+
+
Shares

च्छो-रोल्पा यात्रा : मातृत्व, प्रकृति र आत्मसन्तुष्टिको कथा

राधिका शर्मा राधिका शर्मा
२०८२ साउन १७ गते ७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वन तथा वातावरण मन्त्रालयले च्छो–रोल्पा संवाद कार्यक्रमको तयारीका लागि गौरीशंकर गाउँपालिका र गैरसरकारी संस्थासँग बैठक गरेको छ।
  • २०८२ साल वैशाख २८ गते काठमाडौंबाट ११ जनाको समूहले च्छो–रोल्पा पदयात्रा सुरु गरेको छ।
  • पदयात्रामा ४,५८० मिटर उचाइमा रहेको च्छो–रोल्पा तालको अवलोकन गरी प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण उकालो अनुभव गरिएको छ।

हामी वन तथा वातावरण मन्त्रालय हेटौंडाको बैठक हलमा जम्मा भएका थियौं । मन्त्रालयको कर्मचारी हुनाले यस्ता मीटिङमा त नियमित भाग लिइन्थ्यो नै तर यो पटक हामी थोरै फरक र उत्सुकता सहितको सन्दर्भमा जुटेका थियौं । प्रसंग थियो, मन्क्रालयको स्वीकृत वार्षिक कार्यत्रम जलवायु परिवर्तनका लागि च्छो–रोल्पा संवादको तयारी ।

यो संवादको लागि गौरीशंकर गाउँपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना सह–आयोजक थिए भने अन्य केही गैरसरकारी संस्थाका प्रतिनिधि पनि सो बैठकमा उपस्थित थिए । बैठकले अन्य विषयका साथै संवाद कार्यक्रम आयोजना अगावै एकपटक च्छो–रोल्पा तालको अवलोकन भ्रमण गर्ने निर्णय गर्‍यो ।

यो विषयले मलाई सबैभन्दा बढी तरंगित बनायो । मनमा अनायास आयो आहा ! यो भ्रमणमा जान पाए त क्या जाति हुन्थ्यो ! तर लगत्तै सम्झें घरमा सानो केटो र छोरीको व्यवस्थापन अनि च्छो–रोल्पाको उचाइ । बर्दियामा जन्मिएर चुरेको सानो उकालो चढ्दा पनि हैरान हुने मलाई यसको उचाइले अत्याउने त भयो नै । तर जहाँ इच्छा त्यहाँ उपाय भने झैं घरका केटाकेटीको व्यवस्थापन घरमै मिलिहाल्छ नि ! उकालोको कुरा म जसरी मिलाउँछु भन्दै कल्पनामा डुबुल्की लगाए ।

यही डुबुल्कीसँगै छलफलमा भाग लिंदै गर्दा मेरो मानसपटलमा भने त्यो सुन्दर ठाउँको आकृति बनिरहेको थियो । छलफल नसकिंदै म च्छो–रोल्पा हिमतालमा पुगिसकेकी थिएँ । छलफल पनि सकियो । च्छो–रोल्पा संवाद कार्यक्रमको कार्यान्वयन खाका पनि बन्यो । मेरो कल्पना जस्तै त्यो कार्यक्रम खाकाभिक्र सो कार्यत्रम सञ्चालनको पूर्व तयारी स्थलगत निरीक्षणको लागि जाने व्यक्तिहरूको नाममध्ये मेरो नाम समेत देख्दा मेरो खुशीको सीमा नै रहेन ।

घुम्न, रमाइलो गर्न पाउँदा औधी खुशी हुने म बरु अरू बेलाभन्दा फरक किसिमको घुमाइमा निस्किंदै थिएँ, त्यो हो च्छो–रोल्पा पदयात्रा । हामी एघार जनाको समूह रमाइलो मान्दै उत्साहित हुँदै २०८२ साल वैशाख २८ गते बिहान ६ बजे जोस–जाँगर र साहस बोकी काठमाडौंबाट दोलखातिर लाग्यौं ।

एकाबिहानै, सल्लेरी सुसेल्दै निस्केको चिसो बतास, हरियालीले ढाकेको डाँडाकाँडा, आकाशलाई लाली थप्दै उचाइमा चढ्दै गरेको सूर्य नियाल्दै कतिबेला भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक हुँदै दोलखा पुग्यौं पत्तै भएन । मेरो लागि म पुगेका जिल्लाहरूको सूचीमा थपिएको एक जिल्ला थियो दोलखा ।

