News Summary
Generated by OK AI. Editorially reviewed.- कप्तान एबी डिभिलियर्सले शानदार शतक बनाएपछि दक्षिण अफ्रिकाले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि जितेको छ।
- दक्षिण अफ्रिकाले फाइनलमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।
- पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६.५ ओभरमै लक्ष्य पूरा गर्यो।
१८ साउन, काठमाडौं । कप्तान एबी डिभिलियर्सले शानदार शतक बनाएपछि दक्षिण अफ्रिकाले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले फाइनलमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो।
डिभिलियर्सले ६० बलमा १२ चौका र ७ छक्कासहित अविजित १२० रन बनाएपछि दक्षिण अफ्रिकाले १९६ रनको लक्ष्य मात्र १६.५ ओभरमै सजिलै पूरा गर्यो। उनीसँगै जेपी डुमिनीले पनि अविजित ५० रनको योगदान दिए।
त्यसअघि पाकिस्तानका कप्तान मोहम्मद हफिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो।
ओपनर शर्जिल खानले आक्रामक ७६ रन बनाए भने उमैर अमिन ३६ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका हार्डस भिलजोएन र वेन पार्नेलले समान २–२ विकेट लिए भने डुआन ओलिभरले १ विकेट लिए।
दक्षिण अफ्रिकाले सेमिफाइनलमा अस्ट्रेलियालाई १ रनले हराएको थियो भने पाकिस्तान र भारतबीचको सेमिफाइनल खेल भारतले नखेल्ने निर्णय गरेपछि पाकिस्तान वाकओभरले सिधै फाइनलमा पुगेको थियो ।
प्रतिक्रिया 4