
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन गुडालले ६४ वर्षअघिदेखि तान्जानियामा चिम्पान्जीमाथि अनुसन्धान सुरु गरेकी थिइन् जसले जनावरहरूको व्यवहार बुझाइमा नयाँ तथ्यहरू दिएको छ।
- उनले चिम्पान्जीहरूलाई व्यक्तिको रूपमा नाम दिई उपकरण प्रयोग र गैरमौखिक सञ्चार जस्ता नयाँ तथ्यहरू पत्ता लगाइन्।
- उनको अनुसन्धानले होमोसेपियन्स र चिम्पान्जीबीच साझा पुर्खा भएको प्रमाण थप बलियो बनाएको छ र उनी संरक्षणमा सक्रिय छिन्।
आजभन्दा करिब ६४ वर्षअघिको कुरो हो, त्यसबेला जेन गुडाल जम्मा २६ वर्षकी थिइन् । उनी चिम्पान्जीमाथि अध्ययन गर्न तान्जानिया जान्छिन् । त्यो समयमा उनको कुनै पनि औपचारिक वैज्ञानिक पृष्ठभूमि वा योग्यता थिएन । तर उनी तान्जानियाको गोम्बे स्ट्रिम गेम रिजर्भमा पुगिन् । जसको एउटै उद्देश्य चिम्पान्जीमाथि अध्ययन गर्नु थियो।
आज उनको अध्ययनले यी जनावरहरूको व्यवहारप्रतिको हाम्रो बुझाइलाई परिवर्तन गरिदिएको छ । नयाँ तथ्यहरू दिएको छ । त्यसका लागि उनले यी जनावाहरूसँग लामो समय बसिन् । नजिक रहिन् । सूक्ष्म रूपमा उनीहरूलाई बुझिन् ।
जनावारहरूसँगको उनको प्रेम सानैदेखि थियो । त्यसका लागि उनले जीव वैज्ञानिकहरूले लेखेको किताब पढ्न थालिसकेकी थिइन् । स्कुलको पढाइ सकेपछि वेट्रेस र फिल्म निर्माण क्षेत्रमा पनि उनले काम गरिन् । जसको प्रमुख उद्देश्य आफ्नो अनुसन्धानका लागि पैसा जुटाउनु थियो ।
सन् १९५७ सम्ममा उनले पर्याप्त पैसा बचाइसकेकी थिइन् । त्यसपछि उनी प्रख्यात केन्याली ब्रिटिश प्रोफेसर लुइस लिकीलाई भेट्न गइन् । प्रोफेसर लिकी प्रख्यात प्यालियोन्थ्रोपोलोजिस्ट (प्रागऐतिहासिक मानव र मानव पूर्वजहरूको अध्ययन गर्ने वैज्ञानिक) हुन् । उनैलाई जेनले आफ्नो योजना सुनाइन् ।
उनको कुरा सुनेर लिकी पनि प्रभावित भए । र उनलाई एउटा सङ्ग्रहालयमा सहायकको रूपमा जागिर प्रस्ताव गरे । कालान्तरमा लिकी पछि जेनको गुरु पनि बने ।
आफ्नो अनुसन्धानका लागि सुरुमा जेन एक्लै तान्जानिया गएकी थिइनन् । त्यसबेलाको सुरक्षा नियमहरूअनुसार उनकी आमा भ्यान संरक्षकको रूपमा साथै गएकी थिइन् । तर उनकी आमा धेरै समयसम्म बसिनन् । जम्मा तीन महिना जति बसेर फर्किइन् ।
तर त्यो समय उनीहरूका लागि सजिलो थिएन । सुरुका दिनमा उनीहरू जंगलको बीचमा सेनाको टेन्टमा बसेका थिए । त्यही समयमा उनीहरूलाई मलेरिया लाग्यो ।
त्यसमाथि प्रायः उनीहरूको पाइलाको आवाज सुन्नेबित्तिकै चिम्पान्जीहरू झाडीमा लुकिहाल्थे । एक त स्वास्थ्यमा समस्या, त्यसमाथि चिम्मान्जीहरूको त्यस्तो व्यवहार । हरेस खुवाउने समय थियो त्यो। तर, जेनले हार मानिनन् ।
बिस्तारै जङ्गलका बाटोहरू थाहा पाइन् । घना जङ्गलमा हिँड्न अभ्यस्त भइन् । एक हिसाबले अध्ययनका लागि उनी पागलजस्तै बनेकी थिइन् । पछि उनी जंगलका पहाडहरूमा एक्लै जान थालिन् । हरेक दिन चिम्पान्जीहरूको खाने ठाउँको नजिक पुग्ने कोसिस गर्न थालिन् । भनौं, उनीहरूसँग बस्न र उनीहरूको प्राकृतिक वासस्थानको नजिक जान जाने प्रयास गरिन् ।
जङ्गल जाँदा उनी हरेक दिन एउटै रङका कपडा लगाउँथिन् । चिम्पान्जीहरूसम्म पुग्न उनले कहिल्यै जबरजस्ती गरिनन् । बरु जहाँ चिम्पान्जीहरू आउँछन् जस्तो लाग्थ्यो, उनी त्यहीँ कुरिरहन्थिन् । नआउँदा उनीहरूलाई पछ्याएर कहिल्यै जादिन थिइन् । यसो गर्दा बिस्तारै चिम्पान्जीहरूले उनलाई डरको नजरले हेर्न छाडिदिए । झ्याम्मिन थाले ।