टुप्पोमा के पुगेकी थिएँ वरिपरि हिमाल, हिमालको बीचमा रहेको नीलो रंगको शान्त बनेर बसेको त्यो ताल देखेर मन यति फुरुङ्ग भयो कि त्यो उकालो चढ्दा दुखेको खुट्टा, लागेको थकाइ सबै बिर्सिएर चिच्याउन मन लाग्यो । चिच्याउँदै उफ्रँदै ताल नजिक पुगें । चारैतिर हिमाल, हिमालको काखमा रहेको त्यो शान्त ताल जसले हिउँ पग्लेर बन्ने पानीलाई कुनै बलवान अदृश्य दैवीशक्ति सम्हालेर राखेको छ ।

दोलखाको खरीढुंगा पुगेसँगै बाहिरी वातावरणलाई गाडीभित्रबाट नियाल्ने धैर्यको बाँध थामिन सकेन र हामी गाडीबाट निस्केर उफ्रिंदै, रमाउँदै चारैतिर अत्यन्तै रमणीय देखिने त्यो डाँडा, कपाललाई समेत समेट्न नदिने त्यो बतास, मन नै आनन्दित तुल्याउने बतासको त्यो स्पर्शलाई सुखानुभूति गर्दै स्मरणका लागि थुप्रै तस्बिरमा समेत खरीढुंगाको मनमोहक दृश्य कैद गर्‍यौं । मेरो भ्रमणको शतप्रतिशत आत्मसन्तुष्टि त मैले खरीढुंगा पुग्दानपुग्दै पाइसकेकी थिएँ । अब थप प्राप्त गर्ने अनुभूति त मेरा लागि बोनस थिए ।

खरीढुंगामा भएका स्लेटहरूको प्रचुरता, वरपरका प्राकृतिक स्रोत देख्दा मलाई वास्तवमै मेरो देश कति धनी छ ! कति पूर्ण छ ! एक दिन त आउला नि जुन दिन उपलब्ध स्रोत–साधनको प्रयोगबाट हामी आत्मनिर्भर तथा समृद्ध पक्का बन्नेछौं भन्ने लाग्यो । तर धेरै सोचिनँ किनकि यो विषयमा पक्कै मलाई भन्दा पहिला अरूले पनि यस्तै सोचेका थिए होलान् । अनि लाग्यो, धेरैले सोचे, धेरै योजना बने तर यो त्यहीं थियो जहाँ पहिला थियो ।

हामी आनन्दित मूडमा थियौं । यो मूडलाई जतनसाथ सम्हाल्दै गफिंदै हामी सिंगटीतिर लाग्यौं । काठमाडौंदेखि नै तामाकोशीको ताजा माछासँग खाना खाने हाम्रो योजना अनुरुप नै हामी सिंगटी पुगेका थियौं । मिठो खाना खायौं अर्थशास्त्रको सीमान्त उपयोगिता ह्रास नियमलाई अपवादमा राखेर भोजन गरेका थियौं हामीहरूले ।

सिंगटीमा पूर्वनिर्धारित कार्यक्रम अनुसार हामी गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा गयौं । त्यहाँका कार्यालय प्रमुख तुलसी दाहाल सरले हामीलाई पदयात्रा, पदयात्रामा ध्यान दिनुपर्ने कुराहरू र रुटका बारेमा जानकारी साथसाथै पदयात्रा सफलतापूर्वक सम्पन्न गर्न हौसला प्रदान गर्नुभयो । तत्पश्चात् हामी गाडी चढेर जाने हाम्रो अन्तिम गन्तव्य छ्योत छ्योततिर लाग्यौं । हामी उत्साहित थियौं । पुतली जस्तै भुर्र–भुर्र उडेर गाडीबाट झरेर हिंड्न शुरु गर्न आतुर थियो मन तर गन्तव्य अझै आएको थिएन तसर्थ गाडीमा बसेर नै तामाकोशीको बहाव, स्वतन्त्र भई झरिरहेका झरना, छेउछाउमा रहेका थुप्रै हाइड्रोपावर हेर्दै हामी गन्तव्यतर्फ लागिरह्यौं ।

