+
+
Shares
प्रविधिमार्फत शिक्षामा क्रान्ति :

विद्यार्थीको एम्बिसन गुरु : गाउँमै बसेर एसईईदेखि लोकसेवासम्म तयारी

डाक्टर, इन्जिनियरिङ होस् वा लोकसेवा तयारी, काठमाडौं आउनैपर्ने बाध्यता जस्तै थियो । एसईई पास गर्ने सपना होस् वा अधिकृत बन्ने सपना, अब तयारी गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । एम्बिसन गुरु गाउँगाउँका विद्यार्थीको ‘डिजिटल गुरु’ बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एम्बिसन गुरुले २०८१ मा १ लाख ७० हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी गराएको छ र नतिजा ४८ प्रतिशतबाट ६२ प्रतिशत पुगेको छ।
  • एम्बिसन गुरुले मेडिकल, इन्जिनियरिङ, लोकसेवा, शिक्षक सेवा लगायतका तयारी कक्षा अनलाइन र भौतिक दुवै माध्यमबाट सञ्चालन गरिरहेको छ।
  • ६ लाखभन्दा बढी विद्यार्थी एम्बिसन गुरुमा जोडिएका छन् र प्रविधिमार्फत गुणस्तरीय शिक्षा गाउँगाउँसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

१८ साउन, काठमाडौं । ‘म अनुत्तीर्ण हुने थिएँ, चार जीपीए ल्याएँ, धन्यवाद एम्बिसन गुरु ।’ गत १३ असारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि एम्बिसन गुरुलाई दूरदराजदेखि विद्यार्थीहरूबाट आएको म्यासेज हो यो ।

निर्देशक प्रकाश पाण्डेका अनुसार एम्बिसन गुरुमा एसईईको तयारी गरेका विद्यार्थी जिल्ला प्रथमसम्म भएका छन् ।

२०८१ मा एम्बिसन गुरुले १ लाख ७० हजार विद्यार्थीलाई नेपाली र अंग्रेजी दुवै माध्यममा एसईईको तयारी गराएको थियो । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी जोडिनुभएको थियो । पूर्णतः निःशुल्क तयारी गराएका हौँ,’  एम्बिसन गुरुका निर्देशक पाण्डेले भने ।

यसका लागि करिब २०० जना मेन्टर र ८५ जना शिक्षक खटिएका थिए । १०० जनाको प्राविधिक टिम विद्यार्थीका लागि आवश्यक प्रविधि बनाउन खटियो । दिउँसो विद्यालयमा जाने भएकाले तयारी कक्षा साँझ सञ्चालन गरियो । लाइभ कक्षा छुट्यो भने रेकर्ड गरिएको भिडियो हेरेर पनि विद्यार्थीले तयारी गर्न सक्ने बनाइयो ।

‘कक्षा छोड्ने विद्यार्थीलाई मेन्टरले फोन गरेर समस्या बुझ्छन् । विद्यार्थीको कमजोरी पत्ता लगाइन्छ र अभिभावक तथा प्रधानाध्यापकसँग समेत समन्वय गरिन्छ,’ पाण्डेले भने ।

नेपाल टेलिकमले विकटका विद्यार्थीलाई नि:शुल्क डेटा उपलब्ध गराएको थियो । यसले पनि सहज भयो । र, २०८१ को एसईईको नतिजा राम्रो आयो ।

‘एसईईको नतिजा ४८ प्रतिशतबाट ६२ प्रतिशत पुग्नुमा एम्बिसन गुरुको पनि योगदान छ,’ निर्देशक पाण्डे दाबी गर्छन् । अब २०८२ को एसईईको तयारीका लागि पनि विद्यार्थीहरू जोडिन थालिसकेका छन् ।

यसरी विद्यार्थीमाझ पुग्नुअघि नै एम्बिसन गुरुले लामो तयारी गर्‍यो । पाँच वर्षअघि सुरु भएको यात्राको पहिलो दुई वर्ष प्रविधि र शैक्षिक सामग्री (कन्टेन्ट) विकासमा बित्यो । विद्यार्थीको सिकाइको तरिका फरक हुने भएकाले उनीहरूको कमजोरी पहिचान गर्ने र मूल्याङ्कन गर्ने विशेष सफ्टवेयर (टुल्स) बनायो ।

‘हामीले भिडियो बनायौं । विद्यार्थीको मूल्याङ्कन गर्ने विधि बनायौं,’ पाण्डे भन्छन् । एम्बिसन गुरुले एसईई, मेडिकल, इन्जिनियरिङ, लोकसेवा, शिक्षक सेवा, सुरक्षा क्षेत्रमा जान चाहनेका लागि तयारी कक्षा सुरु गरेको तीन वर्ष भयो ।