त्यो जङ्गलमा बाँदरहरू पनि उत्तिकै मात्रामा पाइन्थ्यो । सुरुमा तिनीहरू पनि उनलाई देख्न साथ भाग्थे । पछि बिस्तारै नजिक आउन थालिसकेका थिए । यसरी चिम्पान्जीहरूसँग नजिकिन थालेपछि उनले थाहा पाइन् कि, चिम्पान्जीहरू पहिले सोचेजस्तो शाकाहारी होइनन्, सर्वाहारी हुन् ।
उनीहरूले मासुका लागि शिकार गर्न परे एक-अर्कासँग सञ्चार गर्ने पनि उनले थाहा पाइन् । यसका साथै उनीहरूको पारिवारिक सम्बन्धबारे पनि उनले थाहा पाइन् ।चिम्पान्जीको समाजमा एउटी पोथी सबै भालेहरूसँग प्रजनन् गर्न सक्छिन् । वा एउटा पोथीलाई कुनै भालेले लैजान र आफूसँगै पनि राख्न सक्छ । त्यस्तै उनीहरूले आफ्नो वासस्थानको सीमामा गस्ती गर्छन् । त्यहाँ कोही नयाँ आए सकभर बाहिर नै राख्न खोज्छन् । तर जवान पोथीहरूलाई आफ्नो इलाकामा ल्याउँछन् ।
चिम्पान्जीबारे उनले थाहा पाएको यो कुरा महत्त्वपूर्ण थियो । त्यसका लागि उनले अनुसन्धान परियोजनामा परम्परागत तरिकालाई नअपनाई नौलो प्रयोग गरेकी थिइन् । किनकि उनले प्रत्येक चिम्पान्जीहरूलाई व्यक्तिको जसरी नाम दिएकी थिइन् ।
उनले एउटा भाले चिम्पान्जीलाई डेभिड ग्रेबियर्ड नाम दिएकी थिइन् । कारण, डेभिड ग्रेबियर्डलाई उनले पहिलो पटक उपकरणहरू बनाइरहेको देखेकी थिइन् । अर्थात् मान्छेले जस्तै आफूलाई आवश्यक पर्ने विभिन्न उपकरण चिम्पान्जीहरूले बनाउने जेनले थाहा पाइन् ।
उदाहरणका लागि: कमिला/धमिराहरू खान, साना प्वालबाट पानी पिउन अथवा रुखका पातहरू च्यात्न उनीहरूले लौरो प्रयोग गर्ने उनले थाहा पाइन् । त्यसबेला यो तथ्य सार्वजनिक हुँदा नौलो बन्यो । किनकि, अन्य अनुसन्धानले मान्छेबाहेकका अन्य जीवहरूले हतियार प्रयोग गर्ने तथ्य ऐतिहासिक रूपमा मात्र फेला परेको थियो ।
त्यस्तै उनले चिम्पान्जीबारे नयाँ जानकारी पनि थाहा पाइन् । जुन थियो, गैरमौखिक सञ्चार । उनका अनुसार चिम्पान्जीहरू अलग्गिएपछि एकअर्कासँग भेट्दा मान्छे जसरी नै हात मिलाउँछन् । अँगालो हाल्छन् । चुम्बन गर्छन् ।
चिम्पान्जीलाई मानिसको पुर्खासँग पनि जोडिएर हेर्ने गरिन्छ । जसको बलियो प्रमाण बालबालिका हुर्काउने सन्दर्भमा पनि जोडिन्छ । यो कुरा पनि जेनले पत्ता लगाएकी थिइन् ।
किनकि कठिन बाल्यकालमा हुर्केका चिम्पान्जीहरू वयस्क भएपछि अरूसँग नजिकको सम्बन्ध बनाउन गाह्रो मान्छन् । त्यस्तै उनीहरू मान्छे जस्तै आक्रामक हुने पनि पत्ता लगाइन् ।
यो तथ्यहरू उनले कुनै औपचारिक अध्ययनबिना नै पत्ता लगाएकी थिइन् । तर सन् १९६२ मा लिकीले उनलाई स्नातक डिग्री नभए पनि आफ्नो अध्ययनहरूको निष्कर्षहरूमा आधारित पीएचडी गर्न लगाए । यता सोही वर्ष नेसनल ज्योग्राफिक सोसाइटीले उनको कामको दस्तावेजीकरण गर्न वाइल्ड फोटोग्राफर तथा फिल्ममेकर ह्युगो भ्यान लाविकललाई पठायो ।
त्यसकै परिणामस्वरूप सन् १९६५ मा ‘मिस गुडाल एन्ड द वाइल्ड चिम्पान्जिज’ नामक वृत्तचित्र बन्यो । त्यसले जेनका खोजहरूलाई व्यापक रूपमा जनसमक्ष पुर्याउन ठूलो सहयोग पुर्यायो । पछि सन् १९६७ मा जेनले उनै भ्यान लाविकलसँग बिहे समेत गरिन् ।
यसरी एउटा निडर र उद्देश्यमा स्पष्ट जेनको अनुसन्धानले होमोसेपियन्स र चिम्पान्जीहरूले साझा पुर्खा थियो भन्ने कुरामा थप बलियो प्रमाण पेस गर्यो । आजसम्म गरिएका अनुसन्धानका अनुसार चिम्पान्जी र मान्छेको डीएन करिब ९८.६ प्रतिशत मिल्छ ।
अहिले उनी ९१ वर्षकी भएकी छिन् । आफ्नो जीवनको ६० भन्दा बढी वर्ष जङ्गली चिम्पान्जी अध्ययन तथा संरक्षणमा बिताएकी उनी अझैं पनि सक्रिय छिन् । आज भने उनी विश्वभर संरक्षण तथा वातावरणीय सचेतना फैलाउन यात्रा गर्ने गर्छिन् ।
प्रतिक्रिया 4