निरन्तरको यात्राले गन्तव्यलाई भेट्छ नै, हाम्रो यात्राको गाडीको बिन्दु समाप्त भएर हामी पैदल यात्राको पहिलो बिन्दुमा आइपुगेका थियौं अर्थात् हामी छ्योत छ्योत आइपुगेका थियौं । उत्साहले हो वा नजानिंदो डरले ढक्क मुटु फुल्यो । अगाडि १९०० स्टेप भएको गज्जबको सिंढी थियो, हामीले पहिलो स्टेपमा यो पार गर्नुपर्ने थियो । पिठ्यूँमा ब्यागप्याक र पहाड चढ्दा टेक्ने दुइटा लौरो सहित रोल्वालिङ्ग खोलामा रहेको झोलुंगे पुल तर्दै हामी उक्लिने पहाडको फेदीमा पुग्यौं । मैले सबैको अनुहार नियालेकी थिएँ ।

सबै जना फुरुङ्ग थिए । सबैको मुहारमा आज नै हिमतालसम्मै पुग्ने जोश देखिन्थ्यो तर जत्ति नै जोशिए पनि हाम्रो आजको गन्तव्य सिमीगाउँसम्म पुग्नुथियो । सुरुआतमा त ठिकै थियो तर आधा घण्टाको हिंडाइपछि नै यो उकालोले आफ्नो शक्ति देखाइसकेको थियो । हामी सबैको मुहार पसिनाले पोतिएको थियो, अनुहार रातो–पिरो हुनु त स्वाभाविक नै भयो तर पनि हामी हाँस्दै गफ गर्दै भर्‍याङका खुट्किला चढिरहेका थियौं किनकि हामीसँग उकालोको विकल्प पनि त थिएन ।

मलाई मेरै झोलाले पछाडिबाट तानिरहेको भान भइरहेको थियो तर मैले यो झोलाको अवरोधलाई वास्तै गरिनँ । मलाई थाहा थियो, त्यो ब्यागप्याकले गर्न खोजेको अवरोध मैले वास्ता गरें भने फेरि त्यसले जोडले तान्नेछ र मैले मेरो गन्तव्य भेट्ने छैन । मैले यही बेला यही बाटोमा हामीसँगै हाम्रो भन्दा कैयौं गुणा ठूलो भारी सामान बोकेर सहजै हिंडिरहेका स्थानीय मिहिनेती मानिसहरूतर्फ ध्यान दिएँ, यसले मलाई ठूलो ऊर्जा दियो । मैले सोचें, उनीहरू यत्तिको बोकेर हिंड्न सक्छन् भने म किन नसक्नु ?

करिब अढाइ घण्टाको पदयात्रा पछि हामी सिमीगाउँ पुग्यौं । छ्योत छ्योतबाट ठाडो उकालो चढेर सिमीगाउँ आइपुग्दा हामी ९०० देखि १९०० मिटर उचाइ चढिसकेका थियौं । सिमीगाउँ पुग्दा झिसमिसे साँझ परेको, सँगै सिमसिम पानीले हामीलाई स्वागत गरेको थियो । मैले झट्ट मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रंग इन्द्रेणी रानी भन्ने गीत सम्झन पुगें र मनमनै हाँसे । यस्तो त गीतमा मात्र होला भनेको वास्तवमा यस्तो संयोग पनि हुने रहेछ !

उकालो चढ्दा गर्मी भएको शरीरमा पानीको छिटाले हान्दा आनन्द आइरहेको थियो । डाँडाको टुप्पोमा रहेको हामी बास बस्ने होटल देख्दा लाग्यो त्यो टुप्पोमा पुग्न त अझै निकै समय लाग्छ तर बाक्लिंदै गरेको पानीले हामीलाई पछाडिबाट धकेलिरहेको थियो छिटो अगाडि बढ्न । एकछिनमै हामी बास बस्ने ठाउँ पनि आइपुग्यो । काठको घर, भित्ता, छानो, भुर्इं सबै काठको ।