    

मेडिकल इन्ट्रान्सबाट सुरु

एसईईको तयारी कक्षाअघि एम्बिसनले मेडिकल इन्ट्रान्सको कक्षा सञ्चालन गर्‍यो । तीन–चार महिनाको कोर्सका लागि गाउँबाट लाखौं खर्च गरेर काठमाडौं आउनुपर्ने बाध्यता विद्यार्थीको थियो ।

न्यून आर्थिक अवस्थाका विद्यार्थी काठ्माडौं आउन नसक्ने भए । ती विद्यार्थीले काठ्माडौंको जस्तै तयारी गर्न पाए नाम निकाल्न सक्थ्यौं भनेर एम्बिसन गुरुको टिमसँग गुनासो गरे ।

गाउँका दूरदराजका विद्यार्थीलाई कसरी मेडिकल र इन्जिजियरिङको शिक्षा दिने त ? विद्यार्थीको प्रश्नमा एम्बिसन ग्रुपले समाधानको उपाय निकाल्यो ।

‘टेक्नोलोजीलाई जोड्न सकियो भने सम्भव छ भन्ने देखियो । गाउँमै बसेर थोरै पैसामा सम्भव छ भनेर मेडिकलबाट तयारी कक्षा सुरु गरेका हौँ,’ पाण्डेले सुनाए ।

यसरी डाक्टर र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि एम्बिसन गुरुले पुलको काम गर्‍यो । ‘मेडिकल इन्ट्रान्समा हामीले विद्यार्थीलाई तिम्रो यहाँ कमजोर छ । मेडिकलमा नाम निकाल्न यो–यो कन्टेन्ट पढ्नुपर्छ भनेर काउन्सिलिङ गर्‍यौं । उत्कृष्ट नतिजा आयो । जस–जसले छात्रवृत्तिका लागि नाम निकाल्छन् भनेका थियौं, उनीहरू सफल भए,’ पाण्डे भन्छन् ।

मेडिकल र इन्जिनियरिङको तीन वर्षको सफल नतिजाले गाउँमै बसेर स्कलरसिपमा डाक्टर–इन्जिनियरिङमा नाम निकाल्न सकिन्छ भन्ने पुष्टि गरेको छ । यही सफलताले एम्बिसन गुरुलाई पनि आत्मविश्वास दियो । र, एम्बिसन गुरुले यो मोडल हरेक विषयमा सम्भव रहेको निष्कर्ष निकाल्यो ।

त्यसपछि ? ‘स्कुलदेखि स्नातकोत्तर, लोकसेवादेखि शिक्षक सेवासम्मको तयारी कक्षा सञ्चालन गरेका हौँ,’ पाण्डे भन्छन् ।

कक्षा ११ र १२ को तयारी कक्षा

कक्षा ११ र १२ पढाउने महँगा कलेज छन् । हुनेखानेले त पढाउँछन् । तर गरिब-निमुखाले गुणस्तरीय शिक्षा पाइरहेका छन् त ? गाउँ-बस्तीमा गएर अनुसन्धान गर्दा शहरका विद्यार्थी र गाउँका विद्यार्थीबीच ठूलो खाडल भेटियो ।

यो खाडललाई कसरी पुर्ने त ? फेरि एम्बिसन गुरुले आइडियो निकाल्यो । अहिले हातहातमा स्मार्ट फोन छ । टेक्नोलोजीबाट सस्तोमा विद्यार्थीको हातहातमा पढाइ पुर्‍यउने योजना बनायो । अनि कक्षा ११ र १२ को पनि तयारी कक्षा सुरु गरियो । अहिले सस्तो शुल्कमा उत्कृष्ट शिक्षकहरूबाट गाउँगाउँका विद्यार्थीले पढ्ने अवसर पाएका छन् । ‘स्मार्ट फोन हातहातमा छ । त्यसैले पढाइ पनि हातहातमा पुगोस् भन्ने हाम्रो चाहना हो,’ पाण्डे भन्छन् ।

