भयो ।
भट्टराईले दिएको जाहेरीपछि ४ साउनमा भण्डारीविरुद्ध ५० लाख र २५ लाख गरी ७५ लाख रुपैयाँ बराबरको दुई वटा बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ । भण्डारीलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आपसी बेमेल, लेनदेन विवाद र रकम तिर्न नसकेपछि पछिल्लो समय बैंकिङ कसुरका मुद्दाहरूको चाप प्रहरीमा बढ्ने गरेको छ । लेनदेन विवाद भएपछि र रकम फिर्ता नपाएपछि पीडितहरू चेक बाउन्सको उजुरी लिएर प्रहरीकहाँ पुग्ने गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को तथ्यांक र आर्थिक वर्ष २०८०/८१ को तथ्यांक विश्लेषण गर्ने हो भने पनि बैंकिङ कसुर मुद्दाको संख्या वृद्धि भएको देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार बैंकिङ कसुरको मुद्दा ४.३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्रै बैंकिङ कसुरका १३ हजार ८३७ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
गत आर्थिक वर्षमा प्रहरीमा सबैभन्दा बढी मुद्दा दर्ता हुनेको पहिलो नम्बरमा नै बैंकिङ कसुर रहेको छ । बैंकिङ कसुरका घटना सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ८ हजार ८० बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । यो कूल मुद्दा दर्ताको ५८.३९ प्रतिशत हो ।
बैंकिङको मुद्दाको चाप अत्यधिक भएपछि उपत्यकाका प्रहरी कार्यालयलहरू पनि बैंकिङ कसुर हेर्ने छुट्टै शाखा खडा गरेर मुद्दा चलाउँदै आएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, वृत्तहरूमा बैंकिङ कसुरको उजुरी हेर्ने छुट्टै शाखा खडा गरेर काम सुरु गरिएको छ ।
बैंकिङ कसुर लगायत आर्थिक अपराध जोडिएका विषय बढ्न थालेसँगै सीआईबी मातहत रहने गरी छुट्टै युनिट खडा गरेर पनि काम सुरु गरिएको छ ।
यो युनिटका प्रमुख अहिले एसएसपी होबिन्द्र बोगटी छन् । उनका अनुसार यो युनिटले कर्पोरेट चेकसम्बन्धी विषयसमेत हेर्ने गरी काम अघि बढाएको छ ।
‘आर्थिक अपराध जोडिएका घटनाहरू उकालो लाग्न थालेपछि यसको अनुसन्धान गर्न छुट्टै युनिट आवश्यक रहेको महसुस गरी काम सुरु गरेका छौं,’ एसएसपी बोगटी भन्छन् ।
बैंकिङ कसुर मुद्दाको ग्राफ उकालो लाग्नुमा अपराधको शैलीमा सिफ्ट भएको बुझाइ पनि त्यत्तिकै छ । पूर्वबैंकर भुवनकुमार दाहालका अनुसार ठगीमा कारबाही हुने विषयवस्तुहरू पनि अहिले बैंकिङ कसुरमा आएको हुँदा यसको चाप बढेको हो ।
‘ब्ल्याक लिस्टिङ, चेक बाउन्स पनि बैंकिङ कसुरअन्तर्गत छ । त्यो कारणले पनि बैंकिङ कसुर संख्या बढेको हो,’ उनले भने, ‘खासमा चेक बाउन्स बैंकिङ कसुरमा आइराख्नुपर्ने होइन । त्यसले गर्दा पनि बढेको हुनसक्छ ।’
आर्थिक क्राइम मात्रै बढेको हो वा कारोबार पनि बढेको छ भन्ने विषय पनि हेर्नुपर्ने उनको बुझाइ छ । ‘कुनै पनि अपराध वित्तीय लाभको लागि नै हुने गर्छ,’ दाहालले भने, ‘कारोबार नबढी पनि वित्तीय अपराध बढेको हो भने गम्भीर विषय हो ।’
ठूला अपराधमा पनि बैंकिङ कसुर पर्नुको कारण भनेको अर्थतन्त्रमा आएको समस्या र सहकारी क्षेत्रको समस्या पनि एक कारण रहेको उनी बताउँछन् ।
यी हुन् टप-१० अपराध
आर्थिक वर्ष २०८१/८२ मा देखिएका टप-१० अपराधको पनि प्रहरीले विश्लेषण गरेको छ । प्रहरीमा परेका उजुरी र मुद्दा दर्ताको संख्याअनुसार पछिल्लो समय देखिएका टप-१० अपराधको विश्लेषण गरिएको प्रवक्ता घिमिरे बताउँछन् ।
अपराधको पहिलो नम्बरमा बैंकिङ कसुर छ । आर्थिक वर्ष २०८०/८१ मा मात्रै बैंकिङ कसुरका १३ हजार ८३७ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
दोस्रोमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको अपराध छ । यो कसुरमा एक आर्थिक वर्षमा ८ हजार ५१९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा २०.८ प्रतिशतले कमी आए पनि बढी अपराध हुनेको दोस्रो सूचीमा यो अपराध रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।
बढी अपराध हुनेको तेस्रो नम्बरमा आत्महत्या छ । आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ८५२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो तथ्यांकले दैनिक १८ जनाभन्दा बढीले नेपालमा आत्महत्या गर्ने गरेको देखिन्छ ।
सबैभन्दा बढी तीव्र रूपमा बढेको अपराध लागुऔषध चौथो नम्बरमा देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा यो अपराध १५.१ प्रतिशतले वृद्धि भएको छ । यो आर्थिक वर्षमा ५ हजार ६१ लागुऔषधका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
पाँचौं नम्बरमा चोरीको मुद्दा रहेको छ । चोरी अन्तर्गत ३ हजार ६५६ मुद्दा आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका छन् ।
छैटौं नम्बरमा जबरजस्ती करणी, सातौं नम्बरमा ठगीको अपराध छ ।
त्यसपछि बढी अपराध हुनेमा क्रमशः सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह छ ।
प्रतिक्रिया 4