देख्दा लाग्थ्यो काठमाडौंको कुनै परम्परागत शैलीमा बनेको कुनै रेस्टुरेन्टमा थियौं हामी । होटलमा वाईफाई देखेपछि त मन पनि फुरुङ्ग भयो किनकि बिहानदेखि छोराछोरीलाई देख्न पाएको थिइनँ । अब मलाई छिटै फ्रेस भएर भिडियो कल गर्नु थियो । फ्रेस भएँ र घरमा भिडियो कल गरें । छोरो सानो भएकाले छोरोमा अलिक बढी नै ध्यान जान्थ्यो।

उसले खोज्यो, न्यास्रियो होला जस्तो लाग्थ्यो । हत्तपत्त छोरोसँग कुरा गरें । वरपरका डाँडाकाँडा देखाएँ अनि भनें तिमी राम्रोसँग ज्ञानी भएर बस है छोरो, मामु जंगलमा यो पहाड चढेर फिल्ड जानुपर्छ, सात दिन पछि आउँछु । छोरो ज्ञानी भएर हस् भन्यो अनि मेरो मन पनि आनन्दित बन्यो, छोरो ठूलो भएछ भन्ने लाग्यो । मनमनै सोचें, आमा नजिक नभएपछि केटाकेटी त्यतिकै ठूला हुने रहेछन् कि क्या हो !

गफगाफ सँगै खाना खायौं अनि भोलिपल्ट बिहानको योजना बनाई आ–आफ्नो कोठातिर लाग्यौं । ठाउँ र ओछ्यान फेरिएर होला खासै निद्रा लागेन । बिहान ५ बजे नै उठें । फ्रेस भएर यसो वरपरका डाँडाकाँडा नियाल्दा लाग्यो मेरो देश साँच्चै नै विविधता भएको देश हो । कति धनी र भरिपूर्ण छौं हामी !

बिहानको खाजापछि करिब सात बजेतिर सिमीगाउँ छोडेर अगाडि बढ्न थाल्यौं । हामी उचाइतिर जान लागेको भएतापनि पदमार्ग भने उकालो, ओरालो दुवै मिसिएको थियो । रोल्वालिङ्ग खोला, खोलाको दुवै किनारमा काफल, गुराँस र उत्तिसको जंगल र खोला किनारमा पदमार्ग थियो । वैशाख सकिन लाग्दा समेत रङ्गीचंगी गुराँस देखिन्थे, शायद हामीलाई आफ्नो सुन्दरता देखाउन बसेका थिए । काफल पाक्दै थियो । ऐंसेलु र चुत्रो खाँदै, नागबेली भएर बगेको रोल्वालिङ्ग खोला, ठाउँठाउँमा पहाडको खोंचबाट निस्केको झरनालाई नियाल्दै फोटो र भिडियोमा कैद गर्दै हिंडिरहेका थियौं हामी ।

खाना खाइसकेपछिको हिंडाइमा भने केही फरक स्वाद थियो । फरक यस अर्थमा थियो कि पोहोर असोज १२ र १३ गते आएको बाढीपहिरोले पदमार्ग नै तहसनहस पारेको रहेछ । झन्डै ६ किलोमिटर बाटो भने रोल्वालिङ्ग खोलाको बगरैबगर हिंड्नुपर्ने रहेछ । प्रकृतिलाई स्वीकार गर्दै हामी रेडपाण्डा पाइने क्षेत्रमा हिंडिरहेका थियौं । रेडपाण्डा उसकै प्राकृतिक वासस्थानमा देख्न पाएँ भने त धन्य हुने थिएँ भन्दै चारैतिर आँखा नचाउँदै हिंडेको त्यस्तो सौभाग्य भने जुरेन ।

वन विज्ञानमा आईएस्सी पढ्दादेखि नै पढेको फरेस्ट टाइप्सलाई आँखाले नियाल्दै र किताबलाई वास्तविक धरातलमा जोड्दै हिंड्न पाउँदा वन विज्ञान पढाइको महत्व अझ बढी हुँदोरहेछ । रमाइलोको लागि गन्तव्यमा पुग्न मात्र हिंडेको नभई यो त मेरो किताबी सैद्धान्तिक कुरालाई पुष्टि गर्ने अवसर हो भन्ने लाग्यो मलाई । त्यसैले म फुर्किंदै हिंडिरहेको थिएँ ।