काम गर्दै पढ्दै

दिउँसो जागिर छ । कतिबेला पढ्ने ? परीक्षाको तयारी गर्न विद्यार्थीले जागिरै छोड्नुपर्ने बाध्यता भयो । एम्बिसन ग्रुपले काम गर्दै पढ्दैको अवधारणा अगाडि सार्‍यो । त्यसपछि बीबीएस र एमबीएमा अध्ययनरत विद्यार्थीको लागि पनि कक्षा सञ्चालन गरियो । यसले जागिर छोडेर पढ्नुपर्ने विद्यार्थीको समस्यालाई समाधान गर्‍यो । ‘म्यानेजमेन्टका विद्यार्थीले जागिरसँगै पढाइलाई अघि बढाउन पाउनुभएको छ । बीबीएस, एमबीए जस्ता तयारी कक्षाले जागिरै छोड्नुपर्ने बाध्यता हटाएको छ,’ पाण्डे भन्छन् ।

लोकसेवा र शिक्षक सेवा

एम्बिसन गुरुको अर्को सबैभन्दा सफल कार्यक्रम हो, लोकसेवा र शिक्षक सेवा तयारी कक्षा । धेरैको चाहना हुन्छ, सरकारी सेवामा प्रवेश गर्ने । तर त्यसको लागि तयारी कक्षा आवश्यक छ । शहरदेखि गाउँका कुनाकाप्चामा बस्नेलाई सहज र सरलरुपमा कसरी लोकसेवा र शिक्षक सेवाको तयारी गराउने ?

त्यसो त गाउँघरमा बस्नेले दिनभर खेतबारीमा काम गर्नुपर्ने बाध्यता छ । उनीहरूलाई मध्यनजर गरी एम्बिसन गुरुले विकल्पको ढोका खोल्यो, साँझको समयमा कक्षा सञ्चालन गरेर उनीहरूलाई पढाउने । ‘दिनभर मेलापात गरेर साँझको समयमा पढेर शिक्षक सेवामा नाम निकाल्नेहरू हुनुहुन्छ,’ पाण्डे भन्छन् ।

विदेश गएका युवाले समेत अनलाइनबाटै तयारी कक्षा लिएर अधिकृतमा नाम निकाल्न सफल भएका छन् । अहिले मेलापात गरेर गाउँघरमा बसेर पनि लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा एम्बिसन गुरुका शिक्षकहरूबाट लिइरहेका छन् । त्यतिमात्र होइन, सुरक्षा निकाय र बैंकिङ तयारीको कक्षा पनि अनलाइन र भौतिक दुवै कक्षा उपलब्ध छन् ।

भाषा कक्षा

विश्व समुदायलाई जोड्ने काम भाषाले गरेको छ । कति युवा रोजगारीका लागि विदेश जान चाहन्छन् । तर उनीहरूलाई भाषा आवश्यक पर्छ । एउटा भाषा सिक्न पनि हिमाल, पहाड, तराईदेखि काठमाडौं आउनुपर्ने हो त ? होइन । त्यसको समाधान पनि एम्बिसन गुरुले निकाल्यो । जहाँ बसेको छ, त्यहीँबाट भाषा सिक्ने टेक्नोलोजीको विकास गरियो ।

विद्यार्थीले कोरियन, जापानिज, चिनियाँ भाषा सिकिरहेका छन् । अब छिट्टै अंग्रेजी भाषा कक्षा पनि सुरु गर्ने तयारी एम्बिसन गुरुले गरेको छ । यसले काठमाडौं धाउनुपर्ने बाध्यता तोडेको छ । ‘युवालाई विदेश पठाउने उद्देश्य हाम्रो होइन । भाषाको ज्ञान मात्र दिन खोजेका हौं,’ पाण्डे भन्छन् ।

कति लाग्छ शुल्क ?

धेरैको प्रश्न र जिज्ञासा छ, यसरी पढ्न धेरै पैसा लाग्छ होला नि ? होइन, एसईईको तयारी पूर्ण निःशुल्क हो । ‘एसईईको तयारी कक्षामा एक रुपैया पनि लाग्दैन,’ पाण्डे प्रष्ट पार्छन् । कक्षा ११ र १२, मेडिकल र इन्जिनियरिङको तयारी कक्षाको ४ हजार ५०० लाग्छ । धेरैजसो कोर्स ५ हजार मुनिको छ, त्यो पनि वर्षभरिको । ‘काठमाडौं आएर बस्दा हुने लाखौंको खर्च घटाएर प्रविधिले यो सम्भव बनाएको छ,’ पाण्डे भन्छन् ।

६ लाख बढी सहभागी, अब्बल प्रविधि

एम्बिसन गुरुले भौतिक रूपमा भन्दा उत्कृष्ट शिक्षा टेक्नोलोजीबाट दिएको छ । २५ वटा हाइटेक स्टुडियोबाट स्मार्ट बोर्ड प्रयोग गरेर लाइभ कक्षा सञ्चालन हुन्छन् । सरकारी पाठ्यक्रमलाई आधार मानेर अहिलेको पुस्ताले बुझ्ने गरी भिजुअल सामग्रीसहित पढाइन्छ । हरेक लाइभ कक्षा रेकर्ड हुने भएकाले विद्यार्थीले जतिबेला पनि दोहोर्‍याएर हेर्न सक्छन् ।