अब भने भर्खर सम्म बायाँतिर बगिरहेको रोल्वालिङ्ग खोलालाई दायाँ पार्दै हिंड्नुपर्ने समय आयो । हामी काठको साँघुबाट त्यो ठूलो स्वरमा गड्गडाइरहेको खोला तर्दै पारि गयौं । पारि जाने बित्तिकै ठाडो उकालो शुरु भयो । बिहान ७ बजेदेखि उकाली–ओराली र तेर्सो हिंडेको त्यो बेला ५ बजेको थियो ।

थाकेको भएर होला अबको त्यो ठाडो उकालो कसरी चढेर बास बस्ने ठाउँमा पुग्ने होला भन्ने भयो । सञ्चित शक्ति सकिएको थियो सबैको सिवाय आत्मविश्वास । विस्तारै उक्लिंदै थियौं टुप्पोमा पुगेपछि मलाई भनन्न घुमायो । आँखा अगाडि अँध्यारो भयो, रिङ्गटा लागेको जस्तो । अगाडि हिंडिरहेकी बहिनी/साथीलाई बोलाएँ र मलाई रिंगटा लाग्यो भनें । एक जना सर पनि सँगै हुनुहुन्थ्यो पछाडि । नजिकै रहेको ढुंगामा बसें । खल्तीमा भएको स्निकर खाएँ ।

पानी पनि खाएँ । ग्लुकोज लेभल कम भएको रहेछ क्यारे अनि हामी तेर्सो बाटो हिंडिरहेको मान्छे छोटो समयमा उचाइमा पुगेकोले पनि गाह्रो भएको हुनसक्छ । केही बेरमा ठिक भयो । झमक्कै अँध्यारो भइसकेको थियो । साँझ परेर होला जाडो पनि निकै बढेको थियो । जाडोले लुगलुग नै कमायो । एकछिन हिंडेपछि बस्ने होटल आइपुग्यो थाङ्गदिङ्ग भन्ने ठाउँमा । हामी २,००० देखि ३३५० मिटरसम्मको उचाइमा १५ किलोमिटर हिंडेका थियौं । त्यो दिन जाडो, थकान, भोक यति गाह्रो भएको थियो कि हात मात्र धोएर तातोपानी पिएँ ।

भोक मिठो कि भोजन भन्ने उक्तिले यहाँ काम गरेन, म भोकाएकी थिएँ तर खाना पनि खास मिठो भएन, शायद उचाइको प्रभावले होला । थालमा भएको खाना सिध्याउनुपर्छ नत्रभने भोलि हिंड्न सकिंदैन भन्ने कुरालाई प्राथमिकतामा राखेर खाना सिध्याएँ । सँगसँगै एउटा डोलोपार खाएर सुतें । औषधिले गर्दा होला त्यो राति चैं ४/५ घण्टा निदाएँ अनि भोलिपल्ट बिहान फ्रेस भएर उठें । चारैतिर अग्ला–अग्ला पहाड, पहाडमा खस्रु, भोजपत्र, चिमाल, थिङ्ग्रे सल्लाको जंगल कति रमणीय थियो त्यो दृश्य । यी दृश्यहरूले पहिलेकै जोस–जाँगर आएको थियो । त्यही जोस–जाँगरका साथ हाम्रो तेस्रो दिनको यात्रा शुरु भयो ।

उचाइ बढेकाले होला जंगलहरू पातलिंदै गएका थिए, बाक्लो जंगल थिएन । धुपी, भोजपत्र चिमालका रूखहरू थिए बाटोमा । हिउँले ढाकेका हिमाल देखिन्थे टाढा–टाढा । साथीहरू अगाडि पछाडि गर्दै हिंड्दै थियौं चारैतिरै नियाल्दै । बोटबिरुवा नभएको भीरपाखा थियो यसो माथितिर हेरेको त झारलको बथान रहेछ त्यो नाक नै ठोकिने खालको भीरमा तल–माथि गरिरहेका ।

उत्साहित हुँदै एकछिन रोकिएर हेरेको त चट्टानको ओडार हुँदोरहेछ भीरमा । त्यही चट्टानबाट निस्कने र पस्ने गर्दा रहेछन् झारल । खुट्टामा कस्तो किसिमको खुर हुँदोरहेछ कुन्नि पाखा भित्तामा पनि दौडिन सक्ने शायद डार्विनले यिनै कुरा देखेर बाँच्नको लागि संघर्ष भन्ने सिद्धान्त प्रतिपादन गरे । यो अनौठो प्रकृतिलाई नियाल्दा पनि कति आनन्द आउने । वाइल्ड लाइफ विषयमा पढेको झारलको मोर्फोलोजी आज वास्तविक झारल देख्दा कहिल्यै नबिर्सिने गरी अमिट छाप बस्यो, मलाई लाग्यो म क्याम्पसमा नियमित गराइने एक्स्कर्सन क्लासमा छु ।

एकाबिहानैको यात्राले सार्थकता पाएको अनुभूति हुँदै थियो हामीलाई हातैले नै छुने गरी अगाडि गौरीशंकर हिमाल आइपुग्यो । पोहोर असोजको पानीले गौरीशंकर हिमाललाई अगाडिबाट छेकेको भीर फुटाएको रहेछ जहाँबाट गौरीशंकर हिमालको हिउँ पग्लेको पानी रोल्वालिङ्ग खोलामा मिसिन आउँदो रहेछ । गौरीशंकर हिमालको दर्शन गर्‍यौं, मैले यहींबाट नै नमस्कार गरें र अगाडितर्फ लाग्यौं ।

कतै खोला किनार त कतै चौंरीखर्कको बीचबीचै निगालो, थिंग्रे सल्लो, सुनपाती र भोजपत्रको जंगललाई साक्षी राख्दै रमाउँदै हिंडिरहेका थियौं– बेदिङ्ग (३,७२० मीटर) आइपुग्यो । बेदिङ्ग एउटा यस्तो पौरखी गाउँ हो जहाँ प्रत्येक घरका कम्तीमा एक जना मानिस सगरमाथा चढेका रहेछन् । बेदिङ्गमा खाना खाएर अगाडि बढ्यौं, अबको हाम्रो गन्तव्य नाः गाउँतर्फ जहाँ हामी त्यो दिन बास बस्नेवाला थियौं ।

हाम्रो अन्तिम गन्तव्यको नजिक थियौं हामी त्यसैले हामीमा छुट्टै ऊर्जा आइरहेको थियो । कोही अगाडि त कोही पछाडि त्यो प्राकृतिक दृश्यमा रमाउँदै हामीलाई हेर्दै मुस्कुराइरहेका हिउँका चुचुराहरू हेर्दै हामी पनि आफ्नो बाटो छोट्याइरहेका थियौं । कस्तो गज्जबको मौसम थियो । दिउँसो १२/१ बजेतिर वरिपरि पहाड डाँडाकाँडाको बीचमा रहेको रोल्वालिङ्ग खोलामाथिको आकाशमा कहाँ–कहाँबाट सेतो बादल बग्दै आउँथ्यो, छिनभरमै पूरै आकाशलाई ढाक्दथ्यो र पानी परिनै हाल्थ्यो ।

मौसम देख्दा मलाई यम बरालको बादलुको घुम्टोले इलाम बजार छोपिंदा भन्ने गीत गुनगुनाउन आइरहेको रहेछ यस्सो हिंड्दै थिएँ आकाशमा हेरेको त अचानक सेतो बादलले हामीलाई नै छोपिसकेको रहेछ । हामी रेनकोट निकालेर लगाउँदै थियौं एउटा हेलिकोप्टर तालतिरबाट आयो । हामीले हेलिकोप्टर यो बादललाई छिचोलेर कसरी जान्छ होला भनेर हेर्दै थियौं नभन्दै अलिक पर पुगेर फर्कियो हाम्रै माथिबाट डर नै लाग्ने गरी र त्यहीं कतै सुरक्षित अवतरण गर्‍यो ।

कसैलाई रेस्क्यू गर्न आएको हेलिकोप्टर रहेछ मौसमले साथ नदिएपछि जान सकेन । एकछिन पानी परेपछि बादल फाट्यो, फेरि आकाश खुला भयो अनि त्यो हेलिकोप्टर यो पटक चैं आफ्नो उडान भर्न सफल भएछ क्यारे फर्किएर आएन । बुकीले छोपेको चौंरीखर्क, खोला, बगर, ट्री लाइन सकिए पछिका नाङ्गा डाँडा नियाल्दै नाः गाउँ (४,१९० मीटर) पुग्दा झमक्क साँझ परिसकेको थियो ।