‘गुरुले मलाई नै हेरेर पढाएको जस्तो महसुस हुन्छ । नबुझेको कुरा सोध्न आस्क फिचर र डिस्कसन फोरमको सुविधा छ,’ पाण्डे भन्छन् । उनका अनुसार सबै कक्षामा गरी हालसम्म ६ लाखभन्दा बढी विद्यार्थी यो प्लेटफर्ममा जोडिएका छन् ।

प्रविधिमार्फत शिक्षामा क्रान्ति

सबैले पढ्न पाउनुपर्छ, महँगो हुनुहुँदैन । तर नेपालमा दुई मोडेलको शिक्षा छ । एउटा छ- २ लाख शुल्क लिएर १ हजार जना पढाउने । अर्को- १ हजार लिएर २ लाख विद्यार्थी पढाउने । न्यून आर्थिक अवस्थाका विद्यार्थीले पनि अब्बल शिक्षा पनउने अधिकार छ । तर के ती विद्यार्थीले पाइरहेका छन् त ?

प्रविधिलाई जोड्न सक्यो भने सबैले एउटै खालको शिक्षा पाउने अवधारणा स्थापित गर्न एम्बिसन गुरुले उद्देश्य बनायो । ‘प्रविधिले लाखौं विद्यार्थीलाई एकैपटक, थोरै शुल्कमा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विश्वासले यो अभियानको जग बसालेका हौँ,’ पाण्डे भन्छन्, ‘काठमाडौंमा बसेका उत्कृष्ट गुरुहरूलाई गाउँ–गाउँसम्म पुर्‍याउने हाम्रो परिकल्पना हो ।’

एम्बिसनको एम्बेस्डर नै विद्यार्थी

हरेक विद्यार्थीको आफ्नो लक्ष्य, आफ्नो ‘एम्बिसन’ हुन्छ । त्यो एम्बिसन पूरा गर्न राम्रो गुरु चाहिन्छ भनेर जन्मिएको हो ‘एम्बिसन गुरु’ । दुईजनाबाट सुरु भएको यो अभियान आज साढे ४०० पार्ट–टाइम शिक्षकसहित एक हजार जनाको विशाल परिवारमा परिणत भएको छ । जसको एउटै लक्ष्य छ– नेपालमा शैक्षिक असमानताको अन्त्य ।

एम्बिसन गुरुले सफलताको देन आफ्ना विद्यार्थीहरूलाई दिएको छ । कम खर्चमा गुणस्तरीय शिक्षा पाएर सफल भएका विद्यार्थीहरू नै एम्बिसन गुरुका ’ब्रान्ड एम्बेस्डर’ हुन् । ‘विद्यार्थी नै हाम्रो ठूलो पुल हो । यहीँ पढेकाले आफ्ना भाइ–बहिनीलाई सिफारिस गर्नुहुन्छ,’ पाण्डे भन्छन् ।

यतिसम्म कि, शिक्षक सेवा आयोगको तयारी गरेर सफल भएका अभिभावकले आफ्ना छोराछोरीलाई मेडिकल र इन्जिनियरिङको तयारीका लागि यही तयारी कक्षामा भर्ना गराएका छन् । ‘बुबा–आमा पनि सदस्य, छोराछोरी पनि सदस्य । यो एउटा शैक्षिक परिवार बनेको छ,’ पाण्डे भन्छन् ।

यो सँगै एम्बिसन गुरुका अभियान्ताहरूले पनि गाउँगाउँमा पुगेर सन्देश फैलाउने काम गरिरहेका छन् । ‘डिजिटल माध्यम र गाउँ–गाउँमा पुग्ने अभियानकर्मीहरूको टोलीले गाउँमै बसेर पनि पढाइमा कम छैनौं भन्ने सन्देशलाई अभियानकै रूपमा लगेका छौं,’ पाण्डे भन्छन्, ‘पढ्नका लागि अब काठमाडौं आउनै पर्दैन । सामुदायिक होस् वा निजी । जुनसुकै विद्यालयका विद्यार्थी एम्बिसन गुरुमा जोडिएर आफ्नो सपना पूरा गर्न सक्नुहुन्छ । हाम्रो लक्ष्य सबै विद्यार्थीले एकनासको गुणस्तरीय शिक्षा पाउन् भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?