बेलुकाको समय, जाडोले मुटु नै कमायो । बास बस्ने ठाउँमा पुगेपछि आगो ताप्दै खाना खाइयो र भोलिपल्ट बिहान ६ बजे च्छो–रोल्पा तालको लागि हिंड्ने सल्लाह अनुसार सुतियो । भोलिपल्ट बिहानै खाजा खाएर उत्साहित हुँदै निस्कियौं तालतिर ।

ठूला ठूला खर्क, खर्कमा चरिरहेका चौंरीगाई, डालेचुकका झ्याङ्ग, वनलसुन, ठूला–ठूला चट्टान यस्तै यस्तै नियाल्दै चट्टानै चट्टानको पहाड उक्लँदै थियौं साथीहरू त पहाडको टुप्पोमै पुगिसकेछन् । फोनको नेटवर्क नलाग्ने ठाउँ हामीले ढिलो गरेछौं क्यारे फर्किएर लिन आउँदै रहेछन् । हामीलाई देखेपछि ल अब ताल नि आइपुग्यो भन्दै थिए हामी (म र प्रतिमा) पनि टुप्पोमा पुग्यौं ।

टुप्पोमा के पुगेकी थिएँ त्यो ठूलो शान्त निश्चल मनमोहक ताल, वरिपरि हिमाल, हिमालको बीचमा रहेको, नीलो रंगको शान्त बनेर बसेको त्यो ताल देखेर मन यति फुरुङ्ग भयो कि त्यो उकालो चढ्दा दुखेको खुट्टा, लागेको थकाइ सबै बिर्सिएर चिच्याउन मन लाग्यो । चिच्याउँदै उफ्रँदै ताल नजिक पुगें । चारैतिर हिमाल, हिमालको काखमा रहेको त्यो शान्त ताल जसले हिउँ पग्लेर बन्ने पानीलाई कुनै बलवान अदृश्य दैवीशक्ति सम्हालेर राखेको छ; शायद हेर्दाहेर्दै एकोहोरो भएछु, सोच्दा सोच्दै कहाँ पुगेछु कुन्नि प्रकृतिको धैर्यता, शालीनता देखेर मन्त्रमुग्ध भएछु । नजिकबाट तालको गहिराइलाई नियाल्दै मनको गहिराइसम्म पुगेको पत्तै पाइनँ मैले ।

साथीहरूले फोटो खिच्न बोलाएको सुनेर झस्याङ्ग भएँ अनि ब्यागमा लिएर गएको नेपालको झण्डा फहराएर तालको छेउमा दौडिएँ, तालको चारैतिरबाट क्यामेरामा कैद गर्‍यौं, फोटो खिच्यौं । एउटा मिठो अनुभूतिलाई आत्मसात् गर्न पाउँदा छुट्टै आनन्द आउने रहेछ ।

केटाकेटी र परिवारसँगको विछोडले न्यास्रिएको मन, पैदलयात्रामा दुखेको खुट्टा, मुटु नै बाहिर आउने गरी फुलेको सास, थकित शरीरका बाबजुद पाएको त्यो अनुभूतिको छुट्टै मूल्य थियो । यस्तो मनोरम दृश्य, अनुपम प्रकृति र यो अनुभव लिने सौभाग्य पाएकी म, आफ्नो जीवनसँग र यो वातावरण मिलाइदिने सबै सबैसँग कृतज्ञ भएँ । पैसाले किन्न नसकिने यो आत्मसन्तुष्टि त्यो ४,५८० मीटरको उचाइमा पुगेर पाउनुको छुट्टै मज्जा हुँदोरहेछ ।

मृत्युपछि पाउने स्वर्गको सत्यता माथि त खासै विश्वास छैन तर यो चार दिन हिंडेर भेटेको स्वर्ग भने जति बयान गरे पनि नसकिने किसिमको रहेछ । यदि तपाईंको व्यस्त दिनचर्याबाट ५ दिन आफ्नो लागि निकाल्न सक्नुहुन्छ भने कृपया प्रकृतिप्रति कृतज्ञ हुने गरी एकपल्ट च्छो–रोल्पा गएर त हेर्नुहोस् जीवनमा नेपालको सुन्दरताप्रति गर्व हुनेछ र देशप्रतिको मायाले शिखर चुम्नेछ ।

(लेखक वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश हेटौंडामा कार्यरत छिन् ।)

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?